OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
-कृष्णमाया उपाध्याय-पौष १९, २०७७जुम्ला,
११४० पटक

प्रकाशित मिति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँका कलबहादुर रावल र उनकी श्रीमती निर्मला रावल अहिले ३८ वर्षका भए । उनीहरुका दुई छोरी छन् । जेठी छोरी १५ वर्ष र कान्छी १३ वर्षका भए । कान्छी छोरी जन्मेको ११ महिनापछि आफूले स्थायी बन्ध्याकरण गरेकोले अब अरु सन्तान जन्मिने कुनै सम्भावना नभएको र सन्तानको चाहना पनि नरहेको कलबहादुरले बताए ।

दुईजना छोरी मात्रै भएको र छोराका लागि कुनै पहलै नगरेको (फेरि फेरि गर्भ बोक्ने, पेटको शिशुको लिङ्ग पहिचान गर्ने र छोरी हुँदा गर्भपतन गर्ने) थाहा पाएपछि कलबहादुर र निर्मलालाई धेरैले भने, “मर्दापर्दा हेर्ने एक छोरा त चाहिने हो । स्थायी बन्ध्याकरण नै त नगरेको भए हुने ।” तर अरुका यस्ता कुराले यो जोडीलाई कुनै फरक परेन । दुई सन्तानमै सन्तानको चाहना पुगेपछि स्थायी बन्ध्याकरण गरेको कलबहादुरले बताए ।

“जिउँदो छँदासम्म छोराभन्दा राम्ररी छोरीले नै हेर्छन् । आमाबाबुको दुःखसुख बरु छोरीलाई थाहा हुन्छ । मरेपछि घाटसम्म जसले लग्दा पनि भयो । छोरा वा छोरी नै किन चाहियो र ?” कलबहादुरले थपे, “आमाबुबाको किरिया छोरीले नै गरेका नेपालमै पनि सयौँ उदाहरण छन् । शवलाई दागबत्ती दिने जस्तो जसले गर्दा पनि हुने काममा छोरा नै चाहिन्छ भन्नु बेकार हो ।” छोरा र छोरीमा कुनै भिन्नता नदेखेपछि आफूहरुले छोराको आस पनि नगरेको र भएका छोरीमै सन्तुष्ट रहेको उनले बताए ।

“सक्यौँ भने यिनीहरुलाई राम्रो शिक्षादीक्षा दिने चाहना छ । हाम्ले दिएको संस्कार र देखाएको बाटोलाई पछ्याउन् र नमूना काम गरेर देखाउन् भन्ने चाहना छ” निर्मलाले भनिन्, “बरु छोराको तुलनामा छोरीहरु आफूले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्ने र अनुशासित हुन्छन् जस्तो लाग्छ ।”

दुई छोरी जन्मिएपछि स्थायी बन्ध्याकरण गरेको र छोरा नै हुनुपर्ने गलत सोचलाई अनुसरण नगरेको भन्दै नमूना परिवारको रुपमा तत्कालीन महिला तथा बालबालिका कार्यालयले आफूलाई सम्मान गरेको निर्मलाले बताइन् । छोरीहरु कुलतमा फस्लान्, चोरी डकैती गर्लान्, बलात्कार गर्लान् भन्ने पीर आफूहरुलाई नभएको भन्दै उनले भनिन्, “यसर्थमा छोरा भएका आमा बुबाको तुलनामा अहिले हामी धेरै खुसी रहेछौँ ।”

कल रावलको परिवार

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० का विष्णुमाया न्यौपाने र राजुशरण न्यौपानेका पनि दुई छोरी मात्र छन् । जेठी छोरी पुष्पा अहिले ३० वर्षकी भइन् भने कान्छी छोरी चन्द्रा २५ वर्ष पुगिन् । चन्दननाथ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहेका राजुशरणले भने, “पहिला पहिला आफन्त र छिमेकीले छोरा किन नजन्माएको ? छोरी मात्रै छन् । किन स्थायी बन्ध्याकरण गरिहालिस् ? भन्थे । मैले त्यस्ता कुराको कहिल्यै मतलबै गरिन् । अहिलेसम्म सुखी छु । खुसी छु । छोरी मात्रै भएका कारण दुःखी हुनुपरेको छैन ।”

न्यौपाने दम्पतीकी जेठी छोरीले अङ्ग्रेजी विषयमा स्नाकोत्तर गरेकी छन् । कान्छी छोरीले ‘आईटी इन्जिनियर’ पढेर जागिर गरिरहेकी छन् । विष्णुमायाले भनिन्, “हामी छोरीहरुको अनुशासन, उनीहरुले गर्ने माया र रोजेको बाटोप्रति निकै खुसी छौँ । छोरा नपाएको वा कुनै विषयमा हाम्रो परिवारमा कहिल्यै कलह भएको छैन । हुन्न पनि होला” उनले भनिन् ।

छोरी पनि सन्तान हुन् भन्ने सत्य कुरालाई आत्मसात गरेर उनीहरुको उज्वल भविष्यको लागि आमाबुबाले लगानी गर्ने हो भने छोरीले बुबाआमालाई दुःख दिएको सायदै उदाहरण भेटिदैनन् । स्वतन्त्र भएर काम गर्न दिँदा छोरी नै समाजको असल नागरिकको रुपमा स्थापित हुन सक्ने उदाहरण आफ्नो छोरीबाट सिक्न सकिने राजुशरणको भनाई छ ।

“पुरुषहरुको तुलनामा घरपरिवार, टोल छिमेक, धारा पँधेरा र बनपाखामा महिलाहरु बीच छोरा नै चाहिने विषयमा कुरा हुने र त्यही कुराले महिलाहरुलाई पिरोलिरहने हुन्छ” विष्णुमायाले अनुभव सुनाइन्, “प्राय बुझ्दै नबुझेका, बुझ्न नचाहने, रुढिग्रस्त र अरुलाई पीडा दिने स्वभाव भएका मान्छेहरु छोराछोरीप्रति विभेद गर्छन् । महिलालाई छोरा जन्माउँन कर गर्छन् र हिंसा गर्छन् जस्तो लाग्छ । मलाई अरुले भन्ने कुनै कुराले फरक पारेन ।” आफ्नै निर्णयमा अडिग रहेर काम गरेको हुनाले अहिले समाजको उदाहरणीय मानिसको रुपमा स्थापित हुन सफल भएकोमा विष्णुमायाले गर्वानुभूति गरिन् ।

सन्तानको नाममा दुई छोरी पाँच पाँच वर्षको अन्तरमा जन्माएको र छोरा नै भइदिए हुन्थ्यो भन्ने आशा आफूहरुले कहिल्यै नगरेको पनि यो जोडीको भनाई छ । “जे भए पनि स्वस्थ हुन् । असल हुन् । राम्रो बाटोमा लागुन् । अरुको सेवा गर्ने काम गरुन् भन्ने मात्रै सोच्छौँ, राजुशरणले भने ।”

धेरै सन्तान जन्माएका, छोराको आसमा छोरीको गर्भ फालेका महिलाको तुलनामा आफू निकै स्वस्थ रहेको पनि विष्णुमायको भनाई छ । त्यसमाथि आफूहरुका ससाना खुसीका लागि छोरीहरुमा देखिने संवेदनाले झनै सुख दिने गरेको न्यौपाने दम्पतीले बताए । राजुशरणले भने, “पहिला पहिला मानिसहरुले नबुझेर मेरो बारेमा नानाथरी कुरा काटे । छोरा जन्माउन नसकेको भने । अहिले उनीहरुको तुलनामा मलाई भोकै बस्नु परेको छैन । छोरीहरुले हाम्लाई वृद्धाआश्रममा राख्छन् कि भन्ने चिन्ता छैन । हरेक कुरामा म उनीहरु भन्दा खुसी छु ।”

राजुशरण दम्पती

 

 

यस्तै चन्दननाथ नगरपालिका १० का २६ वर्षीय टेकेन्द्र नेपाली र उनकी श्रीमती एकु नेपालीले पनि अब छोराको आसमा तेस्रो सन्तान नजन्माउने निर्णय गरेका छन् ।

नेपाली दम्पतीकी जेठी छोरी ९ वर्ष र कान्छी छोरी ३ वर्षकी भइन् । दुवै छोरीलाई शल्यक्रियामार्फत जन्म दिएको र अब अर्को सन्तानको इच्छा पनि नभएको उनीहरुले बताए ।

“यो जमानामा दुई सन्तानको लालनपालन र शिक्षादीक्षा नै ठूलो कुरा हो । धेरै सन्तान जन्माएर मात्रै केही हुन्न । भएका दुई छोरीको लागि नै केही राम्रो गर्ने योजना छ” टेकेन्द्रले भने, “अरुले के भन्छन्, मलाई कुनै मतलव छैन । हाम्रा लागि छोरी नै सकथोक हुन् ।”

  1. माथिका यी सबै मानिस जुम्लाका उदाहरणनीय प्रतिनिधि पात्र हुन्, जसले छोरी जन्मिदा खुसी मनाए । छोरा नै हुनुपर्ने चाहना राखेनन् । छोरा नभएको बहानामा परिवारमा कलह गरेनन् र परिवर्तनका लागि जुग कुर्नुपर्दैन, हाम्रै पालामा सम्भव छ भन्ने कुरा सिद्ध गरिदिए ।

“छोरीलाई सन्तानको रुपमा गणना नगर्ने पितृसत्तात्मक समाजमा छोरी मात्रै हुँदा पनि खुसी मात्रै हुन्छ भन्ने कुरा धेरैले अनुभवै गर्न सकेका छैनन्” तीन छोरी छोरी मात्रै भएका ५० वर्षका जयबहादुर भण्डारीले भने, “मलाई छोरा नभएकोमा कुनै पीडा छैन । किनकी छोरा भए यसो हुन्थ्यो होला भन्ने मससुस छोरीहरुले गर्नै दिएका छैनन् । पूर्ण माया र हेरचाह पाएको छु यिनीहरुबाट ।”

आज भन्दा ३० वर्ष पहिलाको जुम्लाको समाज र अहिलेको समाज बीच धेरै परिवर्तन भइसकेको कुरा जयबहादुर बताउँछन् । छोरीलाई पनि छोरासरहको पालनपोषण, शिक्षादीक्षा र संस्कार दिन सके विद्यमान कुरीति, कुप्रथा र कुसंस्कारको अन्त्य पनि सम्भव छ भन्छन् उनी ।

टेकेन्द्र नेपालीको परिवार

दुई महिलाको ज्यान गयो

उच्च रक्तश्रावका कारण २०७५ सालमा अस्पताल पुगिसकेका २ जना महिलाले अकालमा ज्यान गुमाएको तथ्याङ्क कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । एकजनामा औषधिद्वारा गर्भपतनपछिको रक्तश्राव नरोकिदा र अर्को सुत्केरी व्यथा लागेको लामो समयपछि मात्र अस्पतालमा आएको हुनाले उनीहरुको ज्यान बचाउन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर मंगल रावलका अनुसार कतिपय महिलाहरु सुत्केरी व्यथा लागेको लामो समयपछि मात्रै अस्पताल पुग्ने र कतिपयले घरमै गर्भपतनको औषधि खाएर धेरै रगत बगेपछि मात्र अस्पताल आउने गरेका कारण अकालमा ज्यान गुमाउन विवश छन् । उनका अनुसार २०७५ सालयता भने जुम्लामा मातृ मृत्युदर शून्यमा झरेको सुखद् खबर छ ।

अधिकारकर्मी तथा शिक्षक भगवती श्रेष्ठले सन्तानले गर्नुपर्ने कर्तव्यबोध गर्दै आफ्नी आमाको किरिया आफैले गरेको बताइन् । आफ्नी आमाको मृत्यु हुँदा कान्छा बुबाका छोराहरुले “छोरी मान्छे किरिया बस्नुहुन्न, हामी बस्छौँ” भनेको तर आफूलाई जन्माउने आमाको किरिया गर्नु आफ्नो धर्म र अधिकार हो भन्दै छोरा मान्छेले नै शवमा दागबत्ती दिनुपर्छ भन्ने परम्परागत रुढिवादी मान्यता गलत हो भन्ने कुरा बुझाएपछि उनीहरु आफ्नो कुरामा सहमत भएको उनले बताइन् । अहिले आमाको श्राद पनि आफैले गर्दै आएकी भगवती भन्छिन्, “यदि मृत्यु संस्कारमा छोरीहरुलाई निषेध नगर्ने हो भने छोराछोरीप्रतिको विभेद स्वतः हट्छ ।”

जुम्लामा आमाको मृत्यु हुँदा कपाल पुरै खौरेर, सेतो कपडा लगाई छोराको जस्तै गरेर सबै प्रक्रिया पूरा गर्ने पहिलो महिला आफू नै भएको दाबी भगवतीको छ ।

माथिका जोडीहरुले किरियालगायत छोराले नै गर्नुपर्छ भनिएका संस्कार अब आफ्नै छोरीमार्फत गराउँने बताएका छन् । छोराछोरी बराबर हुन्, छोराहरुले गर्ने सबै काम छोरीले गर्न सक्ने भएकाले आगामी दिनमा छोरीहरुले नै आफूले सोचे अनुसारको व्यवहार गर्छन् भन्ने कुरामा आफूहरु ढुक्क भएको कलबहादुर रावलले बताए ।

कम जन्मन थाले छोरी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा जुम्लामा मात्रै २ हजार २ सय ६९ जना शिशुको जन्म भयो । जसमा १ हजार २ सय ३८ जना छोरा जन्मिए भने १ हजार ३१ जना छोरी । कुल जन्म मध्ये २ सय ७ जना छोरा बढी जन्मेको तथ्याङ्कले देखाएको छ । यो छोरा भन्दा छोरीको जन्म ९.१३ प्रतिशतले कम हो ।

प्रतिष्ठानमा आर्थिक वर्ष २०७२–०७३ मा १ सय ६७ जना छोरी र २ सय ४५ जना छोराको जन्म भयो ।

आर्थिक वर्ष २०७३–०७४ मा २ सय ६० छोरी र २ सय ९१ छोरा जन्मिए ।

यस्तै आर्थिक वर्ष २०७४–०७५ मा २ सय ४५ छोरी र २ सय ८९ छोरा, आर्थिक वर्ष २०७५–०७६ मा ३ सय २० छोरी र ३ सय ४२ जना छोरा र आर्थिक वर्ष २०७७–०७८ को साउनदेखि भदौसम्म ७१ छोरा र ३९ जना छोरीहरु जन्मिएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए ।

जानकारहरुका अनुसार हरेक वर्ष छोराको तुलनामा छोरीको जन्मदर घट्नुको मुख्य कारण भनेको प्रविधिको दुरुपयोग (गर्भ परीक्षणमार्फत छोरीलाई गर्भमै तुहाउनु) र रुढिग्रस्त विभेदकारी सोच नै प्रमुख कारण हो ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छोरी पनि सन्तान हुन्, लिङ्गका आधारमा गर्भपतन वा छोरीमाथि विभेद गर्नु हुन्न भनेर चेतना जगाउनको लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

मन्त्रालयको महिला विकास शाखामा कार्यरत महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार मन्त्रालयले छोरीले उच्च शिक्षा हाँसिल गर्न सकुन् भन्ने उद्देश्यले छोरी बुहारी छात्रवृत्ति कार्यक्रम लागु गरेको छ ।

यस्तै ‘छोरीको सुरक्षा, जीवनभरको कार्यक्रम’ अन्तर्गत छोरी जन्मनासाथ २० वर्षसम्मको लागि प्रत्येक छोरीको नाममा बैंक खाता खोलेर मासिक ५ सय रुपैयाँका दरले जम्मा गरिदिने कार्यक्रम शुरु भइसकेको छ ।

उनका अनुसार बालविवाह न्यूनीकरण कार्यक्रम, लैङ्गिक हिंसा अन्त्य गर्नको लागि प्रदेशका १० वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम पनि हुँदै आएका छन ।

प्रतिकृया दिनुहोस्