OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २५, २०८०काठमाडौं
१९२ पटक

२५ असोज २०८०, बिहीबार

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रहरीले ल्याएको ‘लागु औषधविरुद्ध लालटिन अभियान’ उद्घाटन गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लागु औषधविरुद्ध लालटिन अभियान’ लालटिन बालेर उद्घाटन गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले समाजमा विकराल रोगको रुपमा फैलिँदै गएको लागु औषध दुव्र्यसनी रोक्न थालिएको अभियानमा सबै सरोकारवालाहरु जुट्न अनुरोध गर्नुभयो ।

गत बैशाख १ गते आरम्भ गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ र यस अन्तरगत शुभारम्भ गरिएका कार्यक्रमको समग्र अभियान देशकै लागि रोलमोडल बनेको छ,” उहाँले भन्नुभयो, “यसको नियन्त्रण तथा रोकथामका लागि हामी सबैको साझा संकल्प आवश्यक छ । कर्णाली प्रदेशको यो अभियानले मुलुककै नेतृत्व गरिरहेको छ ।”

अपराधीले गर्ने व्यवसायलाई पूर्णरुपमा निरुत्साहित गर्न ‘लागु औषधविरुद्ध लालटिन अभियान’को सघन कार्यान्वयन आवश्यक रहेको भन्दै रक्षामन्त्री खड्काले यसमा सबै सरोकारवालाहरुको साथ सहयोग आवश्यक रहेको जनाउनुभयो । “सुरक्षित कर्णाली विशेष अभियान’अन्तरगत बिहीबार ‘पीडित सहायता कार्यक्रम’समेत शुभारम्भ गरिएको जनाउँदै उहाँले लागु औषध नियन्त्रणमा तीनै तहका सरकारहरुको सहकार्य अनिवार्य शर्त हो भन्नुभयो ।

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख निलकण्ठ खनालले प्रदेश प्रहरीले थालेको अभियान यहाँका नागरिकहरुको सामाजिक सुरक्षा तथा समुचित भविश्यक निर्माणका लागि भएको विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार लागु औषधको सबैभन्दा ठूलो समस्या प्रदेश राजधानी वीरेन्द्रनगरमा भएकोले प्रहरीले थालेको अभियानमा नगरपालिका साथ दिने बताउनुभयो ।

कर्णाली प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीको शान्ति सुरक्षालाई ध्यानमा राखेर थालिएको “सुरक्षित कर्णाली विशेष अभियान’ अन्तरगत १४ कार्यक्षेत्र छुट्याएर १८ कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । लागु औषध अपराध मात्र नभई यो समाजको विकराल समस्या भएको कुरा व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ढकालले नागरिकमैत्री प्रहरी व्यवहारलाई अनुभूति हुनेगरी काम गर्न अभियान थालिएको बताउनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, सुर्खेत जिल्लास्थित सबै पालिकाका प्रमुख÷अध्यक्ष, प्रदेश सरकारका निमित्त प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवा, अधिकारवादी, युवा, विद्यार्थी, पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्