OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १०, २०८०सुर्खेत
८९ पटक

१० चैत २०८०, शनिबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘परागसेचक रणनीति’ निर्माण गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा वीरेन्द्रनगर सुर्खेतमा संयुक्त आयोजित दुई दिने कार्यशालामार्फत ‘परागसेचक रणनीति’ निर्माण गरिएको हो । आज सम्पन्न कार्यशालामा बोल्दै कृषिमन्त्री भीमप्रकाश शर्माले रणनीति निर्माण कार्यले कर्णाली प्रदेश सरकारको प्राङगारिक प्रदेश बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लि–बर्डसहित साझेदार निकाय, प्राध्यापक, विषय विज्ञ, कर्मचारीसहित सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहभागितामा ‘परागसेचक रणनीति’ बनेको छ । यसको कार्यान्वयनका लागि ठोस कार्यक्रम सरकारले बनाएर अगाडि बढ्छ ।” मानव जीवनका लागि कृषि अनिवार्य भएको जनाउँदै कृषिमन्त्री शर्माले रणनीतिले मौरीलगायत परागसेचकको संरक्षण र उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले रणनीतिले परागसेचक क्षेत्र, यसले विभिन्न बालीमा पुर्याएको योगदान,, संरक्षण, प्रवद्र्धन र उपयोगमा समेत सहयोग पुग्ने बताउनुभयो । “रणनीतिले अत्यधिक महत्व बोकेको छ,” उहाँले भन्नुभयो, “यसले यहाँको पारिस्थितिकीय प्रणाली तथा जैविक विविधता र बाली विविधिकरण गर्न तथा किराजन्य परागसेचकको पालन तथा संरक्षणमा सहयोग पुग्ने सचिव घिमिरेले बताउनुभयो ।

‘परागसेचक रणनीति’ निर्माणसँगै कर्णालीमा मौरी विकास कार्यालय स्थापनाका लागि आजै चारपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत, व्यवसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर, मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र कृषि तथा वन विश्वविद्यालय रामपुरबीच कार्यालय स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सचिव डा.नरहरिप्रसाद घिमिरे, व्यवसायिक किट विकास केन्द्रको तर्फबाट केन्द्र प्रमुख भोजराज सापकोटा, मप विश्वविद्यालयको तर्फबाट उपकुलपति प्राडा.केशरसिंह राना, र कृषि तथा वन विश्वविद्यालयको तर्फबाट प्राडा.पूण्यप्रसाद रेग्मीले हस्तारक्षर गर्नुभएको छ । समझदारी अनुसार मन्त्रालयले कर्णाली प्रदेशमा मौरी विकास कार्यालय स्थापनाका लागि उपयुक्त स्थानाको छनोट तथा जग्गा प्राप्तिलगायतका कार्यहरुमा पहल गर्नेछ ।

व्यवसायिक किट विकास केन्द्रले कार्यालय स्थापनाका लागि पूर्वाधार निर्माणलगायतका कार्यहरु गर्न संघीय सशर्त अनुदान उपलब्ध गराउन आवश्यक पहल गर्नुपर्नेछ । त्यस्तै, मप विश्वविद्यालयले कार्यालयको जग्गा प्राप्तिका कार्यमा मन्त्रालयसँग आवश्यक सहकार्य गर्ने र कृषि तथा वन विश्वविद्यालयले विषय विज्ञ प्राध्यापकमार्फत भएका स्थानीय प्रजातिका मौरी सम्बन्धी अध्ययन अनुसन्धानका कार्यमा मन्त्रालयसँग सहकार्य गर्नुका साथै विश्वविद्यालयमा परागसेचक ज्ञान डबली सञ्चालन गर्ने समझदारी भएको छ ।

नेपालको कृषि प्रणालीमा दीगो परागसेचन व्यवस्थापन परियोजनाअन्तरगत ‘परागसेचक रणनीति’ निर्माण कार्यशालामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञान विभाग काठमाडौ, कृषि तथा वन विश्वविद्यालय भरतपुर, ब्रिस्टोल विश्वविद्यालय, हर्ड इन्टरनेश्नल र डार्विन इनिसियटिभलगायतका संस्था तथा मौरीपालक कृषक, पर्यावरण तथा प्राणी विज्ञसहितका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्