OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहभाद्र ५, २०८०काठमाडाैं
२६९ पटक

५ भदौ २०८०, मंगलबार

सल्यानका तरकारी कृषकहरु डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । कपुरकोटमा तरकारी कृषकहरुको निकै ठूलो भिड थियो । उता पसलेहरु उपभोक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो दैनिकीलाई निरन्तरता दिएका उनीहरु आज पनि आफ्नै कर्ममा व्यस्त थिए । यद्यपि अन्य दिनको भन्दा आजको दृश्य अलि फरक थियो ।

उपभोक्तालाई तरकारी बेच्न तम्सिएका उनीहरुको पसलमा एकाबिहानै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा हाटबजारमा पुगेपछि तरकारी कृषक तथा व्यापारीहरु आश्चर्य चकित परे । मन्त्रीसहित प्रदेश सरकारका सचिवहरु ५ः३० बजे त्यहाँ पुगेका थिए । कर्णाली प्रदेशको प्रमुख नाका मध्यको एक कपुरकोट हाटबजारको मन्त्री शर्मा नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गर्यो ।

कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातको महत्वपूर्ण केन्द्र मानिने कपुरकोट हाटबजारलाई व्यवस्थित बनाउन र त्यहाँ देखिएका समस्या एवं किसानका गुनासो लिन त्यहाँ पुगेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानै हाटबजारको अवस्था हेरियो । उक्त हाटबजारले गएको दुई महिनामा रु.११ करोड ११ लाख ५० हजार दुईसय ९६ बराबरको तरकारी कारोबार गरेको रहेछ ।”

अनुगमनपश्चात् उनीहरुले हाटबजार व्यवस्थापन समिति, तरकारी कृषक तथा व्यापारीहरुसँग साक्षात्कारसहित अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा समितिका सदस्य, तरकारी कृषकहरुले उत्पादित कृषि उपजलाई अर्गानिकतर्फ लैजान तथा ती वस्तुलाई रसायन तथा विषादीमुक्त बनाउन सरकारको ध्यानाकर्षण गरे । समितिका अध्यक्ष तिलक शर्माले ठूलो परिमाणमा तरकारी संकलन तथा निर्यात हुने कपुरकोट हाटबजारमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला प्रदेश सरकारले निर्माण गनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “कपुरकोटको तरकारी अहिले पूर्व बुटवल र पश्चिम महेन्द्रनगरसम्म पुगेको छ । पछिल्लो समयमा भारतको लखनउ र कानपुरसम्म टमाटर पुगेकोले यसको महत्व बढ्दै गएको छ । सल्यानको सबै तरकारीलाई कपुरकोट ब्राण्ड बनाउँदै छौं ।” अब कपुरकोटलाई सल्यान जिल्ला कृषकहरुको उत्पादित तरकारीबाट बिचौलियाले फाइदा नउठाओस् भनेर समिति कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार व्यापारी र चुलोसम्मको दूरी कम गर्न किसानहरुलाई नै सिधै बजार जोडिने छ । कृषि एमबलेन्सका लागि संघ र प्रदेश सरकारबाट केही सहयोग भएको छ । अहिले कपुरकोट हाटबजारबाट गोलभेडा, प्याज, बन्दा, आलु, अदुवा, काउली, भेडे खुर्सानी, बेसार, भन्टा, लौका, चिचिण्डा, बडी, सिमी, फर्सी, काक्रालगायत तरकारीहरु बाहिर पठाउने गरिएको छ ।

कपुरकोट गाउँपालिका निवासी कृषक दिलमाया घर्तीले सरकारले बीउबिजन र मल समय उपलब्ध गर्न आग्रह गर्नुभयो । सरकारले एकाबिहानै आफुकहाँ पुगेर समस्या तथा गुनासो सुनेको खुशी व्यक्त गर्दै उहाँले विषादीको प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नसमेत सुझाउनुभयो । सोही गाउँपालिका निवासी कृषक ललित ओलीले ऋतु अनुसार मात्र नभई बाह्रै महिना तरकारी उत्पादन हुने प्रविधि र सीप दिन सरकारलाई आग्रह गर्नुभयो ।

किसानहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारसम्म लैजाने बाटोको अवस्था बुझ्न तथा व्यवसायीहरुको समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव विष्णु भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद कोइराला, कानून सचिव शंकरबहादुर केसी, कृषि सचिव डा.नरहरिप्रसाद घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विनोदप्रसाद देवकोटालगायत अनुगमन तथा अवलोकनमा सहभागी हुनुभएको थियो ।

यता मन्त्री शर्माले न्यूनतम समर्थन मूल्य तथा हाटबजार व्यवस्थापनमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको बताउँदै विषादी परीक्षण प्रयोगशाला निर्माणमा सरकारको सहयोग रहने जनाउनुभयो । मन्त्रालयअन्तरगत जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट कृषि तथा पशुपन्छी विकास कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण सुझाव संकलन गर्नुका साथै अनुगमन तथा अवलोकन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्