OnlinePana

आज : २०७९ आषाढ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०७८काठमाडौं
२१४ पटक

२८ पुस २०७८, बुधबार

मकवानपुरको राक्सिराङ गाउँपालिका–३ की गंगामाया प्रजा १५ वर्षकी भइन्। उनका दौतरी साथीहरू बिहानबेलुका खेल्न निस्किन्छन्। दिउँसो हातमा कपीकलम बोकेर स्कुलतिर धाउँछन्।

अझै पनि कति साथी लाडिएर बाआमाको काखमा लुटुपुटु पर्छन्। साथीहरू बाआमाको काखमा खेलेको हेर्दै गंगामाया आफ्नो काखकी छोरी सुमसुम्याउँछिन्।

​कपीकलम समाउने उनको कलिला हातहरूमा अर्को एक जोडी कलिला हातको भार थपिएको छ। साथीहरू झोला बोकेर स्कुल जाने उकालो चढ्दा उनी घाँसदाउरा काट्न हँसिया बोकेर रूख चढ्छिन्।

सँगै हुर्किएका सँगीहरूले आमाले पकाएको खाना खाँदा उनी केही नआए पनि आफ्ना स्तन छोरीलाई चुसाउँछिन्। १२ वर्षको कलिलो उमेरमै आमा बनेकी उनकी छोरी अहिले ३ वर्षकी भइन्।

आफू बच्चै हुँदा बच्चा जन्माएकी उनको दैनिकी छोरीको हेरचाह र घरको कामकाज गरेर बित्छ। अझै पनि उनलाई आमाको काखमा लुटुपुटु गर्न र साथीहरूसँग खेल्न मन नलागेको होइन तर उनको काँधमा छोरीको जिम्मेवारी आएपछि गंगामायाले आफ्नो मनलाई कठोर बनाएकी छिन्।

सहरतिरको जस्तो मोबाइल फोन हातमा बोकेको पनि होइन। न त चिठीपत्र लेखेर लामो समय प्रेम सम्बन्ध नै बसेको हो। तैपनि एकै छिनको भेटले उनलाई विवाहसम्मको बाटोमा पुर्‍यायो। जसले उनको जीवनलाई एउटा अर्कै मोडमा पुर्‍याइदियो।

करिब ४ वर्षअघि मामाघर जाँदा उनले आफ्ना श्रीमान्‌लाई पहिलोपटक देखेकी थिइन्। मामाघरको छिमेकी रहेका उनका हुनेवाला श्रीमान्‌सँग पहिलो भेटमा आँखा जुधे पनि बोलचाल भएन।

पहिलो भेटमा बोलचाल नै नगरेका उनीहरू दोस्रो भेटमा विवाह बन्धनमा बाँधिएका थिए। गंगाका अनुसार उनी आफ्नो भदैलाई लिएर व्रतबन्धमा जाँदा उनीहरूले एकअर्कालाई मन पराए र सँगै बस्ने निर्णय गरे।

‘उहाँसँग त्यस्तो धेरै देखभेट र बोलचाल भएको पनि होइन। गाउँको व्रतबन्धमा जाँदा मनपर्‍यो, अरूले एकअर्कालाई मन पराएको भए यतै बस भने। मैले पनि हुन्छ भनेर बसेँ’, उनले भनिन्, ‘१२ वर्षको उमेरमै नबुझीकनै जीवनको ठूलो निर्णय गरेछु।’

कक्षा–४ मा पढ्दै गर्दा उनले १८ वर्षको किशोरसँग विवाह गरेकी थिइन्। राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्दै गर्दा विवाह गरेकी उनको त्यसपछि स्कुलसँगको नाता टुट्यो।

‘बिहे गरेपछि पनि स्कुल जान मन नभएको त कहाँ हो र रु तर,हाम्रातिर बिहेपछि पढ्न जानु भनेको अपराध गरेजस्तै हो। गाउँमा बसिसक्नु गर्दैनन्, त्यसमाथि मैले झन् सानै उमेरमा बिहे गरेर बच्चा जन्माएपछि मलाई समाजले हेर्ने नजर नै फरक थियो’, उनले गुनासो गरिन्।

उनलाई आफूले सानै उमेरमा विवाह गरेर सन्तान जन्माएकोमा पछुतो मात्रै होइन लाज पनि लाग्छ। घर, परिवार, विवाह, जिम्मेवारी र मातृत्व नबुझ्दै उनले ती सबै कुरा भोगिसकेकी छन्।

‘जसरी हामी साथीभाइ हास्थ्यौँ, खेल्थ्यौँ बिहे पनि त्यस्तै होला भन्ने सोचेकी थिएँ तर बिहे गरेपछि त बुहारी बनेर धेरै काम गर्नुपर्ने रहेछ। हाँस्ने, खेल्ने र पढ्ने भनेको त बिहेअघि मात्रै रहेछ’, उनले भनिन्।

१२ वर्षमै बिहे गरेकी गंगामायाको पहिलो विवाह थियो भने उनका श्रीमान्‌को दोस्रो विवाह। गंगालाई १८ वर्षमा बिहे गर्दा उनका श्रीमान‌्‌ले यसअघि अर्की किशोरी पनि भित्र्याइसकेका थिए।

उनका अनुसार उनका श्रीमान्‌ले पनि पहिलो बिहे ११ वर्षको उमेरमा गरेका थिए। जेठी श्रीमतीले छोडेर गएपछि उनले गंगामायालाई भित्र्याएका थिए।

मकवानपुरको विकट गाउँपालिकाको गरिब र पिछडिएको समुदायकी उनी गर्भवती भएको समाचारले उनको परिवारको मात्रै होइन‚ सिंगो देशकै ध्यान तानेको थियो। यो घटना २०७५ सालको मंसिरको थियो।

१२ वर्षमा गंगामाया गर्भवती भएको समाचारले देशैभरी चर्चा पाएको थियो। सानै उमेरमा गर्भवती भएकी उनलाई सुत्केरी हुन समस्या भएपछि मकवानपुरको राक्सिराङदेखि काठमाडौंसम्म नेपाल सरकारले लग्यो।

थापाथली स्थित प्रसूतिगृहमा एक महिना बसेपछि उनले छोरीलाई जन्म दिएकी थिइन्।

करिब ३ महिना उनी अस्पतालमा नै बस्नुपर्‍यो। कलिलै उमेरमा नजानेर बिहे गरेर आमा बनेकी उनले गर्भवती र सुत्केरी हुँदा प्रसव पीडा मात्रै होइन परिवार र समाजबाट अपहेलित पनि हुनुपर्‍यो।

​उमेर नपुगी हतारिएर बिहे गरेको भन्दै गाउँलेले अनेक लाञ्छना लगाएको उनलाई अझै सम्झना छ।

‘दाइहरुले पनि सानैमा बिहे गर्नुभएको थियो। गाउँमा अरूले पनि सानो उमेरमै बिहे गरेको देखेकी थिएँ। मलाई बिहे गर्नु हुँदैन भनेर सम्झाउने पनि कोही भएन। त्यसैले मैले नजानेर त्यो बाटो रोजेँ’, पश्चात्तापको स्वरमा उनले भनिन्।

सानै उमेरमा बिहे गरे पनि घरपरिवार र श्रीमानसँग सुमधुर सम्बन्ध रहेको उनले बताइन्। उनका श्रीमान् गाउँमै मिल चलाउँछन्। बिहान बेलुका घरमा खाना पकाउने र घाँसदाउरा गर्ने काम सकेर उनी पनि श्रीमानलाई सघाउन मिलतिरै लाग्छिन्।

श्रीमान् नभएका वेला आफू एक्लैले पनि मिल चलाउने गरेको उनले बताइन्। आफूले सानैमा बिहे गरेर पछुतो गरिरहेको देख्दा पनि गाउँमा बालविवाह नरोकिएको उनले बताइन्। अझै पनि गाउँमा सानै उमेरमा बिहे गर्नेहरूको संख्या धेरै रहेको भन्दै उनी आफूले जस्तो नगर्न अरूलाई सुझाव दिन्छिन्। साभारः थाहाखबरबाट

प्रतिकृया दिनुहोस्