

सुर्खेत, ६ भदौ ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कम्युनिष्टहरुलाई पराजित बनाएर छाड्ने दावी गर्नुभयो ।
नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम’को समापन कार्यक्रममा बोल्दै देउवाले कम्युनिष्टहरुको चरित्र बिग्रिदै गएको आरोप लगाउनुभयो । “सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्दा लेख्नेलाई पनि त्रास छ । लेख्ने बित्तिकै जरिवाना भै हाल्छ,” सभापति देउवाले भन्नुभयो, “मुलुकमा हावी भएको लुटतन्त्रले जनता निराशित छन् ।”
बिगतमा एउटा पार्टीले दुई पार्टीसँग लड्दा काँग्रेस पराजित हुनु परेको भन्दै उहाँले पार्टीमा अनुशासन आवश्यक रहेकोप्रति जोड दिनुभयो । महामन्त्री डा.शशाङ्क कोईरालासँगै फर्केर सभापति देउवाले भन्नुभयो, “तपाई मलाई सहयोग गर्नुस् पार्टी बलियो भईहाल्छ ।” पार्टी बलियो बनाउनका लागि काँगे्रेसका नेता तथा कार्यकताहरुले जनताको घरमा तीनपटक भेट्न जानुपर्नेमा उहाँको जोड थियो ।
एक फरक प्रसंगमा सभापति देउवाले कर्णाली सभ्यता, भाषा, कला, साहित्य, जल, जंगल, जडिबुटीमा धनी भएकोले यो प्रदेशलाई माथि उठाउन काँग्रेसले अहंम् भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
काँग्रेस उपसभापति बिमेलेन्द्र निधिले सरकारले संविधान र संघीयता विरोधी काम गरेको दोषारोपण गर्नुभयो । नेपाली राजनीतिको विषम् घडीमा काँग्रेसको अहम् भूमिका रहेको दावी गर्दै उहाँले अहिले मुलुलकमा बढी बेथिति देखिन थालेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपसभापति निधिले भन्नुभयो, “मुलुकको सिंहदरबारको शासन अब सिंगापुरबाट चल्नेगरी कार्यसम्पादन नियमावली संशोधन गरिएको छ ।” उहाँले पार्टीलाई कसरी मुलुकको पहिलो पार्टी बनाउन सकिन्छ भन्नेतर्फ सोच्न काँग्रेसी नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोईरालाले पार्टीलाई एक नबनाएसम्म विश्राम नलिने संकल्प गर्नुभयो । पार्टी भित्रको विकृति चिरेरै छोड्ने उहाँले दावी गर्नुभयो । प्राकृतिक स्रोतले सम्पन्न कर्णाली प्रदेशमा केन्द्रीय दृष्टि नजानु दुर्भाग्य भएको महामन्त्री डा.कोईरालाको भनाई थियो ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले बिगत्को कुरालाई बिर्सेर अब नयाँ ढाँचाबाट पार्टीलाई अघि बढाउनु अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । अविश्वासका थुप्रै खाडलहरु छन् र तिनलाई पुरा गर्न १३औं महाधिवेशनले भूमिका खेल्नेछ, उहाँले भन्नुभयो, अब मुलुकभर रहेका काँग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्यहरु एक भएर जानुपर्छ ।
उक्त प्रशिक्षण कार्यक्रममा नेता मिनेन्द्र रिजाल, हृदयराम थानी, दिपक गिरी, रामकृष्ण यादव, नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, संघीय सांसद रंगमती शाहीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।