१७ असोज २०७९, आइतबार
यस पटक गरिबहरुका लागि दसैं फेरी पनि हर्ष न विस्मात् जस्तै भएको छ । वर्षमा एक पटक आउने दसैं पारिवारिक मिलनका साथै मुख्यतः मासुका विभिन्न परिकार खाएर मनाइन्छ । लामो समयदेखि घरबाहिर रहेका आफन्तहरुको संगम तथा राम्रा–राम्रा कपडा लगाउने, मिठो परिकार खाएर रमाउने पर्वमा गरिबहरुले पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको छ ।
पछिल्लो समयमा भेडा तथा खसीको उत्पादन घट्दो तथा बजार माग बढ्दै जाँदा आम्दानीको स्रोत नभएका गरिब तथा विपन्न वर्गले किन्ने अवस्थाको बजारमा भेडाको मूल्य छैन । मूल्य आकाशिँदो छ । बजारमा प्रति भेडाको न्यूनतम् रु.२५ हजारदेखि रु.३५ हजार मूल्यमा किनबेच चलिरहेको छ । मासिक चार÷पाँच हजार आम्दानी भएका स्थानीयलाई भेडाको यो मूल्य ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।
चन्दननाथ नगरपालिका जुम्लाका स्थानीय श्रीलाल कामीले आकाशिँदो मूल्यका कारण भेडा किन्न नसकिने बताउनुभयो । “कसैसँग ऋण मागेर दसैं मान्नुपर्ने बाध्यताबाट हामी कहिले मुक्त हुने होला,” कामीले भन्नुभयो, “धनीहरुको निम्ति दसैं महान् पर्व भएपनि हाम्रा निम्ति दसैं दशा जस्तै भएको छ ।”
कनकासुन्दरी गाउँपालिका जुम्ला बुडु गाउँ निवासी स्थानीय भेडा व्यापारी जयबहादुर बुढाले लगानी, श्रम र मेहनतलाई जोडेर भेडाको मूल्य कायम गरिएको जनाउनुभयो । “बिगतका वर्षहरुमा तिब्बतबाट च्याङ्ग्रा आउने गरेपनि दुई वर्ष यता ती आउन छोडेका छन्,” बुढाले भन्नुभयो, “स्थानीय जुम्ली भेडा कम हुँदै गएको तर खाने जनसंख्या बढेकोले पनि भेडा महंगिँदै गएका हुन् ।
चन्दननाथ नगरपालिका २ जुम्ला भण्डारीवाडा गाउँ निवासी सागर शाहीले एउटा भेडा रु.३० हजारमा किनेको बताउनुभयो । सामान्य मान्छेले भेडाको मूल्य हाल्ने अवस्थाको नभएको भन्दै शाहीले यसले गर्दा पनि धेरै भेडा व्यापार नभएको जनाउनुभयो । गरिब तथा विपन्न वर्गहरुको पहुँचमा मूल्य नभएपछि यस पटकका दसैंपनि उनीहरुका लागि निरस हुने भएको छ ।