OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १२, २०८१ सुर्खेत
४३ पटक

 १२ भदौ २०८१, बुधबार

भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याउने गरी सञ्चालनमा आएको भेरी पम्पिङ उप–आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीले पाएको छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर परियोजना कार्यान्वयन ईकाई सुर्खेत र झेजियाङ टिम ईन्टरनेश्नल ईकोनोमिक एण्ड टेक्निकल कोअपरेसन निङ्बो चाइना कम्पनी लिमिटेड बीच उक्त आयोजना निर्माणका लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ईकाईका तर्फबाट प्रमुख सञ्जीवकुमार शाह र कम्पनी लिमिटेडका तर्फबाट आधिकारिक प्रतितिनिध सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख मोहनमाया ढकाले संघीयता अभ्यासको पहिलो नमूना आयोजना भेरी पम्पिङ आयोजना भएको बताउनुभयो । प्रमुख ढकालले विश्व बैंकले नेपालको खानेपानीमा लगानी गरेको मेलम्ची पछिको लिफ्टिङ प्रविधिको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएको जिकिर गर्नुभयो ।

सबै क्षेत्र र पक्षलाई एकै ठाउँमा उभिएर यसको निर्माण कार्य सम्पन्न गर्न सहयोग पुर्याउन अपिल गर्छु । भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको उहाँले तीन तहका सरकारको स्वामित्वमा अगाडि बढेको यो परियोजनालाई सबैको सहयोगबाट निर्धारित समयमा सम्पन्न हुने विश्वास बताउनुभयो ।

तीन वर्षसम्म पहिलो चरणको काम सक्नेगरी कामको जिम्मा पाएको चिनिया कम्पनीले सातवटा निर्माण कम्पनीलाई पछि पार्दै छनोट भएको ईकाई प्रमुख साहले बताउनुभयो । सम्झौताअनुसार निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

आयोजना छ पालिकामा लागु हुने भन्दै कार्यान्वयनको सुरुआत वीरेन्द्रनगर नगरपालिकाबाट हुने र यसले प्रति सेकेण्ड पाँच सय ६० मिलिमिटर पानी आउने बताउनुभयो । सुर्खेत उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणि देवकोटाले धरै लामो प्रतिक्षापछि आयोजनाको काम शुरु भएको भन्दै अबको तीन वर्षभित्र नगरवासीले स्वच्छ पानी पिउन पाउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजनाको ठेक्का पाएको चिनिया कम्पनीका सुशीलकुमार श्रेष्ठले तोकिएकै समयमा अयोजना सम्पन्न हुने प्रतिवद्धता जनाउनुभयो । आयोजनाका लागि ७० प्रतिशत सङ्घीय सरकार, तीस प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ । विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई रु.छ अर्ब अनुदान दिएको हो । जस अन्तरगत पहिलो चरणमा रु.तीन अर्बको काम हुनेछ ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आँकलन गरेर खानेपानी आयोजना बनाइएको हो । भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर ११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्याङ्की निर्माण गरिने छ ।

पहिलो चरणका कामहरुमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछन् । यस लागि तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार हुँदा रु.तीन अर्ब लागत लाग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्