OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २७, २०७७सुर्खेत
८२४ पटक

२७ फागुन २०७७, बिहीबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित सुन्दर, मनोरम र प्रसिद्ध पर्यटकीयस्थल बुलेबुले तालको काखमा ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ आजबाट विभिन्न क्षेत्रमा आधारित बहस थालिएको छ । उक्त उत्सवलाई मुलुककमा एउटा फरक र गहन बहसका रुपमा लिईएको छ । तीन दिनसम्म निरन्तर सञ्चालन हुने ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को आयोजना ऋति फाउण्डेसन, सुर्खेतले गरेको हो ।

कुडा कर्णालीका बहसमा कर्णाली प्रदेश अस्पतालका बालस्वास्थ्य विभागका प्रमुख डा.नवराज केसीले आमाको ‘अ’ लाई अर्थतन्त्रको ‘अ’ सँग नजोडिए देश कंगाल भएर जाने टिप्पणी गर्नुभएको थियो । आमाको कोख र काखमा बच्चाको ७० प्रतिशत विकास हुने भन्दै साना साना कुराबाट मुलुकको परिवर्तन ल्याउन सकिने विचार व्यक्त गर्नुभयो । हाम्रो समाजको परिसंरचनामा देखिएका व्यवधान पन्छाउन धेरै ठूला कुराको परिकल्पना गर्नुनपर्ने उहाँको भनाई थियो ।

बहसको पहिलो दिनमा चारवटा सत्र सञ्चालन गरिएको छ । पहिलो सत्रमा ‘हाम्रो मान्नमी’ मूल शीर्षकको ‘बाडो, थाडो र ओटालो’ विषयमा रहेर पत्रकार दिपा दाहालको सहजीकरणमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकाय, समाजशास्त्री डा.टिकाराम गौतम र अध्येता गोविन्द नेपालीले बहस गर्नुभएको थियो ।

बहसमा ‘बाडो, थाडो र ओटालो’ संस्कृतिले कर्णालीको साँस्कृतिक तथा सामाजिक मिलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र त्यसले मानवीय मनहरु जोड्न सहयोग पुगेको निचोड निकालिएको थियो । यद्यपि लैङ्गिक तथा जातिय विभेद कर्णालीमा उतिबेला देखि अहिलेसम्म कायम रहेकोले विभेद अन्त्य गर्ने कार्यक्रममा सरकारले जोड दिनुपर्ने औंल्याईएको छ ।

अध्येता दिव्य खड्को सहजीकरणमा ‘छाउ र भाउ’ शीर्षकमा बहस गर्दै लेखक राधा पौडेल, बालरोग विशेषज्ञ डा.नवराज केसी राजनीतिकर्मीद्वय विन्दा पाण्डे र ममता विकले समाजमा आमा सम्मानित हुँदामात्र समाज सम्मानित हुनेमा जोड दिनुभयो । बहसमा वक्ताहरुले कर्णालीमा अहिले पनि छाउपडी अवस्थाको अन्त्य नभएको जनाउँदै मर्यादित महिनावारीको देशका रुपमा नेपाललाई चिनाउनुपर्ने एवं सरकारले विश्वविद्यालय भन्दा आमा र बालबालिकामा लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

सञ्चारकर्मी भूपेन्द्र खड्काले सहजीकरण गर्नुभएको ‘आफ्नै कथा आफ्नै बान्की’ शीर्षकमा बहस गर्दै सािहत्यकार बुद्धिसागर, लेखक सरलता गौतम, रंगकर्मी हिराबिजुली नेपाली र देउडा गायक नेत्रबहादुर शाहीले कर्णाली भाषा, कला, साहित्य र संस्कृतिले भरिपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । कर्णालीले हरेकलाई चिनाउने क्षमता राख्ने भन्दै उहाँहरुले राज्यले यसमा लगानी गर्न कञ्जस्याई गर्न नहुनेमा जोड दिनुभयो ।

लेखक माधव चौलागाइले सहजीकरण गर्नुभएको ‘कहरी सुकालो होला कहिले जाला कैठ ?’ शीर्षकमा बहसमा भाग लिनुभएका संक्रमणरोग विशेषज्ञ डा.अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा.सुरेश तिवारी र सुर्खेत प्रदेश अस्पतालका डा.दुर्गा तिवारी विकासको सूचक स्वास्थ्य भएको धारणा राख्नुभयो । उहाँहरुले कर्णालीका सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति पुरा गरिए नागरिकहरुले आधारभूत स्वास्थ्य प्राप्त गर्ने बताउनुभयो ।

पत्रकार नगेन्द्र उपाध्यायको सहजीकरणमा ‘हाट जान्या, भोट जान्या’ शीर्षकमा बहस गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा महिनौ दिन हिँडेर कालापहाड जाने बिगतको तितो इतिहास गुजारेर यो ठाउँमा आईपुगेको बताउनुभयो । मानवशास्त्री डा.जनक राई मानवीय आवश्यकता र भौगोलिक परिवेशका आधारमा लगानी हुनुपर्ने तथा सन्तुलित विकासबाट मात्र मानव सहअस्तित्व कायम हुने तर्क गर्नुभयो ।

यता डोल्पाका समाजसेवी धनराम बढाथोकीले कर्णालीको डोल्पा र हुम्लाका मान्छेहरुको अवस्था अहिले पनि हाट जान्या, भोट जान्या जस्तै रहेको जनाउनुभयो । “कर्णाली हिजो नून र नानाका लागि भोट मधेश गथ्र्यो,” बुढाथोकीले भन्नुुभयो, “तर त्यो अवस्था अहिले छुटेपनि ती जिल्लाहरुमा सडक सञ्जालमा नजोडिनु राज्यको कमजोरी हो ।” सिंगो देशको विकासका लागि कर्णालीको विकास आवश्यक रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्