OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ३०, २०७७सुर्खेत
४२१ पटक

३० मंसिर २०७७, बुधबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या हल गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइने भएको छ । यहाँको खानेपानी समस्या दीर्घकालीन समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो

एक लाख ५० हजार जनसङ्ख्या रहेको वीरेन्द्रनगरमा पछिल्लो समयमा पानीको हाहाकार बढ्दै गएको छ । प्रदेश राजधानी भएयता बढ्दो शहरीकरण तथा जनसङ्ख्याका कारण पानीको अधिकतम् समस्या हुँदै गएको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पुर्याउन सकेको छैन ।

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले उपत्यकामा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन ।

वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । प्रदेश राजधानीको प्राथमिकतामा भएकाले यो आयोजनामा प्रदेश सरकारको पहिलो लगानी हुने मन्त्री ज्वालाले प्रतिबद्धता जनाउनुभयो ।

सोका लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याइएको उनले जनाउँदै मन्त्री ज्वालाले आयोजना ठूलो र बृहत भएकाले सङ्घीय सरकारले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने तथा त्यसका लागि आवश्यक बजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले व्यवस्था गर्ने उहाँको भनाई थियो ।

प्रदेशको मुटुमा रहेको ठूलो तथा बहुप्रतिक्षित खानेपानी आयोजना भएकाले दीर्घकालीन लक्ष्यका साथ योजना निर्माण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो । प्रदेश राजधानीको खानेपानी समस्या दीर्घकालीन रुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उहाँले जनाउनुभयो।

तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उहाँको भनाइ छ । जलवायु अनुकूलन बृहत खानेपानी आयोजनाअन्तर्गत भएकाले यसमा १० प्रतिशत सहभागिता चाहिने कँडेलले जनाउनुभयो। उहाँले यहाँको जग्गा, रकमको स्रोतलगायतका काम टुङ्गिएमा तत्काल प्राविधिकले अन्तिम डिजाइनको काम गरिनेसमेत अवगत गराउनुभयो ।

सङ्घीय सरकारले नेतृत्व गरेको बृहत खानेपानीमा प्रदेश सरकारसँगै नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख देवकुमार सुवेदीले प्रतिबद्धता जनाए । कामको विभाजन गर्दा गर्नुपर्ने कामको जिम्मेवारी लिने भन्दै आवश्यक बजेट, जग्गा प्राप्तिमा सहजीकरणलगायतका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले बताए ।

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रशान्त मल्लले बताउनुभयो। वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निमार्ण भए २४ वटा स्किम रहने उनले जनाए । वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने उहाँले बताउनुभयो ।

अहिले तयार पारेको रिपोर्ट अनुसार करिब रु.छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु.एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो। उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग हुँदा उपभोक्ताको थुप्रै गुनासो सुन्नुपरेको छ ।

प्रतिकृया दिनुहोस्