OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०८०सुर्खेत
२७८ पटक

१२ माघ २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलालाई लक्षित गरी ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढाएको छ ।

नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि लगत संकलन गर्न कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यस अघि रुकुमपश्चिम र पश्चिम सुर्खेतको चौकुने तथा शुक्रबार वीरेन्द्रनगरका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेको छ । रुकुमपश्चिम स्वास्थ्य परीक्षण कार्य सुरु गरेको निर्देशनालयले सुर्खेत पश्चिममा पर्ने चौकुने गाउँपालिकाको एक नम्बर वडामा ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गरिसकेको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत मुख्य बजारमा यही माघ १७ गतेदेखि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । नसर्ने रोगको समयमा नै निदान, रोकथाम र प्रेषणगरी त्यसबाट हुनसक्ने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण तथा सेवाग्राहीलाई आवश्यक परामर्श उपलब्ध गराउने उद्देश्यले अभियान थालिएको उहाँले बताउनुभयो ।

“समुदायस्तरमा नसर्ने रोगहरु सम्बन्धी सचेतना अभिवृद्धि गरी जोखिम एवम् जटिलता न्यूनीकरणमा समेत यो अभियानले सहयोग गर्नेछ,” निर्देशक खड्काले भन्नुभयो, “यसबाट रोग लाग्ने तथा मृत्यु हुने दर कम हुने र व्यक्तिगत रुपमा स्वास्थ्य उपचारमा कम खर्च हुने अपेक्षा गरेका छौं । अभियानमा ५५ वर्ष माथिका नागरिकहरुको उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी रोगको परीक्षण गरिने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा.भोजराज शर्मा काफ्लेले सबैभन्दा दुर्गम चौकुने गाउँपालिका १ सुर्खेतका ५५ वर्ष माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्दा अपेक्षा गरेको भन्दा बढी रोगी देखिएको बताउनुभयो । अब सुगम वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण हुने उहाँले जनाउनुभयो ।

चौकुनेमा शैक्षिक, आर्थिक र स्वास्थ्यका हिसाबले कमजोर तर बढी आफ्नै उब्जनी खाने नागरिक र वीरेन्द्रनगरमा सम्पन्न तर धेरै मात्रामा किनेर खाने नागरिकहरुको बसाई छ,” उहाँले भन्नुभयो, “उनीहरुको स्वास्थ्यमा के अन्तर छ भन्ने अध्ययन तथा खोज यो अभियानले गर्नेछ ।” सरकारको सीमित स्रोत साधनले ५५ वर्षमाथिकालाई मात्र स्वास्थ्य परीक्षण गरिएको डा.काफ्लेको भनाई थियो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.शक्तिप्रसाद सुवेदी यो कार्यक्रमको सुरुवाती चरण भएकोले अहिले ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षणलाई लक्षित बनाईएको बताउनुभयो । निर्देशक डा.सुवेदीका अनुसार उच्च रक्तचाप भएका बिरामीहरुको मिर्गौलाको अवस्था र मधुमेहको रोग परीक्षणमा सरकारले विशेष जोड दिनेछ । नसर्ने रोगका बिरामीलाई सरकारले केही औषधि निःशुल्क उपलब्ध गराउनेछ ।

निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरणकुमार शर्मा नेपालमा वयस्क जनसंख्याको २५ प्रतिशतमा उच्च रक्तचाप हुँदा कर्णालीमा २१ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “नसर्ने रोगहरुमा ३० प्रतिशत मुटु रोग, अन्य नसर्ने रोग १३, घातक स्वासप्रश्वास रोग १०, क्यान्सर नौ र मधुमेहबाट चार गरी ६६ प्रशितशत मानिसको मृत्यु नेपालमा भइरहेको छ । कर्णालीमा नसर्ने रोगबाट मृत्यु हुनेको मृत्युदर ७०–८० प्रतिशत रहेको उहाँले जनाउनुभयो ।

अस्वस्थकर जीवनशैली र जोखिमपूर्ण व्यवहारका कारण नसर्ने रोगको उच्च जोखिमबाट विश्वमा ७१ र निम्न तथा मध्यम आय भएका देशहरु ८६ र नेपालमा ७० प्रतिशत मानिसहरुको मृत्यु भइरहेको निरीक्षक शर्माले बताउनुभयो । उहाँका अनुसार नसर्ने रोगको प्रकोपबाट जानकारी लिएर भावी दिनमा त्यसको उपचार तथा रोकथामका लागि सबै सरोकारवालाहरु सँगसगै भएर अभियान सम्पन्न गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस्