OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०८०सुर्खेत
२१२ पटक

२७ कार्तिक २०८० सोमबार

नेपालीहरुको दोस्रो महान् पर्व तिहार (दीपावली)को रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसी भैली खेल्नेहरु घर आँगनमा आएर आ–आफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यहरुले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जिल्लाका नागरिकहरुको दुःख र त्रास दुवै उस्तै छ ।

चिसो सिरेठोमा खुला आकाशमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितहरुले सामान्यतया दशैं मानेपनि यही कार्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिनहरु कष्टकर तरिकाले ब्यतित भइरहेका छन् ।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक देशका अन्य सहरका नागरिकहरु जस्तो हर्षोल्लासका साथ यो वर्षको दिपावली मनाउन सक्ने अवस्थामा छैनन् । जाडोको समयमा खुला आकाशमुनिको बासले उनीहरुलाई रात कटाउन निकै धौ–धौ हुने गर्दछ तथापि पालमुनि भएपनि बत्ती बालेर दीपावली सुरु भएको पहिचान भने उनीहरुले दिन छोडेका छैनन् ।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो । यद्यपि यसबाट सिंगो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।

कार्तिक १८ गतेबाट जाजरकोट जिल्लाका सातै स्थानीय तहका नागरिकहरु खुला आकाशमा बिताईरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पालमुनि हो । दशै घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भएपनि पालमुनि बस्न बाध्य छन् ।

सहर तथा गाउँमै पक्की घर भएका नगरिकहरुका घरआँगन रंगौलीले सजिरहँदा भने भूकम्पपीडितहरुले आईतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे । जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दिपावली गरेको तस्वीर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ । जुन तस्वीर जाजरकोटकै स्वास्थ्यकर्मी महेन्द्र थापाले खिच्नुभएको थियो ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितहरुलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “नमरुञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर घरभित्रै बसेर सपरिवार आनन्द साथ मनाउने अवसर भूकम्पका कारण गुमेको छ ।”

भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन निराकार (समस्या) भएको बताउनुभयो । “तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घर टहरा हालिदिएको भए हुन्थ्यो,” सिंहले भन्नुभयो, “तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला । एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्यो ।”

जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरी भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिनुभयो । भूकम्पबाट बास खोसिएकाहरुको जीवन रक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःर्मिाणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्