OnlinePana

आज : २०८३ साउन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २, २०८३जुम्ला
५८ पटक

 

 

 २ साउन २०८३, शनिबार

नेत्र शाही,
खलङ्गा (जुम्ला), साउन २ गते । जुम्लामा खस संस्कृतिको परम्परागत पर्वका रूपमा मनाइँदै आएको साउने संक्रान्ति यस वर्ष पनि राँका बालेर मनाइएको छ। स्थानीयले घरका छत, आँगन र ओटालोमा राँका बालेर बस्ती उज्यालो बनाउँदै संक्रान्ति मनाएका हुन्।
परम्पराअनुसार जुम्लाका बासिन्दाले राँका बाल्दै आफ्नो गाउँबाट अर्को गाउँतर्फ गाली गर्ने चलनलाई निरन्तरता दिएका छन्। बेलुकी झिसमिसे समयमा जुम्लाका बस्तीहरू राँकाको उज्यालोले झलमल भएका थिए।
हरेक घरमा परिवारका सदस्य सङ्ख्याअनुसार राँका बाल्ने चलन रहेको छ। घरको फोहोर, रोगव्याधि तथा नकारात्मक कुरा हटोस् भन्ने कामनासहित राँका बाल्ने परम्परा जुम्लासहित कर्णाली क्षेत्रमा रहँदै आएको छ।
साउन १ गते नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रसहित जुम्लाका विभिन्न स्थानमा राँका बालेर साउने संक्रान्ति मनाइएको हो। यो अवसरमा आगोको राँका बाल्नेबित्तिकै घरका परिवारका सदस्यले ठुलो स्वरमा कराउने र छिमेकी गाउँलाई गाली गर्ने परम्परा रहेको छ।
राँका बालिसकेपछि विभिन्न प्रकारका परिकार बनाएर खाने चलन पनि रहेको छ। राँका बाल्ने क्रममा दमाहा, ताललगायत बाजा बजाउने परम्परा पनि रहेको स्थानीय बताउँछन्।
जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाका गाउँबस्तीमा एकैपटक राँका बालेर साउने संक्रान्तिको सन्देश दिने परम्परा अझै जीवित छ। यस वर्ष पनि करिब एक घण्टासम्म गाउँबस्तीहरू राँकाको उज्यालोले झलमल भएका थिए। परिवारका सदस्यअनुसार हजारौँ राँका एकैपटक बल्दा देखिने दृश्य आकर्षक हुने गरेको छ।
खस संस्कृतिका जानकार तथा कनकासुन्दरी गाउँपालिका निवासी तुङ्गनाथ उपाध्यायका अनुसार यो परम्पराले खस सभ्यता र संस्कृतिलाई बोकेको छ। साउन १ गते यस क्षेत्रमा स्थानीय बिदा दिने चलन रहँदै आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्रमार्फत सार्वजनिक बिदासमेत दिएको छ।
पछिल्लो समय बढ्दो बजारीकरण र आधुनिक घर निर्माणका कारण राँका बाल्ने परम्परामा केही चुनौती थपिएको छ। जुम्ला सदरमुकाममा टिन र सिमेन्टका घर बढ्दै गएकाले छतमा राँका बाल्न असहज हुन थालेपछि कतिपयले सडक र खुला स्थानमा राँका बाल्न थालेका छन्।

प्रतिकृया दिनुहोस्