OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

माधव नेपाललाई काँग्रेससँग जोड्ने सूत्रधार को ?

गगन र योगेशको टेलिफोन संवादले जुराएको संयोग

कोरपाटी संवाददाताजेठ ९, २०७८काठमाडौं
६१८ पटक

९ जेठ २०७८, आईतबार

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी मोर्चामा सामेल भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन् ।  नेपाल पक्षका ११ नेतालाई जनालाई थप स्पष्टीकरण पनि सोधिएको छ । त्यो स्पष्टीकरणमा नेपाल पक्षमा फ्रन्टलाइनमा देखिएका योगेश भट्टराई लगायतको नाम छैन ।

तर, ओलीले स्पष्टीकरण सोध्न छुटाइएका योगेश भट्टराईले नै माधव नेपाललाई काँग्रेस नेतृत्वको मोर्चामा पुर्याउने सूत्रधारका रुपमा काम गरेको पाइएको छ ।

अल्पमतका प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरे । सोही दिन राष्ट्रपति भण्डारीले २१ घण्टाको समयसीमा तोकेर संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिन् ।

राष्ट्रपतिको उक्त आह्वान ओलीलाई फेरि प्रधानमन्त्री बनाएर मुलुकलाई निर्वाचनतिर धकेल्ने सेटिङसहित आएको बुझ्न गाह्रो थिएन । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको बुझाइ पनि त्यही थियो । तर, त्यसलाई परास्त पार्ने ल्याकत उनीहरुसँग थिएन ।

जसपाको महन्थ ठाकुर पक्ष ओलीको कित्तामा उभिएकाले विपक्षीका लागि बहुमत जुटाउन एमालेकै माधव नेपाल पक्षको साथ अनिवार्य थियो ।

एमालेको माधव नेपाल पक्ष ओलीलाई सत्ताच्युत गर्ने दाउमा थियो । सोही मिसनका साथ शुक्रबार (जेष्ठ ७ गते) बिहानै माधव नेपाल पक्षका नेता योगेश भट्टराई ओलीको विकल्पको खोजीमा लागे । र, काँग्रेसका नेता गगन थापालाई फोन घुमाए । योगेश र गगनबीच फोन संवाद  भयो ।

केपी ओलीको विकल्पमा माधव नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिन्छ कि ? भन्ने प्रस्ताव योगेशले थापासँग राखे ।

थापाले त्यसो गर्न सकिने तर मिहिनेत गर्नुपर्ने बताए । थापाले म व्यक्तिगतरुपमा तयार छु र अरु नेताहरुसँग कुराकानी गर्छु भन्दै माधव नेपाल पक्षले पनि  शेरबहादुर देउवाको विकल्प पनि खुला राख्नुपर्ने प्रस्ताव गरे ।

योगेशले गगनलाई भने, ‘शेरबहादुर देउवाको विकल्पमा पनि हामी तयार छौं । तर, शेरबहादुर भन्दा माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा हाम्रो पक्षमा बढी सांसद आउँछन् र सरकार बनाउन सजिलो हुन्छ ।’

योगेशको प्रस्तावपछि गगनले काँग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई फोन गरे । खड्का पनि ओलीको विकल्प खोज्न जस्तोसुकै निर्णय उठाउन व्यक्तिगत रुपमा तयार भए ।

लगत्तै गगनले आफू पक्षीय नेता कृष्णप्रसाद सिटौलालाई पनि सोही कुरा जानकारी गराए । त्यतिखेरसम्म शुक्रबार विहान १० बजिसकेको थियो । थापाको टेलिफोन संवादपछि सिटौला पदाधिकारी बैठकमा सहभागी हुन देउवानिवास बूढानीलकण्ठतिर लागे ।

थापाले नेता अर्जुननरसिंह केसीलाई पनि योगेशको प्रस्ताव सुनाए । दाँत दुखेको भन्दै पदाधिकारी बैठकमा नगएका केसी पनि त्यसपछि बूढानीलकण्ठ हानिए ।

योबीचमा एमालेको नेपाल पक्षले काँग्रेसका अन्य नेताले पनि संवाद गरिरहेका थिए । नेता थापा आफैंले नेपाल पक्षका घनश्याम भुसालसँग पनि संवाद गरे ।

ओलीको विकल्पमा नयाँ प्रधानमन्त्रीका लागि प्रयत्न गर्ने कुरा सकारात्मक भएको भन्दै भुसालले पनि आफ्नोतर्फबाट थप प्रयत्न गर्ने जनाए । रघुजी पन्तसँग पनि कुरा गर्न गगनले महामन्त्री खड्कालाई भने ।

काँग्रेस महामन्त्री खड्का र नेपाल पक्षका नेता रघुजी पन्तबीच पनि संवाद भयो । दिनको ११ बजेसम्म नेपाल पक्षमा  २०÷२२ जना सांसदले  शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गर्छन् भन्ने विश्वासको आधार बन्यो । त्यतिञ्जेल काँग्रेसको पदाधिकारी बैठक सकियो । लगत्तै माओवादी केन्द्र, माधव नेपाल पक्ष र उपेन्द्र यादव पक्षबीच देउवा निवासमा संयुक्त बैठक बस्यो ।

काँग्रेस पदाधिकारी बैठक सकिएको आधा घण्टा नबित्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा देउवा निवास पुगे । त्यसको केही मिनेटमै माधव नेपाल पनि देउवा निवास पुगे । जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र इस्तियाक राई बूढानीलकण्ठ पुगे । विपक्षीको संयुक्त बैठक सुरु भयो ।

बैठक सुरु भएको आधा घण्टापछि एमाले नेता भीम रावल देउवा निवासमा छिरे । रावल बैठकमा सहभागी भएको १५ मिनेटमै बैठक सकियो । बैठकले ओलीको विकल्प दिन विभिन्न विकल्पमा छलफल गरेको नेताहरुले बताएका छन् । तर, विकल्प भने खुलाएनन् ।

त्यसपछि नेताहरु काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारतिर हानिए । त्यहाँ उपेन्द्र यादव र बाबुराम भट्टराई पनि जोडिए । नेताहरु आ–आफ्नो सांसदको हस्ताक्षर जुटाउन लागे । त्यतिबेलासम्म नेपाल पक्षमा माधव नेपाल र भीम रावल बाहेकलाई प्रधानमन्त्रीको उम्मेदवार देउवा कि नेपाल भन्ने जानकारी थिएन । यसको खुलासा आइतबार संसद भवनमा नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले गरेका थिए ।

माधव नेपालको साटो देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि योगेशले हस्ताक्षर फिर्ता मागेको रहस्य खुलेको छ । यसबारे सोमप्रसाद पाण्डेले रातोपाटीसँग भने, ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउने भए हस्ताक्षर गर्छु भनेर उहाँ (योगेश) ले हामीसँग भन्नुभएको थियो । प्रधानमन्त्रीमा देउवाजीलाई प्रस्ताव गर्ने बेलामा उहाँ आइपुग्नुभएन ।’

सुरुमा आफूहरु सबैले माधव नेपाल नै प्रधानमन्त्री बन्छन् भनेर हस्ताक्षर दिएको पाण्डेले बताए । पछि माधव नेपालको ठाउँमा शेरबहादुर देउवाको नाम आयो भनेर जानकारी गराइएको उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले हाम्रो हस्ताक्षर फिर्ता मागेनौँ । हामीले हस्ताक्षर गरेका त माधव नेपाललाई नै प्रधानमन्त्री बनाउनका लागि हो । तर शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि हामीले स्वीकार गर्यौं ।’

शीर्ष नेताहरुको आन्तरिक सल्लाहमा काँग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्तावित भएकाले हस्ताक्षर फिर्ता नमागेको पाण्डे बताउँछन् । सूत्रहरूको दाबीअनुसार चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने गरी आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ ।

ओलीको हिसाब फेल खायो

काँग्रेसले कुनै पनि हालतमा बहुमत पुर्याउन सक्दैन भन्ने केपी ओलीको बुझाइ थियो । किनभने, माधव नेपाल पक्ष देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा जाँदैन भन्ने उनले ठानेका थिए । त्यसो गरिएमा एमालेका ८/१० जनाभन्दा बढी देउवाको समर्थनमा जाँदैनन् भन्ने थियो । बैशाख २७ गते नेपाल पक्षका सांसदहरु सामुहिक राजीनामाबाट ब्याक भएपछि काँग्रेसले माधव पक्षलाई विश्वास गर्दैन भन्ने पनि ओलीले ठानेको नेताहरु बताउँछन् ।

काँग्रेसभित्र पनि बैशाख २७ गते मात्र माधव नेपाल पक्षबाट धोका खाएकाले खासै भर थिएन । नेपाल पक्षको हस्ताक्षर लिएर बहुमत जुटाउने विषयमा काँग्रेसभित्र बहस नै अगाडि बढ्ने परिस्थिति थिएन । तर, सामुहिक राजीनामा दिनबाट रोक्ने नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग शुक्रबार बिहानै संवाद भएपछि देउवामा बहुमत पुर्याउन सकिन्छ भन्ने विश्वास बढ्यो ।

महन्थ ठाकुरका १५ जनाले देउवाको पक्षमा हस्ताक्षर नगर्ने प्रष्ट पारेपछि काँग्रेस, माओवादी र उपेन्द्र यादवको सांसद संख्याले बहुमत नपुग्ने निश्चित थियो । देउवालाई माधव नेपालका २६ जना सांसद आएर हस्ताक्षर गरेर (१३८) बहुमत जुट्छ भन्ने लागेको थिएन ।

तर, योगेशसँग संवाद भएपछि बहुमत जुटाउन सकिनेमा ढुक्क भएर देउवा जागेको र त्यसपछि १४९ जना सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्ने परिस्थिति बनेको काँग्रेस नेताहरु सुनाउँछन् ।

योगेशले यतिबेला पार्टी एकता जोगाउने आफ्नो चाहना रहेको हुनाले विपक्षमा हस्ताक्षर नभएको बताइरहेका छन् । तर, उनै योगेशहरुले प्रयासले देउवा–प्रचण्ड मोर्चामा  माधव नेपाल पनि सामेल हुने अवस्था आएको काँग्रेस नेताको तर्क छ । अन्ततः योगेशकै भूमिकाका कारणले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध देउवा र प्रचण्डसँगै माधव नेपाल पनि राजनीति र न्यायिक लडाइ सँगै लड्ने परिस्थिति बनेको छ । ओलीविरुद्धको मोर्चामा नेपाल पक्षको बलियो समर्थन देखिएको छ ।

माधव नेपाल पक्षका अन्य नेताहरु चाहिँ काँग्रेससँग माधव नेपाललाई जोड्ने कुरामा योगेश भट्टराईको मात्रै एक्लो भूमिका नरहेको बताउँछन् । ‘योगेशजीले पनि भूमिमा खेल्नुभयो, तर यसमा घनश्यामजी, रघु पन्तजीहरुको पनि भूमिका छ, नेपाल समूहका एक नेताले भने, सबैभन्दा ठूलो भूमिका त स्वयं माधव नेपालकै हो । उहाँ संसदलाई बचाउनुपर्छ, संविधानलाई बचाउनुपर्छ र यसका लागि लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ ।’

शुक्रबार राष्ट्रपतिकहाँ दाबी गर्न जानुअघि बसेको माधव पक्षको स्थायी कमिटीको बैठकबाट एकमतले लोकतान्त्रिक मोर्चामा सामेल हुने निर्णय गरेको र त्यहीबाट हस्ताक्षर गरिएको ती नेताले बताए ।

योगेश भट्टराई भने यतिबेला तटस्थ बसेका छन् । उनी ओली पक्षमा पनि गएका छैनन् । तर, उनले देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा फरक मत राखे पनि ओली समूहलाई समर्थन नजनाएको स्रोतको दाबी छ । साथै एमाले फुटाएर अर्को बनाउनेमा उनको रुची नदेखिएको नेताहरु बताउँछन् ।

माधव नेपाल पक्षमा हस्ताक्षर नगरेको भनी प्रचार गरिएका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले भने आइतबार संसद भवनमा पुगेर विपक्षी मोर्चामा हस्ताक्षर गरेका छन् ।

नेताहरुले संकलन गरेको १४९ बढी सांसदहरुको हस्ताक्षरसहित सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने कार्यक्रम रहेको माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस नेता रामचन्द्र पौडेलले पत्रकारहरुलाई जानकारी दिए । रातोपाटीबाट

 

प्रतिकृया दिनुहोस्