२४ भदौ २०८१, मंगलबार
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आजबाट ‘प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ ।
सार्वजनिक शिक्षा सुधारको कार्ययोजना निर्माणका लागि आजबाट सुरु भएको उक्त सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभएको हो । सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आफू नेतृत्वको सरकारले लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“कर्णाली प्रदेशको शैक्षिक अवस्था सुधारका निम्ति प्रदेश सरकार लागिरहेको छ,” उहाँले भन्नुभयो, “सम्मेलनबाट औंल्याईएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्न हामी प्रतिवद्ध छौं ।” यसका लागि सरकारी तथा गैर सरकारीलगायत सरोकारवाला सबैको ऐक्यवद्धता र सहयोग आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विद्यालयको शैक्षिक सुधारका गतिविधि प्रभावकारीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय क्षेत्रमा हुने राजनीतिक गतिविधिका कारण शैक्षिक अवस्था धमिलिएको छ । यस्ता गतिविधि रोक्नुपर्दछ ।” स्थानीय तहले विद्यालयमा हाम्रो परम्परा र संस्कृतिजस्ता विषयलाई समेट्न स्थानीय पाठ्यक्रममा जोड दिनु भन्दा आयातित संस्कृतितर्फ उन्मुख गराईरहेको टिप्पणी गर्नुभयो ।
उक्त कार्यक्रममा शिक्षासँग सरोकार राख्ने कर्णाली प्रदेशका विकास साझेदार संस्थाहरुको सहभागिता रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाईएको छ ।