OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८१सुर्खेत
१०२ पटक

 

२५ साउन २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले देश खत्तम भयो भन्ने भाष्य सबैले त्याग्न आग्रह गर्नुभएको छ ।

‘हामी सबैको सन्देश, युवामैत्री प्रदेश’ भन्ने नाराका साथ विश्व युवा दिवसको अवसरमा दृष्टि नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णालीमा युवा जागरण’ विषयक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सबैलाई खराब देख्ने प्रवृतिले व्यक्ति, समाज र देश असफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सानो लगानीबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने भावनाले काम गर्यो भने विदेशमा आत्मसम्मान गुमाएर कमाउने पैसा नेपालमा आत्सम्मानका साथ आर्जन हुन्छ ।”

नेपाल श्रम पसिना चुहाउन लाज मानेर पैसाका लागि विदेश जाने अनि देश खत्तम भयो भन्दै धारे हात लगाएर गाली गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो । कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने आँट राखे मात्र मुलुकभित्रका आधा समस्या हल हुने भन्दै मन्त्री भण्डारीले भ्रष्ट एवं गलत नेतृत्व पाखा लगाउन युवा जागरण अभियान मूल हतियार बन्नुपर्नेमा जोड दिनुभयो ।

संसारको ईतिहासमा सम्पन्न यद्यपि विकासमा विपन्न कर्णाली बन्नुमा हामी सबै जिम्मेवार रहेको मन्त्री भण्डारीको भनाई थियो । “रुप, धन÷सम्पति र पद प्रतिष्ठाबाट समाज ध्वस्त भएको छ । कुलत, कुविचार र कुसंस्कार विरुद्ध लागौं,” उहाँले भन्नुभयो, “गाली गर्ने र सराप्ने दिन गए । अब समाज, समुदाय र देश बनाउन प्रश्न गर्नेमात्र होइन, हरेकले जवाफ दिने क्षमता राख्नुपर्दछ । यसका लागि म लोभ, मोह र डरबाट माथि उठेर काम गर्छु ।”

सकरात्मक सोच विकासको नेतृत्व युवाले गर्नुपर्ने धारणा राख्नुभएका उहाँले कर्णालीमा कार्य क्षेत्र बनाएका गैर सरकारी संस्थाहरुको कामको अभिलेखीकरणका लागि सहायता कक्ष खडा गर्ने तथा यहाँका युवाहरुको हक अधिकार सुरक्षाका लागि युवा नीति तथा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा देखिएका बेथिति, अनियमितता र भ्रष्ट प्रवृतिको चिरफार गर्न सक्ने तागत युवामा भएकोले त्यसमा युवा पिंढीले पहलकदमी लिन मन्त्री भण्डारीले सुझाउनुभयो ।

कार्यक्रममा जलवायु परिवर्तन र यसको न्यूनीकरण सम्बन्धी विषय विज्ञहरुसँग छलफल गरिएको थियो । जलवायु परिवर्तन र कर्णालीमा यसको असर, मानव स्वास्थमा परेका प्रभावका बारेमा मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा.सुदीप ठकुरी, कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा.नवराज केसी र कोपिला भ्याली समाज सुर्खेतका सुनिता भण्डारीसँगको युवा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

कार्यक्रममार्फत युवालाई उद्यमसँग जोडन तीनै तहका सरकारले गरेका पहल, नीतिगत व्यवस्था र कार्यन्वयनमा युवाको भूमिका बारे छलफल गरिएको दृष्टि नेपालका अध्यक्ष जीवराज केसीले जानकारी दिनुभयो । कला संस्कृति र प्राकृतिक सम्पदाको जगेर्नाको महत्वबारे जानकारीसहित युवाको प्रतिबद्धता गराउने लक्ष्य राखेर कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा ओकेन्द्रनाथ योगीको अगुवाईमा युवाले भोगेको समस्या, चुनौति र समाधानका उपाय, सुनिल केसीको अगुवाईमा जलवायु परिवर्तनको असर, चुनौति र समाधान, पुष्पा उपाध्यायको अगुवाईमा कर्णालीमा लैङ्गिक समानताको अवस्था र सुशील सुनारको अगुवाईमा सूचनाको पहुँचबारे समुह छलफल गरिएको थियो । पहिलो पटक प्रदेशमा आयोजित ‘कर्णाली युवा जागरण’ कार्यक्रममा दश जिल्लाका एक सय ५० युवाको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्