

२ मंसिर २०८० शनिबार
कार्तिक १७ गतेको सुनसान रात जतिबेला ११ बजेर ४७ मिनेट गएको रहेछ । मस्त निद्रामा परेको मलाई एक्कासी घर झक्याक्झुकुक् भएको अभास भयो । एकाएक घरका छत र पर्खाल ढल्न थालेपछि हतपत उठेर ढोकातिर हानिए । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको बेजोड झट्काले घर भत्कँदै गयो ।
अन्त्यमा, म उभिएको ढोकाको पर्खाल गल्र्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छत खस्न पाएन । त्यस अघि नै छत खसिसकेको थियो । पर्खालका ढुंगासँग ठोकिएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घरहरु पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकीहरु बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यतिबेला म उठिसकेको थिए ।
जाजरकोट कुशे गाउँपालिका घर भई सदरमुकाम खलंगास्थित भेरी नगरपालिकाकाे माथिल्लो थाप्लेमा बस्दै आउनु भएका दिनेश सिंह विनासकारी भूकम्पबाट धेरैले ज्यान गुमाउँदा आफू भाग्यले बाँचेको बताउनुहुन्छ । “मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा नि म सकुशल रहेँ,” उहाँले भन्नुभयो, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन ।”
दुई छोरा छोरी काठमाडौं भएको र सोहीदिन श्रीमती लाइसेन्सको परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला । आफै भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौं ।”
हात र टाउको चोट लागे पनि अवस्था गम्भीर नभएको उहाँले बताउनुभयो । श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका ५ खुर्पा जाजजरकोटका प्रधानाध्यापक समेत रहनुभएका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ । उहाँजस्तै सदरमुमकाम खलंगासहित सिंगो जाजरकोटका भूकम्पपीडितहरु त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन् । उहाँका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ । सरकारले प्रतिपरिवार ठूलो आकारको दुईवटा त्रिपाल आवश्यक छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीमबहादुर सिंहले उक्त भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासु आमा गुमाउनुभयो । भूकम्पले ज्यान गुमाएका, घाईते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबै नागरिकहरुको घर चर्केर भित्र बस्ने अवस्था नभएकोले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोख्नुभयो । “हामी लेक नजिक भएकोले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौं,” उहाँले भन्नुभयो, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकोले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुपर्यो ।”
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ पाल आवश्यक भएको जनाउनुभयो । नगरप्रमुख घर्तीका अनुसार प्रति परिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति हामीले प्रदेश तथा संघ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय गरिरहेका छौं ।
कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाईते भए । यता रुकुमपश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाईते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कमा छ ।