OnlinePana

आज : २०८२ साउन ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २, २०८२
२३ पटक

१ साउन २०८२, बिहीबार

 

कर्णालीको विशेष मौलिक पर्वका रुपमा लिने गरिन्छ साउने सक्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चीजको बिसर्जन गर्ने बिम्बका रुपमा लुतो फाल्ने परम्परा मूलतः माथिल्लो कर्णालीका जिल्लाहरुमा विद्यमान छ ।

साउने सक्रान्ति लुतो फाल्ने दिन मात्र नभएर देउडा पर्वका रुपमा पनि कर्णालीमा भव्य रुपमा मनाइने पर्व हो । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा आफ्ना सम्मुखका छिमेकीहरुलाई असभ्य शब्दले गाली गरेर मनाईने अनौठो पर्वलाई पछिल्लो समयमा केही हदसम्म सभ्य ढंगले मनाउन थालिएको छ ।

पाँच वर्ष यता यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा समेत राँको बाल्ने, साथी संगीहरु मिलेर देउडा खेल्ने, सुख दुःख साटासाट गर्ने र सेवाभावका काम गरेर सम्पन्न गरिँदै आएको छ । बिहीबार जुम्ली एकता सेवा समाजको सहकार्यमा सिंजा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा सुर्खेत वीरेन्द्रनगरको खुला मञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, शिक्षाप्रेमी, बुद्धिजीवि र स्थानीय नागरिकहरुको सहभागिता तथा प्रहरी प्रशासनको समन्वयमा साउने संक्रान्ति सम्पन्न गरिएको छ ।

सामाजिक बेथिति, विकृति र भ्रष्ट कार्य निराकरणको प्रेरकका रुपमा लिइने यस पर्वले सामािजक सद्भाव, आपसी मेलमिलाप तथा भाईचारा सम्बन्ध कायम गर्दै आएको कर्णालीका संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो साउने संक्रान्ति पर्व नेपालभरि नै मनाइन्छ । यसमा कण्डारकको लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमूलो, जडीबुटी, फलफूल र गेडागुडी आदि मिसाएर एउटा उल्का (राँको) बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन रहिआएको छ ।

जुम्लामा त्यो बाहेक थप तीनवटा कुरा गरिँदै आएको बताउँदै उहाँले भन्नुभयो, आजको दिन जुम्लामा धेरै उज्यालो हुन्छ । सर्वत्र हरेक घरमा १२–१५ वटा राँका बालिन्छन् । सारा गाउँ उज्यालो हुन्छ, वारिपारि सब देखिन्छ । यसरी राँको बाल्ने र फाल्ने चलन छ । एउटा वल्लो गाउँकाले पल्लो गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्, ’ए फलाना गाउँका, लुतो लैजा, पाब्डो (सडेको चीज) लैजा, हिलाउने, चिलाउँने बिझाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउति सब लैजा’ भनेर भन्ने, पुकार्ने चलन छ । यो एउटा आपसी मनोविनोद, हाँसोठट्टा र खेलठट्टाको कुरा पनि हो ।

सिंजा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र यहाँको मौलिक पर्व साउने संक्रान्तिबीच अन्तरसम्बन्ध रहेकोले एक साथ मनाइएको बताउनुभयो । जुम्ला एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले मौलिक संस्कृति र परम्पराको संरक्षणले हरेक भेक क्षेत्र र समुदायको पहिचान कायम भइरहने बताउनुभयो ।

देउडा गायिका सुनसरा शाहीले देउडा सुख दुःखका व्यथा ओकल्ने मात्र नभई समाजमा भएका बेथिति, विकृति, विसंगति र अनियमितताको आवाज भएको बताउनुभयो । सबै खाले कुराको संगम र मूल स्रोत देउडा भएकोले यसको संरक्षण तथा विकासका लागि राज्यले उच्च प्राथमिकता राखेर काम गर्नुपर्ने उहाँले सुझाउनुभयो । करिब पाँच हजार सर्वसाधारण सम्मिलित रहेको सुर्खेतमा मौलिक देउडा र साँस्कृतिक पर्व साउने संक्रान्ति देउडा खेल्दै लुतो फालेर सम्पन्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्