OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २८, २०७९
४७५ पटक

२८ असार २०७९, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयले सेवाग्रहीको आकर्षण गर्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्दै गएपछि सेवाग्रहीको आकर्षण यसमा बढेको हो ।

औषधालयको बिगत तीन वर्षको तथ्याङ्कलाई नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको संख्यामा बढोत्तरी आएको छ । प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा.शंकरप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २८ हजार ३५५ र आव.२०७७÷०७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएका थिए ।

चालु आर्थिक वर्ष २०७८÷०७९ मा भने ४० हजार ८५ जनाले औषधालयबाट सेवा लिएको उहाँले राससलाई बताउनुभयो । “चालु आव.मा १० हजार बढी सेवाग्रहीले यहाँबाट सेवा लिएका छन्,” डा.रिजालले भन्नुभयो, “पछिल्लो समयमा आयुर्वेदिक चिकित्सा पद्धतिले धेरैको ध्यान खिचेको छ । यो सकरात्मक पक्ष हो ।”

त्यसैगरी उहाँले आर्थिक वर्ष ०७८÷७९ मा २२ हजार ७४९ जनाले साधारण उपचार छ हजार ५०५ जनाले पञ्चकर्म, २५० जनाले स्तनपायी आमा सेवा लिएको बताउनुभयो । उहाँका अनुसार सात हजार ४१२ जना ज्येष्ठ नागरिक र एक हजार ५१८ जनाले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट सेवा लिएका छन् ।

त्यस्तै, एक हजार ६०१ गाउँघर क्लिनिक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरी प्रदेश औषधालयबाट चालु आव.मा कुल ४० हजार ८६ जनाले सेवा लिएका छन् । ४४ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयले बहिरंग, प्रयोगशाला, क्षारसुत्र सेवा, पूर्वकर्म÷पंचकर्म सेवा, स्तन्यवद्र्धक औषधि वितरण र जेष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।

डा.रिजालका अनुसार स्वस्थ जीवनका लागि दैनिक योगध्यान, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, सःशुल्क फार्मेसी सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आयुर्वेद जडीबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । आगामी आव.बाट अकुपञ्चर र फिजियोथेरापी सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्