१६ मंसिर २०८१, आईतबार
कर्णालीका विभिन्न स्थानीय तहको आठ रिक्त जनप्रतिनिधिहरुको पदमा भएको उपनिर्वाचनमा कुल ६२ प्रतिशत मतदान भएको छ ।
रिक्त जनप्रतिनिधिको पदका लागि आज सम्पन्न भएको उपनिर्वाचनमा नगर, गाउँ तथा वडापालिका गरी ४२ हजार दुई सय ७७ मतदाता थिए । जसमा २६ हजार तीन सय ७७ (६२ दशमलव २५ प्रतिशत) मतदाताले मतदान गरेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । १५ हजार नौ सय मतदाता भने अनुपस्थित रहेको उहाँले बताउनुयो ।
प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार जाजरकोट नलगाड नगरपालिकाको रिक्त उपप्रमुख पदमा लागि आज सम्पन्न उपनिर्वाचनमा कुल १६ हजार चार सय ४९ मतदातामा दश हजार छ सय सात (६४ दशमलव ६७ प्रतिशत), महावु गाउँपालिका दैलेखको अध्यक्ष पदका लागि १२ हजार छ सय १४ मतदातामा छ हजार नौ सय ८८ (५५ दशमलव ४५ प्रतिशत) मतदाताले मतदान गरेका थिए ।
त्यस्तै, सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि छ हजार आठ सय १० मतदाता रहेकोमा चार हजार छ सय २४ (६८ दशमलव ५४ प्रतिशत)ले मतदान गरेका थिए । वडाध्यक्षको उपनिर्वाचनमा दुल्लु नगरपालिका १३ दैलेखमा दुई हजार सात सय छ मतदातामा एक हजार पाँच सय ५८ (५६ दशमलव ५६ प्रतिशत)ले मतदान गरेको जनाइएको छ ।
त्यसैगरी कुसे गाउपालिका ५ जाजरकोटमा रहेको कुल मतदाता एक हजार तीन सय दुई मतदातामा नौ सय ५६ (७३ दशमलव ४३ प्रतिशत), सानीभेरी गाउँपालिका ५ रुकुमपश्चिममा एक हजार चार सय ४३ कुल मतदातामा एक हजार एक सय ४६ (७९ दशमलव ९३ प्रतिशत), त्रिपुरासुन्दरी नगरपालिका ५ डोल्पाको तीन सय ५३ मतदातामा मध्य तीन सय तीन (८५ दशमलव ८४ प्रतिशत) र तिलागुफा नगरपालिका ४ कालीकोटमा कुल छ सय नौ मतदातामा चार सय ११ (६७ दशमलव ४८ प्रतिशत) मतदाताले मतदान गरेका थिए ।