OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहसाउन २१, २०८०काठमाडौं
८६२ पटक

२१ साउन २०८०, आइतबार

विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका नेपाली विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र लिन निकै हैरानी खेप्नु परेका समाचार व्यापकरुपमा आइरहेकै छन् । विदेशबाट लिएको उच्च शिक्षाको समक्षकता त्रिविबाट पाउन फलामको च्यूरा चपाउनु जत्तिकै अनुभूति ती विद्यार्थीहरुले गरिरहेका छन् ।

उच्च शिक्षा लिएर नेपालमै सेवा दिने लक्ष्य बोकेका उनीहरुले त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाणपत्र लिन ठूलो संघर्ष गरेपनि सजिलै प्रमाणपत्र पाउने अवस्था आजका दिनसम्म पनि नभएको उनीहरुले दुखेसो पोखेका छन् । यसले गर्दा चिकित्सा क्षेत्रलगायत अन्य विषयमा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका नेपाली विद्यार्थीहरु आफ्नो देश छोड्न बाध्य छन् ।

सम्वद्ध निकायले गर्ने व्यवहारका कारण देश बाहिरबाट उच्च शिक्षा हाँसिल गरेको साधारण तथा प्राविधिक दक्ष जनशक्ति पुनः बाहिरिने क्रम पनि बढ्दै गएको पाइन्छ । समकक्षता प्राप्त गर्न नसकेका पीडित विद्यार्थीहरुका अनुसार विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गरेका विद्यार्थीलाई समक्षकता प्रमाणपत्र दिन त्रिवि सकरात्मक देखिदैन ।

भारतबाट मात्रै हालै उच्च शिक्षा हाँसिल गरेका एक सय भन्दा बढी विद्यार्थीले समकक्षता पाउन सकेका छैनन् । त्यो नपाउँदा धेरैले देश छोडिसकेका छन् । राजीव गान्धी विश्वविद्यालय अफ हेल्थ साइन्सिज कर्नाटक भारतबाट फार्मेसी अफ डाक्टर गर्नुभएका कञ्चनपुर जिल्ला निवासी डा.शरद चन्दले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र लिन निकै ठूलो संघर्ष गर्नुभयो । छ महिनाको अवधिमा करिब ६० पटक विश्वविद्यालयमा पुगेको उहाँको तीतो अनुभूति छ ।

उहाँका अनुसार डाक्टर अफ फार्मेसी (फर्मा डी) छ वर्ष अवधिको (एकीकृत अन्डरग्र्याजुयट र पोष्ट ग्र्याजुयट) फार्मेसी काउन्सिल अफ इण्डियाले प्रमाणित गरेको कोर्स हो । यसमा भने प्लस टु विथ फिजिक्स, केमेस्ट्री एण्ड वाइलोजी÷म्याथम्याटिक्स अध्ययन हुने गर्दछ । मान्यता अनुरुप पास गरिएको तहको विद्यार्थीहरुले समकक्षता पाउन नसक्दा यसले त्रिविप्रति हेर्ने दृष्टिकोण नकरात्मक मात्र बनेको छैन, उनीहरुमा हिनताबोधका साथै निराशा छाएको छ ।

उहाँले भन्नुभयो, “मैले समकक्षता माग गर्दा त्रिविले सुरुमा डाक्टर अफ फार्मेसी इकवुभ्यालेन्ट टु फार्म डी भनेर दिएको थियो तर पछि त्यही समक्षकतालाई गोरखापत्रमा निकालेर रद्ध गरिदियो । समकक्षता प्राप्त गरेकै आधारमा पिएचडी आवेदन गर्न फाइनलको निर्णय हुँदा त्यसलाई मास्टर तह नमान्ने अवस्था आयो र यसले मलाई इन्ट्री क्राइटेरिया मिलेन भनेपछि त्यसभन्दा अगाडि मेरो पिएचडीको समकक्षता प्राप्त हुन सकेको छैन ।”

मैले विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा आवश्यक सबै कागजात पेश गरे । म पढेको विश्वविद्यालय र परिषद्को सिफारिस दिए । केन्द्रले मलाई फार्मा डीको समकक्षता प्रमाण पत्र दियो र पिएचडी समक्षकताका लागि पनि आवेदन दिन सल्लाह दियो । खुशी भएर उपत्यकाबाट बाहिरिए । दुर्भाग्य भनौ कि विश्वविद्यालयको नियत, केही दिनपछि गोरखापत्रमा मलाई उपलब्ध गरेको समकक्षता प्रमाणपत्र गल्ती दिइएको भनेर सूचना ग¥यो । यसले मलाई निकै निराशित बनायो । यसविरुद्ध कोर्टमा जान्छु भन्दा जाँदा हुन्छ भनेर सोझै भनियो ।

‘त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि, २०७८’ को परिच्छेद ५ को दफा १३ मा एकीकृत तथा द्वेत उपाधि सम्बन्धमा प्रष्ट्याएको छ । त्यसमा सम्बन्धित अध्ययन संस्थान, संकाय अन्तरगतको स्नातक, स्नातकोत्तर र विद्यावारिधीको लागि तोकोको पाठ्यांश, अवधि वा क्रेडिट आवर र परीक्षा प्रणालीको मापदण्डभित्र पर्ने गरी कुनै नेपाली नागरिकले विदेशी विश्वविद्यालयबाट प्रवेशिका पछिको स्नातक, प्रवीणता प्रमाणपत्र तह पछिको स्नातकोत्तर र स्नातक पछिको विद्यावारिधीको उपाधि प्राप्त गरी समकक्षता माग गरेमा आवश्यक प्रक्रिया अपनाई समकक्षता दिन सकिनेछ भनिएको छ ।

त्यसैगरी, कसैले कुनै तहमा अध्ययन गर्दा केही थप क्रेडिट लिई दोहोरो उपाधिको समकक्षता वा मान्यताको माग गरेमा पनि आवश्यक प्रक्रिया अपनाई क्रेडिट पुगेको अवस्थामा दोहोरो उपाधिको समकक्षता वा मान्यता प्रदान गर्न सकिने भन्ने उल्लेख गरिएको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रले तोकेको मापदण्ड बमोजिम सम्पूर्ण कागजात पुर्याउँदा पनि समकक्षता प्रमाणपत्र दिन नमानेको डा.चन्दले दुखेसो पोख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्राडा.पारसनाथ यादवले समकक्षता लिनका लागि सम्बन्धित विद्यार्थी कागजात बुझाउने र कार्यविधिमा तोकेको मापदण्ड अनुसार मात्र उनीहरुलाई मान्यता प्रमाणपत्र प्रदान गर्दै आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “समकक्षता निर्धारण कार्यविधि, २०७८ ले तोके बमोजिम हामीले चारवटा कुरालाई आधार बनाएर जान्छौं । समकक्षता दिनलाई प्रवेश आवश्यकता, कोर्स विषयवस्तु, क्रेडिट आवर र अवधि सबै पुग्नुपर्दछ पुष्टिसहितको डीन कार्यालयबाट राय आएपछि मात्र उपलब्ध गरिन्छ ।”

कार्यकारी अधिकृत प्राडा.यादवका अनुसार पहुँचका आधारमा समकक्षता पाइन्छ भन्ने कुरा अफवाह हो । त्यहाँ कुनै राजनीति भएको छैन । प्रमाणसहित आएपछि हामी सजिलै उपलब्ध गर्दछौं र त्यो गर्दै आएका छौं । पासपोर्ट भिसालाई समेत समकक्षता दिने आधार बनाइएको छ । ७५ प्रतिशत कोर्ससँग सम्बन्धित विषयवस्तु, क्रेडिट आवर र अवधि मिल्ने बित्तिकै त्रिविले समकक्षता दिएकै छ ।

समकक्षता उपलब्धताको कार्य सहज बनाएर अब अनलाईबाटै काम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्नातक एकसय र ६० स्नातकोत्तरमा ६० क्रेडिट आवर र पीएचडी तीन वर्ष गरेकोलगायतका क्राईटेरिया पुरा गरेकालाई डीन कार्यालयको रायबाट बोर्ड बसेर समकक्षता दिँदै आएका छौं । विश्वका विश्वविद्यालय पढाइ हुने सबै विधा त्रिविमा छैन । फिजियोथेरापी र फार्मा डी को मार्केट प्रोग्राम पनि यहाँ छैन । फार्म डी भनेको फार्मेसी हो र हामीले फार्म डी कै समकक्षता दिएका छौं । प्राज्ञिक विषयको समकक्षता दिन हामीले लचिलो नै बनेका छौं ।”

राजीव गान्धी विश्वविद्यालय भारतबाट डाक्टर अफ फार्मेसी (पिजी) गर्नुभएका तातोपानी गाउँपालिका जुम्ला निवासी कलबहादुर रावलले त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र दिने विषयमा गाह्रो बनाइदिँदा उच्च शिक्षा प्राप्त गरेका धेरै प्राविधिक जनशक्ति बाहिरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिविले फार्म डीलाई फार्म डी भनेर समकक्षता दिएपनि मास्टर डिग्री सरह हो कि होइन भनेर स्पष्ट खुलाएको छैन । यसले फार्म डीलाई पोष्ट ग्र्याजुयट (पिजी) हो भनेर प्रष्ट्याइदिनु पर्यो । भारतीय विश्वविद्यालय अनुदान आयोगले फार्म डीलाई मास्टर डिग्रीको हो भनेर स्पष्ट गरिदिएको छ ।”

त्रिविले द्वेत चरित्र देखाएर विद्यार्थीहरुलाई सास्ती दिने गरेको उहाँको आरोप छ । यसरी पटक पटकको प्रयासमा गरिएको त्यहाँका कर्मचारीहरुले गरेको व्यवहारले दर्जनौं विद्यार्थीहरुले समकक्षता प्रमाणपत्र पाएका छैनन् । पीडित विद्यार्थीहरुको प्रश्न छ, “हामीले प्राप्त गरेको उपाधि सरहको समकक्षता लिन ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था कहिलेसम्म ? यो क्षति कसले व्यहोर्ने, त्रिविले कि राज्यले ?” क्रेडिट आवरका हिसाबले वैध भएको भन्दै समकक्षता प्राप्तिका निम्ति नौ वर्ष लडिरहेको पीडित विद्यार्थीहरुले बताएका छन् ।

समकक्षता प्रमाणपत्र दिने कुरामा त्रिवि पाठ्यक्रम विकास केन्द्रले स्पष्ट कारण बताउने नगरेको उनीहरुको आरोप छ । कागजात दिँदा पुग्यो पनि भन्दैन र पुगेन भन्ने प्रतिक्रिया पनि दिदैन । त्रिविका अनुसारमा नेपालमा फार्मा डी कोर्स नभएकोले समकक्षता दिनमा धेरै ठूलो अल्झन भएको छ । पोखरा तथा काठमाडौं विश्वविद्यालयबाट यो सम्बन्धन प्राप्त नहुने भएकोले त्रिविको एकाधिकार भएको र यो तोडिनुपर्ने उनीहरुको माग छ ।

डा.रावलले फार्म डी भनेको पोष्ट ग्र्याजुएट भनेर प्रष्ट नगर्दा आफूहरुलाई स्नातकोत्तर तहमा आवेदन दिन जागीर खान सहज नभएको बताउनुभयो । भारतले फार्म डीलाई पोष्ट ग्र्याजुएट भनेर प्रष्ट पारिदिएको छ तर त्रिविले यसमा स्पष्ट्याएको छैन । अहिले उनीहरुको प्रश्न छ, “हामीले गरेको ग्र्याजुएट र पोष्ट ग्र्याजुएट्सको समकक्षता प्रमाणपत्र कसले दिन्छ र फार्मा डीलाई त्रिविलिे पिजी मान्छ कि नाई ?

पीडित विद्यार्थीहरुकाे एउटै आवाज छ: युवा विद्यार्थीलाई समकक्षता दिएर फर्दर करियर बनाउन र नेपालमै सेवा गर्ने अवसर सृर्जना गर्ने कि प्रतिभा पलायनलाई प्राेत्साहित गर्ने ?” निकै ठूलाे संघर्ष गरी विदेशी विश्वविद्यालयबाट प्राप्त गरेकाे उपाधि सरहकाे समकक्षता प्रमाण पत्र लिन हामी विद्यार्थीहरुले कहिलेसम्म सास्ती भाेग्नुपर्छ सरकार ?

विदेशले सम्मान दिँदा स्वदेशमा अपमान किन ?

विश्वका कुनैपनि कुनामा पुगेर उच्च शिक्षा प्राप्त गरेपनि सेवा आफ्नै नेपाली भूमिमा दिने प्रखर इच्छा राखेका विद्यार्थीहरु त्रिविबाट समकक्षता लिन खोज्दा मानसिक पीडा बढी खेप्नुपरेको दुखेसो गर्छन् । त्रिविका कर्मचारीले पनि निकै दुःख दिने गरेको उनीहरुको आरोप छ भने समकक्षता लिन भोग्न परेको सास्तीले उनीहरु दिक्क भएको अभिव्यक्ति दिईरहेका छन् ।

नेपालको शिक्षा नीतिमा पोष्ट ग्र्याजुएट र मास्टर डिग्रीमा फरक हो र ? विदेशी उत्कृष्ट विश्वविद्यालयहरुबाट उच्च शिक्षाको उपाधि हासिल गर्दा पनि समकक्षता दिन त्रिविले किन आनाकानी गर्ने ? किन त्यहाँ राजनीतिक भइरहन्छ ? समकक्षता आफै दिएर किन यसले आफ्नो असक्षमता देखाउँछ ? अपराधशास्त्री डा.आस्था दाहालले पनि त्रिविको कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । समकक्षताका लागि उपलब्ध गराएको कागजात र शुल्क ठिकै छ भन्ने तर पछि यो मिलेन ऊ मिलेन भन्ने प्रवृति सबैभन्दा बढी खतरनाक रहेको उहाँको जिकिर छ ।

विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेर आएका विद्यार्थीहरुले नेपालमा मान्यता एवं समकक्षता प्रमाणपत्र पाउन नसकेर थुप्रै समस्या भोग्दै आएका छन् । ती समस्या समाधान गर्न त्रिविको एकाधिकार तोड्नुपर्ने या कुनैपनि काम सहजरुपले हुने अवस्था सृजना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले त्रिविबाट समकक्षता प्रमाण पत्र लिन विद्यार्थीहरुलाई निकै असहज र उनीहरुप्रति गरिने व्यवहार अपमानजनक भएको भन्दै नेपाल सरकार शिक्षा मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो । उहाँले त्रिविलाई राजनीतिबाट टाढा राखिनुपर्ने र अलाङ्कारिक नभई योग्यताका आधारमा कार्यकारी अधिकारसहितको कुलपति हुनुपर्ने मागसमेत तीन साता अघि संसदमा राख्नुभएको थियो ।

सबैखाले उच्च शिक्षा नेपालमा हाँसिल गर्न नपाईने तथापि दुःख गरेर विदेशी विश्वविद्यालयबाट पढेर आफ्नै भूमिका सेवा गरुँ भन्दा यत्रो अपमान किन ? त्यही उपाधि, त्यही तह र त्यही श्रेणी हाँसिल गरेको जनशक्तिलाई विदेशमा सम्मान हुँदा नेपालमा अपमान किन ? यसमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय कहिले जिम्मेवार हुने ? लगायतका प्रश्नहरु पीडित विद्यार्थीहरुले तेस्र्याइरहेका छन् । ती समस्याहरुको समाधानका विषयमा नेपाल सरकारले बेलैमा ध्यान दिन अपरिहार्य छ ।

प्रतिकृया दिनुहोस्