OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १८, २०७७ सुर्खेत
८१५ पटक

 १८ माघ २०७७, आईतबार

कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले मन्त्रालयले सञ्चालन गरेको सहुलियत ऋण कार्यक्रमबाट विपन्न कृषकहरुलाई उत्पादन बढाउन आग्रह गर्नुभएको छ ।

पश्चिम सुर्खेतको घाटगाउँस्थित दोभान बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री केसीले कृषकहरुलाई उत्पादन बढाउने काममा लाग्न आग्रह गर्नुभएको हो । ‘मन्त्रालयले विपन्न कृषकको लागि ५० हजारदेखि पाँच लाखसम्म बिना धितो ऋण प्रवाह गरेको छ’ मन्त्री केसी भन्नुभयो, ‘तपाईहरु सहकारीमा जोडिएर यस कार्यक्रममा सहभागी भई उत्पादन बढाउने काममा लाग्नुहोस’

मन्त्री केसीले घाँटगाउँमा परम्परागत बालीमात्र नभई आम्दानी दिने खालका नगदे बालीको उत्पादनलाई पनि जोड दिन कृषकहरुलाई आग्रह गर्नुभयो । ‘कृषिमा राम्रो उत्पादन गरेर तपाईहरुको जीवन बदल्नुहोस्’ उहाँले भन्नुभयो, ‘कृषिमा कस्ता खालका कार्यक्रम आएका छन् भन्ने कुराको स्थानीय तह र मन्त्रालयमा आएर जानकारी लिनुहोस् ।’

उपसभामुख पुस्पा घर्तीले गाउँमा कृषि र खानेपानीको बजेट छुट्याइएको र त्यसबाट कृषि उत्पादन बढाउनुपर्ने बताउनुभयो । गाउँमा सिंचाईको समस्या रहेको भन्दै यसको लागि खानेपानीको लागि काम शुरु भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री गोमा गौतम कुँवरले गाउँमा सिंचाईको व्यवस्था मिलाई आधुनिक कृषितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले घाँटगाउँलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यकता रहेको औल्याउनुभयो ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सहकारीका सदस्यहरुले बचतसँगै कृषि उत्पादनलाई बढाउनतिर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दोभान सहकारीका अध्यक्ष कलमबहादुर शाहीले सहकारीको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्