OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २८, २०७६ सुर्खेत
३१७ पटक

सुर्खेत, २८ मंसिर ः कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘अपाङ्गता जीवन समाजका लागि फुल’ झैं देखिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाडौंद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले अपाङ्ग्रप्रति समाजको हेर्ने दृष्टिकोण नकरात्मक भएको बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिहरुमा पनि विलक्षण प्रतिभा हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फुल जस्तो देखिनुपर्छ ।”
कर्णालीका नागरिकहरु शारीरिकरुपमा सपाङ्ग देखिएपनि मानसिक र बौद्धिकरुपमा अपाङ्ग नै भएको औंल्याउदैं मन्त्री भण्डारीले मानव विकास सुचाकाङ्कमा पनि कर्णाली पछि रहेको बताउनुभयो । आमा बाबु नै अपाङ्ग सन्तानको मृत्युको कामना गर्ने विवशता रहेको जनाउँदै उहाँले भन्नुभयो, “अपाङ्गहरु समाजका संवेदनशील पक्ष हुन् । उनीहरुलाई उत्पादनशील बनाउनुपर्छ ।”
शारीरिक अपाङ्गता जीवनको अन्तिम अवस्था नभएको बताउनुभएका उहाँले कर्णाली प्रदेश सरकारले अपाङ्गहरुको अधिकार र जीवन सुरक्षामा अभिभावकीय भूमिका निर्वाह गर्ने जनाउनुभयो । उच्च मनोबलका साथ अघि बढ्न उनीहरुलाई हौसला दिदै उहाँले निःशुल्क ह्वीलचियर सहयोग गर्ने ल्याटर–डे सेन्ट च्यारिटिस युएसए र सहजकर्ता संस्थाप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गर्ने बताउनुभयो । बिगतमा अपाङ्गता भएका व्यक्तिलाई डोको या पिठ्यूमा बोकेर शौचालय वा अस्पतालमा लग्नुपर्ने अवस्थाबाट आज ह्वीलचियरमा आवातजावत गर्ने अवस्थामा ल्याईपुर्याएको भन्दै उहाँले सहयोगी निकायप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
ल्याटर–डे सेन्ट च्यारिटिज युएसए, नेपालका कन्ट्री डाईरेक्टर ब्लेन वेन्डेन्बर्घेले संसारभरिका अपाङ्गता भएका व्यक्तिहरुको सेवाका लागि काम गर्दै आएको बताउनुभयो । यसवर्ष नेपालमा एक हजार ४०० को संख्यामा ह्वीचियर वितरण गरिएको जनाउँदै उहाँले त्यही ह्वीलचियर लिन दुर्गमबासीले शहर झर्न नपरोस् भनेर विकट जिल्लालाई समेटेर १५ जनालाई ह्वीलचियर निर्माण गर्ने प्रशिक्षक तालिम दिएको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका अध्यक्ष राकेश हमालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताउनुभयो । उनीहरुको अध्ययन अध्यापनमा पनि संस्थाले सहयोग गर्दै आईरहेको उहाँको भनाई थियो ।
समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पा बाहेक कर्णालीका सात र ५ नम्बर प्रदेशका प्यूठान, दाङ्, बाँके र बर्दिया जिल्लागरी ६२ जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपाङ्ग वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्