OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २८, २०८०सुर्खेत
३६ पटक

२७ चैत २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दलका नेताहरुको समर्थनमा मुख्यमन्त्री हुनुभएका कँडेल कर्णाली प्रदेश सरकारको चौथो मुख्यमन्त्री बन्नुभएको छ ।

विसं.२०७४ को प्रदेशसभा निर्वाचनमा विजयी भएपश्चात् प्रदेशसभाको पहिलो पार्टीका हिसाबले मुख्यमन्त्री बन्ने सपना देख्नुभएका उहाँले पार्टी एकताका कारण आफ्नै समर्थनमा नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीलाई समर्थन गर्नुभएको थियो । मुख्यमन्त्री बन्ने व्यग्र सोचकै कारण विसं.२०७९ सालमा पनि प्रदेशसभा निर्वाचन लडेर विजयी हुनुभयो ।

यसपटक भने नेकपा एमाले तेस्रो दलमा खुम्चियो । माओवादी ठूलो पार्टी बन्यो । विसं.२०७९ मा पनि केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रबीचको राष्ट्रिय समीकरण हुँदा फेरी पनि कर्णालीमा पाँच वर्ष माओवादीलाई नै दिने गरी निर्देशन भयो । केन्द्रमा उक्त सहमति हुँदा उहाँले त्यो मान्नुभएन र कर्णालीमा ढाई÷ढाई वर्ष दुवै पार्टीले सरकारको नेतृत्व हुने गरी सहमति भयो ।

उक्त सहमतिपछि माओवादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभयो तर उहाँ मुख्यमन्त्री भएको ७५ दिनपछि एमालेसँगको समीकरण टुट्यो । नेपाली काँग्रेससँग गठबन्धन भएको करिब दश महिनापछि पुनः एमालेसँगको माओवादी गठबन्धन कायम भयो । करिब छ वर्षको लामो कसरतपछि मुख्यमन्त्री नियुक्त भएसँगै अब भने नेता कँडेललाई कर्णाली सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

को हुन् मुख्यमन्त्री कँडेल ?

विसं.२०१८ कात्तिक २५ गते भाइटिकाको दिन दैलेख जिल्लाको गाईबान्ना (हालको गुराँस गाउँपालिका दैलेखमा जन्मनुभएका मुख्यमन्त्री कँडेल हाल वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थान निवासी हुनुहुन्छ । बुबा मनिराम र स्वर्गीय आमा भागिरथी कँडेलका माईला छोराका रुपमा उहाँ मध्यम परिवारमा जन्मनुभएको थियो । अहिले भने उहाँका साथमा एक पत्नीसहित तीन छोरीहरु छन् ।

मुख्यमन्त्री कँडेलले त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक गर्नुभएको छ । आफ्नो निर्णय र वचनप्रति प्रतिवद्ध कँडेल हक्की स्वभावका मानिनुहुन्छ । प्रस्ट र खरो विचार एवं धारणा प्रकट गर्ने भएकोले उहाँलाई एमाले पार्टी राजनीतिमा विद्रोही स्वभावले चिन्ने गरिन्छ ।

राजनीतिक यात्रा

विसं.२०३६ सालमा सुर्खेतको दशरथपुरमा पञ्चायती शासकविरुद्ध किसान आन्दोलन गर्नुभएका मुख्यमन्त्री कँडेलले त्यसैको प्रेरणाबाट राजनीति जीवन सक्रिय हुनुभएको थियो । त्यतिबेला उहाँ हालको शिखर मावि रामघाट सुर्खेतमा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।

विसं.२०३९–०४३ सालसम्म अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गर्नुभएका उहाँ महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव हुदै अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सदस्य बन्नुभएको थियो ।

विसं.२०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाडौंको भद्रगोल जेलघरमा नौ महिना जेलजीवन बिताएपछि मुख्यमन्त्री कँडेल विसं.२०४३ देखि २०४६ सम्म नेकपा (एमाले) काठमाडौंको विद्यार्थी फाँटको काममा सक्रिय कमिटी सदस्य हुंदै कार्यवाहक सचिवसम्म जिम्मेवारी जिम्मेवारी सम्हाल्नुभयो ।

विसं.२०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित हुनुभएका उहाँ प्रजातन्त्र स्थापनापछि २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

विसं.२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको थियो । २०५२ सालमा नेकपा (एमाले) भेरी अञ्चल सचिव निर्वाचित हुनुभएका उहाँ २०५४ सालमा (३६ वर्षको उमेरमा) नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री बन्नुभयो ।

विसं.२०६२÷२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनमा सहभागी भई आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार, सुर्खेत कारागारमा ३ महिना जेल जीवन बिताउनुभयो भने ०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

पार्टीको नवौं महाधिवेशबाट केन्द्रीय सदस्य हुदैं पोलिटब्यूरो सदस्यमा निर्वाचित हुनुभएको मुख्यमन्त्री कँडेल तत्कालिन भेरी अञ्चल इन्चार्ज हुदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक, ०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदुरपश्चिम प्रदेशमा मिसिएपछि छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाइ गर्नुभएको थियो ।

त्यसैगरी, २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित एवं प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेता, २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशांै महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका र हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज हुनुहुन्छ ।

विसं.२०७९ सालमा सुर्खेत निर्वाचन क्षेत्र नं.२ प्रदेशसभा सदस्य निर्वाचन (क) बाट पुनः कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा अमेरिका, क्यानाडा, चीन, श्रीलंका, बेलायत, टर्कीलगायतका देशहरुमा भ्रमण गरिसक्नुभएका उहाँले छ वर्षको पर्खाईपछि यतिबेला कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मा प्राप्त गर्नुभएको छ । जुन उहाँका लागि चुनौति र अवसर दुवै हुने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्