२१ माघ २०७९, शनिबार
बढ्दो आधुनिकता र शहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति बिस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली बिगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन हुन नसक्दा पाको पुस्ता चिन्तामा छ ।
मौलिकता गुमनाम हुँदै जाँदासमेत नव पुस्ता कसैले पनि त्यति धेरै चिन्ता गरेको पाईदैन । अनुसरण गर्न लायक बिरासत बोकेका संस्कृति संरक्षणमा गर्नुपर्ने विषयमा सरोकारवालाहरु बेखबर जस्तै देखिन्छन् । आजभोलि आधुनिकताले गाउँलाई पनि छोएको छ । स्थानीयहरुको छाना, बाना र खाना सबै परिवर्तन हुँदै गएको पाइन्छ । मूलतः पश्चिमा संस्कृतिको प्रभाव गाउँसमेत परेको छ ।
हिजोका मौलिक परम्परा, संस्कार, संस्कृति हराउँदै जान थालेपछि यतिबेला मुगाली महिलाहरु कर्णालीको साँस्कृतिक परम्परा जगेर्ना गर्नतर्फ लागेका छन् । छायाँनाथ रारा नगरपालिका १२ मुगुका स्थानीय महिलाहरुले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवसका अवसरमा आफ्ना परम्परागत पहिरनबाट मञ्चमै सन्देशमूलक गीत प्रस्तुत गरिन् ।
जनताले मत दिएर पठाइसकेपछि त्यसलाई शिरोपर गर्दै उनीहरुकै हितमा लाग्न प्रदेशसभा सदस्यहरुलाई गीतमार्फत उनीहरुले सुझाव दिइन् । मुगुबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आएर ती महिलाहरुले दिएको सन्देशले प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ्लगायत दलका नेता, मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवलगायत सबैलाई प्रभावित बनाएको थियो ।
छायाँनाथ रारा नगरपालिका १२ मुगुका स्थानीय झरना बुढाले आधुनिक कपडा लगाउने र आफ्नो पहिचान एवं संस्कृति बिर्सनेहरुलाई परम्परागत पहिरनमा देउडा गीत प्रस्तुत गरेर खस इतिहासको स्मरण गराइएको बताउनुभयो । बुढाका अनुसार गर्विलो इतिहास बोकेको खस संस्कृति तथा सभ्यताको जगेर्ना गर्ने मनसायले कर्णालीको परम्परागत पहिरन सार्वजनिक गरिएको हो ।
सोही वडाका सुनक्यौडा बुढाले डौठो, चोलो, घाँगरो, पटुका, जाल्या, चन्द्रमा, नानी माला, ठूली माला, चाप्की, फुर्को, बाला र हात्या छाप लगाएर साँस्कृतिक प्रस्तुति पस्केको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरन हाम्रो सम्पति हो । पहिचान र इतिहास हो । यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ । यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ ।”
त्यस्तै, कार्यक्रममा सहभागी शोभा बुढाले जो सुकैले अहिले यो पहिरनमा सजिन सजिलो अवस्था नरहेको बताउनुभयो । “अहिलेका युवा युवतीहरु पाइन्ट, टिसर्ट लगाउने गर्दछन् । त्यो पनि ठाउँ ठाउँ च्यातिएको हुन्छ । त्यस्ता पहिरनमा हिड्न लाज मान्दैनन् ।” उहाँले भन्नुभयो, “आफ्नो बोली भाषा गर्न भने हिनामति मान्छन्, (हिच्किचाउँछन्) लज्जित भएको महसुस गर्छन् । यसले मातृत्व र जननीप्रतिको प्रेम हराउँदै गएको प्रष्ट हुन्छ ।”
मोनालिसा मिडिया उद्योग मुगुका व्यवस्थापक वसन्त बाग्चनले स्थानीय कला, संस्कृति र भेषभूषाको जगेर्ना गर्ने हेतुले परम्परागत पहिरनमा सजिएको टोली मुगुबाटै वीरेन्द्रनगर सुर्खेतमा ल्याइएको बताउनुभयो । यसले लोपोन्मुख अवस्थामा पुगेको कर्णालीको पहिरन, जीवनशैली र खस संस्कृतिको उजागर गरेको उहाँको भनाई थियो ।
जुम्लाका संस्कृतिसम्बन्धी जानकार नवराज न्यौपाने विसं.१८४६ पूर्वको इतिहासबारे झल्को दिने संस्कृतिको संरक्षण र पुरातात्विक सम्पदाको अनुसन्धान तथा अध्ययन हुन जरुरी रहेको बताउनुहुन्छ । उहाँका अनुसार सिंजा सभ्यता भन्ने बित्तिकै विश्वका सभ्यता मध्यको एक उत्कृष्ट सभ्यता भन्ने बुझिन्छ । यसको महत्व र बिरासत बुझ्न नेपाल सरकारले यससम्बन्धी एक अलग्गै ऐन ल्याउनुपर्दछ ।
तिला गाउँपालिका ४ जुम्लाका स्थानीय ज्येष्ठ नागरिक बीरबहादुर सिंहले परम्परागत पहिरनले कर्णालीको कला, संस्कृति, धर्म, संघर्ष, स्वाभिमान, मेहनत, बीरता सबैको प्रतिबिम्ब दिने गरेको बताउनुभयो । “संस्कृति पनि त हाम्रो पूँजी हो । यसले हाम्रो मौलिकता र वास्तविकता दुवै बोल्छ,” सिंहले भन्नुभयो, “हामी त माल भएर पनि चाल नपाउने कस्तुरी मृग जस्तै भयौं । यसको महत्व बाहिरका मान्छेले बुझेका छन् ।”