OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७९सुर्खेत
४४३ पटक

२९ चैत २०७९, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नमूना बाल संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
a
संघीय संसद सचिवालयको आयोजना तथा युनिसेफ नेपाल, मित्र समाज, युएन वुमनको आर्थिक सहयोगमा यही चैत २५–२९ गतेसम्म वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको पाँच दिने नमूना बाल संसद अभ्यास कार्यक्रम आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै संसद अम्मरबहादुर थापाले नमूना बाल संसद अभ्यास कार्यक्रमले सबल नेतृत्व जन्माउन ठूलो सहयोग पुग्ने बताउनुभयो ।

आजको बालबालिका भोलिको देश हाँक्ने कर्णधार भएको जनाउँदै उहाँले भन्नुभयो, “बालबालिकाको आजको प्रस्तुति हेर्दा साँच्चै संसद बैठक यही चल्दैछ कि जस्तो पनि लाग्यो । बाल अवस्थामै संसदीय अभ्यास र मुलुक सञ्चालन कसरी हुन्छ भन्ने जानकारी लिनुले मुलुकको सक्षम जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्ने देखिन्छ ।” संसद थापाले नमूना अभ्यासले बालबालिकालाई आदर्श राजनीति सिकाउन प्रेरित गर्ने जनाउनुभयो ।


कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले बाल अवस्थामै संसदीय गतिविधि र त्यसको महत्व एवं सञ्चालनबारे जानकारी पाउनुले राजनीतिप्रति सकरात्मक बाल मनोविज्ञान निर्माण हुने जनाउनुभयो । नमूना बाल संसद अभ्यास कार्यक्रमले सक्षम नेतृत्व जन्माउन समेत सहयोग पुग्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशका दश जिल्लाका विभिन्न विद्यालयका अध्ययनरत ४८ जना बालबालिका र नौजना शिक्षकहरुलाई सहभागी गराइएको उक्त कार्यक्रममा संसद, संसदीय गतिविधि, त्यसको प्रक्रिया, महत्व, इतिहासका बारेमा जानकारी गराईएको संघीय संसद सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

सचिव पाण्डेले भन्नुभयो, “यो अभ्यास गराउँदै गर्दा बालबािलकाहरुले संसदीय अभ्यासमा लोकतान्त्रिक अभ्यास गर्दा खेरी जनताका आवाज कसरी उठाइन्छ ? प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गरिन्छ ? बजेट कसरी प्रस्तुत हुन्छ । सरकारका नीति तथा कार्यक्रम कसरी आउँछ भन्ने बारेमा राम्रो प्रस्ुतति दिएका छन् । त्यस्तै, शून्य समय, विशेष समय र आकस्मिक समयमा कस्ता किसिमका मुद्दाहरुले उठाइन्छन् भन्ने सन्दर्भमा समेत उनीहरुको बेजोड प्रस्तुति देखियो ।”

यसबाट भविश्यमा नेतृत्व विकास गर्ने, ससदीय अभ्यासका परम्परालाई निरन्तरता दिने र नयाँ पुस्तालाई यसका बारेमा जानकारी दिने कुरामा कार्यक्रम निकै प्रभावकारी भएको उहाँले जनाउनुभयो । उहाँका अनुसार संघीय संसद सचिवालयले सातै प्रदेशमा यो नमूना अभ्यास कार्यक्रम अगाडि बढाउने योजना बनाएको छ ।

युनिसेफ नेपालका सामाजिक विशेषज्ञ ठाकुर ढकालले बालबालिकालाई आफ्नो क्षमता प्रस्फुटन गर्ने सुवर्ण अवसर जुरेको जनाउनुभयो । उहाँले बालबालिकाकामाथिको लगानी राज्यको हितमा हुने बताउनुभयो । प्रशिक्षक रमेश पौडेलले हरेक व्यक्तिमा आफ्नै प्रतिभा हुने यद्यपि त्यसका लागि राज्यले समुचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

बाल संसदको सभामुखको जिम्मेवारी सम्हाल्नुभएका शिव मावि लाटीकोईली सुर्खेतमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय छात्रा करिश्मा सुनारले संसद के हो ? यसको कार्य, सञ्चालन प्रक्रिया र भूमिका के हुँदो रहेछ भन्नेबारे निकै जानकारी भएको जनाउनुभयो । आगामी दिनमा यो मुलुकको शासन सञ्चालन गर्न सकिन्छ भन्ने उर्जा पनि मिलेको सुनारले बताउनुभयो ।

त्यस्तै, बाल सरकारको प्रधानमन्त्रीको भूमिका गर्नुभएका चन्द्रगंगा मावि गाग्रेताल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सुनिला थापाले प्रधानमन्त्रीको जिम्मेवारी सजिलो नभएको अनुभूति व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट प्रधानमन्त्रीले केही गरेनन् । काम रहेनछ भन्न जत्तिकै सजिलो रहेछ । त्यो जिम्मेवारी सम्हालेपछि कति गाह्रो हुँदो रहेछ भन्ने कुरा स्पष्ट भयो ।”

उक्त नमूना अभ्यास कार्यक्रममा संसदमा सत्तापक्ष, प्रतिपक्षको भूमिका, प्रश्न, सवाल राख्ने तरिका, सभामुख, उपसभामुखको काम, कर्तव्य र अधिकार, बैठक बसाल्नु अघि उनीहरुले गर्ने काम र सांसदहरुले खेल्ने भूमिका के हो भन्ने बारे बालबालिकाहरुले अभ्यासमार्फत देखाएका थिए ।

प्रतिकृया दिनुहोस्