OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०८१सुर्खेत
३३ पटक

 

५ बैशाख २०८१, मंगलबार

यही चैत्र २८ गते पाठेघरको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी आठबीस नगरपालिका ५ दैलेख पिपलकोट निवासी २२ वर्षीय भिमा गुरुङको शल्यक्रियापछि मृत्यु भयो । मृत्यु भएको नौ दिनसम्म पनि परिवारले लास बुझेका छैनन । चिकित्सको लापरवाहीका कारण उनको मृत्यु हुँदापनि राखिएक माग पुर्ति नगरेको भन्दै पीडित परिवार लास नबुझेरै घर फर्केको छ ।

मृतक गुरुङ सामान्य पेट दुःखाईसम्बन्धी समस्या लिएर उपचारका लागि चैत २८ गते प्रदेश अस्पताल सुर्खेत पुगेकी थिईन् । मृतकका आफन्त कृष्णबहादुर गुरुङ्का अनुसार प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाई गर्नुपर्ने भनी भर्ना गरिएको थियो । २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले केस सामान्य भएकोले चिन्ता लिनु नपर्ने सुझाउँदै शल्यक्रिया कक्षमा लिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सोही दिन अपरान्ह तीन बज्न १० मिनेट अगाडिसम्म सबै ठिकै छ भनेर रगत चढाइरहेकोमा एक्कासी ३ बजेतिर तपाईँको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केहि समयपछि मृत्यु भएको जानकारी गराइयो । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नगराइनु र डाक्टरहरुको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भिर त्रुटी र लापरवाहीका कारण गुरुङको मृत्यु भएको ठहर हुन्छ ।”

भिमाको मृत्युका कारण आक्रोशित आफन्तले आफ्ना मागसहित अस्पतालमा एकसाता देखि आन्दोलन गर्दै आएका थिए । सो क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौंमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिनुभएको थियो । पीडित पक्षले भने केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई कुनै जानकारी नगराइएको आरोप लगाएका छन् ।

पीडित परिवारले केश गम्भीर एवं जटिल हुँदा स्त्री रोगसम्बन्धी सिनियर डाक्टरहरु उपचारमा किन संलग्न हुन सकेनन् ? निर्देशक खड्का स्वयंले किन त्यस्तो जटिल केसमा चासो दिनु भएन ? भन्दै प्रश्न गरेका छन् । उनीहरुले निर्देशक खड्का नीजि अस्पताल सञ्चालक भएकोले आफ्नै नीजि अस्पताल र क्लिनिकप्रति बढि चासो दिएकोले भिमाले मृत्युवरण गरेको समेत दोषारोपण गरेका छन् ।”

अस्पतालको चरम लापरवाहीका कारण आठ महिने दुधे बालिकाको बेहाल भएको भन्दै उनीहरुले गुरुङ मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतकका श्रीमान् नवराज बलामी मगरले बताउनुभयो । उहाँका अनुसार बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्य मध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको सुनिश्चितता र घटनाको उच्च स्तरीय छानविन समिति गठनको माग राख्दै आठ दिनसम्म शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गरिएको थियो ।

आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितहरुको मागमा गाम्भीर्यता नदेखाएपछि उनीहरु नौ दिनमा लास नबुझेरै घर फर्केका छन् । यो घटनामा नेपाल सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन् ।

अस्पतालनका निर्देशक डा.खड्काले घटनामा चिकित्सकको कुनै लापरवाही नभई केस जटिल खालको भएकोले बचाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा परिवार र डाक्टरहरु सबैको ठूलो प्रयास थियो । बिरामीलाई कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने गरी नै हामीले काम गर्दछौं तथापि बचाउन सकिएन । सानो बच्चाको अवस्थालाई हेरेर आफूले व्यक्तिगत सहयोग गर्ने र एक जनलाई रोजगारीका लागि वचन दिएको उहाँको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पीडितसँग बसेर उनीहरुको समस्या दुई÷तीन दिनमै समाधान गरिने बताउनुभयो । उहाँका अनुसार अस्पताल र पीडित पक्ष दुवैलाई बसालेर समस्याको शीघ्र समाधान गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्