OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १५, २०७६जुम्ला
३२० पटक

जुम्ला, १५ भदौ ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठिचौर जुम्लाको अवस्था अध्ययन गर्नुभएको छ ।
कृषिमन्त्री केसीले आज बिहान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठिचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गर्नुभएको हो । प्रतिष्ठानको संगठन तथा भौतिक संरचना, यसले स्थापना कालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्य प्रगतिका बारेमा उहाँले कर्मचारीसँग जानकारी लिनुभएको थियो । प्रतिष्ठानका बरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व ईलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका जिल्लाको नेतृत्व गरेको प्रतिष्ठानमा जनशक्ति अभाव रहेको बताउनुभयो ।
“चार जना बरिष्ठ वैज्ञानिक दरबन्दी रहेको प्रतिष्ठानमा म पनि काजमा आएको छु,” वैज्ञानिक चालिसेले भन्नुभयो, “१८ जना कर्मचारीहरुमा मात्र नौ जना कार्यरत छन् ।” जनशक्ति अभावले प्रतिष्ठानको अवस्था विजोग रहेको उहाँको भनाई थियो । उहाँका अनुसार प्रतिष्ठानमा न कर्मचारी आउने नत सरकारले यसको कुनै चासो लिएको छ ।
मन्त्री केसीले प्रतिष्ठानबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि संघीय तथा स्थानीय सरकारसँग समन्वयगरी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पहल गर्ने जनाउनुभयो । नेपालको एकमात्र अनुसन्धान संस्थाको रुपमा गोठिचौरमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठान कर्णालीको ठूलो सम्पति भएको जनाउँदै यसको संस्थागत विकासले मात्र यहाँका जनताको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भेडाबाख्रा अनुसन्धान केन्द्र गोठिचौर, बागवानी अनुसन्धान केन्द्र राजीकोट, पातारासी गाउँपालिकाको जुम्ला उर्थुस्थित नमूना कृषि सहकारी गाउँको अवस्था अध्ययन तथा अनुगमन गर्नुभयो । त्यस्तै, जुम्ला सदरमुकामदेखि डोल्पा जोड्ने सडक अनुगमन गर्नुभएको मन्त्री केसीले आजै जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित त्यहाँ सम्पूर्ण कर्मचारीहरुसँग भेटघाटगरी उहाँहरुको जनताको सेवा प्रवाहमा निर्वाध खटिन निर्देशन दिनुभयो ।
मन्त्री केसीसहित अनुगमन तथा अध्ययनमा पूर्व राज्यमन्त्री गोमा कुँवर, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा, गोठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्मासहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्