OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७७जुम्ला,
७५६ पटक

 

श्री उपकुलपति राजेन्द्रराज वाग्ले ज्यू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
सर्वप्रथम, नमस्कार टक्र्याउन चाहान्छौं ।

उपकुलपति ज्यू, हामी यहाँ आराम छौं, त्यहाँ तपाईको पनि आरामको कामना गर्दछौं । दुई हप्ता अघि प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौैैं छोडेर केन्द्रीय कार्यालय जुम्लामा आईपुग्नुभएका तपाई र हामी बस्ने स्थान र कार्यालय मुस्किलले मात्र एक सय मिटर दूरी टाढा छ । यहाँ सामान्यतः हिँडडुल गर्दा समेत भेट भईहाल्ने ठाउँमा सूचनाको साधनहरु उपयोग गर्दा पनि तपाईसँग भेट हुन नसक्ने नियत र प्रवृतिको कारण यो सूचना र प्रविधिको तीव्रतम् विकास भईरहेको बेला २०औं शताब्दीको पराम्परागत हुलाक सेवालाई तपाईसँग भेट गर्ने माध्यमको रुपमा अंगिकार गर्न विवश भएको छौं ।

यतिबेला तपाई चन्द्र धरातल र हामी पृथ्वी रहेको जस्तो बिडम्बनायुक्त परिवेशको सामना गर्नु परिरहेको छ । उपकुलपतिज्यू, शक्तिशाली कर्णाली राज्यमाथि गोर्खालीहरुको छद्मभेषी आक्रमणबाट आजपनि कर्णाली माथि उठ्न सकेको छैन । ऐतिहासिक जनविद्रोह, जनआन्दोलन र कर्णालीका जनताको बलिदानीपूर्ण संघर्ष एवं लडाईबाट जन्मेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विकासमा हालसम्म यहाँले पुर्याएको योगदानको कदर पत्र दिन कर्णालीबासी आतुर हुँदै गर्दा पुनः त्यही छद्मभेषी गोर्खालीपनको पराकाष्ठामा पुगेर यहाँको नीजि अभिष्ट परिपूर्ति गर्ने निहुँमा किन कर्णालीबासीमाथि फेरीपनि अनौठो तरिकाले आक्रमण गर्दै हुनुहुन्छ ।

उपकुलपतिज्यू, अब तपाईले जुम्लालगायत सिंगो कर्णालीबासीलाई जवाफ दिनुपर्छ कि किन प्रतिष्ठानको प्रशासनिक एवं शैक्षिक प्रशासनमा तालाबन्दी भएको आज ४१ दिनभयो ? तपाई प्रतिष्ठान केन्द्रीय कार्यालयबाट कति माईल दूरी टाढा हुनुहुन्छ ? तपाईको मोबाईलमा फोनको घण्टी त बज्छ होला है ? के त्यो फोन एक क्वीन्टल बढी भएर उठाउन सकिएन र ? तपाई उपकुलपतिको तौल भन्दा त त्यो धेरै हलुका थियो होला नि ? त्यो उठाउन हैसियत नराख्ने उपकुलपतिज्यूले प्रतिष्ठानको कस्तो खालको नेतृत्व गरिराख्नु भएको छ भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ ? नागरिकका कुरा छोडौं पत्रकारहरुको समेत फोन नउठाएर सूचना लिने अधिकारबाट बञ्चित गर्ने तपाई जस्तो गैर जिम्मेवार नेतृत्वलाई त्यो नेतृत्वदायी जिम्मेवारीमा बस्ने कुनै नैतिकता छ ?

अनि तपाईको एकाधिकारवादी सोच तथा निर्णयमा किन सिंगो कर्णालीबासी सतिएर जानुपर्ने हो ? मासिक रु.१० हजार कमाउन नसक्ने कर्णालीबासीका अगाडि तपाई मासिक रु.चार लाख हाराहारी सुविधा लिने विद्धान उपकुलपतिले यहाँका नागरिकमाथि निकै ठूलो न्याय गरेको लागिरहेको छ र ? के तपाई उपकुलपतिले आफ्नो पदावधि सकिने बित्तिकै आफ्नो विषयगत फ्याकल्टीको प्रोफेसरका रुपमा प्रतिष्ठानमा निःशुल्क सेवा दिन्छु भन्ने महान् सोच प्रस्तुत गर्नुभएको छ र ? सामान्य कर्मचारीसँग वार्तालाभ गरी सानो समस्याको यथोचित निकास दिन नसक्ने र सेवाका नाममा अप्रत्यक्ष शोषण गर्ने प्रवृतिलाई कहिलेसम्म हामी स्वागत गरिसकौं ।

प्रतिष्ठानलाई कहिलेसम्म गतिरोध अवस्थामा राखिरहनुहुन्छ । यदि तपाईले विधि पुर्याएरै तेस्रो डीन नियुक्ति गर्नुभएको हो भने कहिले होटल, कहिले व्यक्तिको घरमा किन लुकेर बस्दै हुनुहुन्छ ? किन हाम्रो फोन तपाईको लागि करेन्ट झैं भयो ? पत्रकारहरुसँगको फोन, भेट र अन्तरवार्तामा पूर्वाग्रह गर्ने तपाईको विभेदकारी सोच, प्रवृति र शैली सहने के हामी तपाईको दास हो र ? यदि त्यही सोच्नुभएको हो भने त्यो भ्रमबाट मुक्त हुने प्रयास गर्न बेलैमा सचेत गराउँछौं । पदावधिविदाईको क्षणलाई ऐतिहासिक बनाउने या कुण्ठा बोकेर जाने त्यो तपाईको सोच र शैलीको भित्रको प्राविधिक कुरा हो । सत्य कर्मलाई सम्मान र गलत कर्महरुको प्रतिवाद गर्नु हाम्रो धर्म हो ।

अन्त्यमा, तपाई लुक्नुस् या छिप्नुस्, । सियो भएर छिर्नुस् या हाती भएर निस्कनुस्, हामीलाई नेपालको संविधान २०७२, ले प्रदत्त गरेको सूचनाको अधिकार र सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम तपसिलका पत्रकारहरुलाई तपसिलका सोधिएका प्रश्न अनुसार सूचनाको विवरण उपलब्ध गराउन अनुरोध गर्दछौं ?

१) ४० दिनदेखि एकातिर प्रतिष्ठानको केन्द्रीय तथा शैक्षिक प्रशासनमा तालाबन्दी छ अर्कोतिर तिहारको मुखमा समेत कर्मचारीहरुले तलब खान पाएनन् । प्रतिष्ठान केन्द्रीय कार्यालयमा पुगेर यो गतिरोध नियाली रहँदा संस्थाको प्रमुख जिम्मेवार व्यक्ति तपाई उपकुलपतिले किन यसको यथाशीघ्र निकास खोज्नु भएन ?
………………………
२) प्रतिष्ठानको तालाबन्दी सर्वत्र चासोको विषय बनिरहँदा पत्रकारहरुले बारम्बार तपाईसँग त्यस विषयमा सूचना लिन खोज्दा किन फोन उठाउने हैसियत राख्नुभएन ? यसले के पत्रकारको सूचना पाउने अधिकार बञ्चित हुनुको साथै उनीहरुको अवहेलना भएन र ? यसले तपाईको कमजोरी देखाएन र ?
…………………….
३) तपाईले असोज २६ गते नियक्ति गरिएका जनस्वास्थ्य डिन मुनिराज क्षेत्री नियुक्ति गर्दा कार्यकारी परिषद्को बैठक बसालेर आवश्यकता र औचित्यता सहितको निर्णय अनुमोदन (पारित) गरी विधिसंगत सो प्रक्रिया पुरा गर्नुभएको छ ? त्यसो गरिएको भएर का.प.को निर्णय उपलब्ध गराई दिन हुन अनुरोध गर्दछु ।
………………….
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सम्पर्क कार्यालयबाट गरिने नियुक्तिहरु कति विधिसँग मानिन्छन् ?
………………….
५) सरकारले प्रतिष्ठानको सम्पर्क कार्यलय खारेज गर्न भनिरहँदा अहिलेसम्म किन राखिएको छ र त्यसको वार्षिक खर्चको यथार्थ विवरण उपलब्ध गराउन अनुरोध छ ।
……………………….
६) प्रतिष्ठानमा गैरसरकारी निकायले पनि सहयोग गरेको भन्ने सुन्न आएको छ । कुन निकायले के परियोजनामा सहयोग गरेका छन् काम गर्ने कर्मचारीको नामावली उपलब्ध गराईदिनु हुन अनुरोध छ ।

तपसिल
पूर्णप्रसाद चौलागाई कोरपाटी अनलाईन सम्पादक
कृष्णमाया उपाध्याय विविसी नेपाली सेवा सम्वाददाता
सुरजकुमार सिंह रासस कर्णाली प्रमुख
कर्णबहादुर भण्डारी नेपाल टेलिभिजन सम्वाददाता
नेत्रबहादुर शाही गोरखापत्र, उज्यालो नेटवर्क समाचारदाता
उपेन्द्रप्रसाद न्यौपाने रासस, रातोपाटी सम्वाददाता
मानदत्त रावल रासस, नयाँ पत्रिका, हेल्थ आवाज सम्वाददाता
सागर परियार रेडियो नेपाल, कारोवार राष्ट्रिय दैनिक सम्वाददाता
दिलमाया शाही थाहाँ खबर, महिला जागरण अनलाईन समाचारदाता÷प्रमुख
बिजय रावत रासस, हिमालय टाईम्स, कर्णाली सरोकार दैनिक सम्वाददाता
हस्त बुढा कणाली पोष्ट दैनिक सम्वाददाता
वोधार्थ ः
१. राष्ट्रिय सूचना आयोग काठमाण्डौं ।
२. जिल्ला प्रशासन कार्यालय जुम्ला ।
३. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ ।

प्रतिकृया दिनुहोस्