सुर्खेत, १७ बैशाख २०७७ : लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसानहरुको व्यवसाय धरापमा परेको छ । कुखुरा तथा अण्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो ।
सबै भन्दा बढी कुखुरा खपत हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटेल तथा बजारहरु लकडाउनका कारण बन्द भएपछि कुखुरापालक किसानको व्यवसायमा धरापमा परेको कुखुरापालक व्यवसायी संघ सुर्खेतका अध्यक्ष जनक ढकालले जानकारी दिनुभयो । “लकडाउनले कुखुरा व्यवसायी सकिए भने हुन्छ,” अध्यक्ष ढकालले भन्नुभयो, “न दाना र चल्ला आयात गर्न पाइएको छ नत उत्पादित कुखुरा बजारमा बेच्न नै ।”
लकडाउनले विद्यालय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संघ÷संस्थासहित सिङ्गो खपत क्षेत्र बन्द छ । यो बन्दले यतिबेला कुखुरा व्यवसायी मर्नुपरेको उहाँले दुखेसो पोख्नुभयो । छिटपुट गाउँ नजिकका कुखुरा उत्पादक किसानले बिक्री गरेपनि पूर्णतः यो व्यवसाय ठप्प भएको उहाँले बताउनुभयो । “अण्डा दैनिक करिब ४० हजार बजारमा जान्थ्यो । अहिले त्यो पूर्णरुपले रोकिएको छ । सुर्खेतमै ३०–३२ हजार कुखुरा उत्पादन हुन्थ्यो । त्यो अवस्थामा निकै गिरावट आएको छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, “एकातिर बजार बन्द र अर्कोतिर सहि उपचार नपाएर कुखुरा नष्ट भए । यसबाट यहाँका कुखुरा व्यवसायीले लकडाउनको पाँच हप्तामा रु.तीन करोडको घाटा व्यहोर्नु परेको छ ।” लडकडाउनले निर्वाहमुखी व्यवसायी गरिरहेका यहाँका कुखुरापालक व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उहाँको भनाई थियो ।
राज्यले निर्वाहमुखी व्यवसायलाई व्यवसायिक नबनाउन्जेलसम्म यहाँका किसानहरुको उन्नति नहुने उहाँको दावी थियो । अहिले भने कृषि मन्त्रालयको सहजीकरणमा अण्डा तथा मासु बजारमा निर्यात गर्न सहयोग पुगेको उहाँले जनाउनुभयो । एकसाता अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा बसेको बैठकले कुखुरा र अण्डाको न्यूनतम लागत मूल्याङ्कनगरी मारमा परेका कुखुरापालक किसानहरुलाई सहयोग गर्ने आश्वासन मिलेको अध्यक्ष ढकालको भनाई थियो ।
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले लकडाउनले कृषि तथा पशुपंक्षीजन्य वस्तु उत्पादक किसानहरुको समस्या समाधानका लागि मन्त्रालयका निमित्त सचिव हरिप्रसाद पण्डित संंयोजकत्वको कार्यदल गठन भएको जानकारी दिनुभयो । कृषि तथा पशुपंक्षी विकास निर्देशनालयमा ¥यापिड रेस्पोन्स सेन्टर स्थापना गरेर लकडाउनको अवधिमा किसानका तत्कालका समस्या हल गर्दै आएको भन्दै मन्त्री केसीले आगामी वर्षदेखि बाँझो जमीनको उपयोग, व्यवसायिक कृषि केन्द्रीत नीति तथा कार्यक्रम ल्याईने बताउनुभएको छ ।
कोरपाटी संवाददाताबैशाख १७, २०७७ सुर्खेत
२९१ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम