OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७८काठमाडौं
८२२ पटक

२९ असार २०७८, मंगलबार

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।

जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।

बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँको भनाइ छ । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि हालसम्म एउटा जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अमिल्दो भएका कारण फर्काइएको जानकारी बोर्डले दिएको छ ।

समन्वय एकाइको तयारी हेर्दा केही ढिला हुनसक्ने आकलन गरिएको छ तर अब बोर्डले समन्वय एकाइलाई विद्यार्थीको विवरण पठाउन म्याद थप भने नगर्ने भएको छ । म्याद थप हुँदा विवरण तयार भएका जिल्लाले पनि विवरण नपठाउने भएकाले केही दिन ढिला भए पनि म्याद थप नहुने जनाइएको छ । सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ ।

यसका साथै असारमा आएको बाढी पहिरोका कारण धेरै विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्नको कार्य नै पूरा गर्नसमेत समस्या भएको गुनासो बोर्डमा आएको जानकारी अधिकारीहरूले दिएका छन् । विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजा जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउने समयसीमा भने सकिएको छ । बोर्डले असार २० भित्र एकाइमा आफ्नो विवरण बुझाउने समयसीमा दिएको थियो । हाल समन्वय एकाइमा विद्यालयबाट प्राप्त विद्यार्थीको विवरण रुजु गर्ने काम चलिरहेको छ ।

बोर्डको आन्तरिक तयारी हेर्दा एसईई दिएका विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुन भदौ लाग्ने भएको छ । साउन मसान्तसम्म परीक्षाफल प्रकाशन गर्नका लागि समय लाग्ने अवस्थामा भदौबाट मात्र कक्षा सञ्चालन हुने देखिएको हो । यसअघि बोर्डले भदौ १५ बाट कक्षा ११ को पठनपाठन शुरु गर्ने गरेको थियो ।

एसईईको नतिजा सार्वजनिक नभएको अवस्थामा कक्षा ११ र १२ पढाउने माध्यमिक विद्यालयले कक्षा ११ मा प्री–रजिस्ट्रेसन गरी विद्यार्थीलाई आबद्ध गर्न थालेका छन् । विद्यार्थीको भर्ना, अध्ययन गर्ने विषयलगायतको जानकारी लिनका लागि विद्यार्थीलाई प्री–रजिस्ट्रेसन गर्ने गरिएको पाइएको छ । अझै एक महिना कक्षा ११ को औपचारिक पठनपाठन नहुने अवस्थामा विद्यार्थीलाई स्वदेशी शैक्षिक संस्थामा आबद्ध गराउन प्री–रजिस्ट्रेसन उपयोगी हुने दाबी गरिएको छ । गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्