
३२ असार २०८३, बिहीबार
सुर्खेत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११ र नेपाली काँग्रेस पार्टीका ५ गरी १६ जना प्रदेशसभा सदस्यहरुले सयुक्त रुपमा हस्ताक्षर गरी आज कर्णाली प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरेका छन् । प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा १८८ को उपाधार ४ तथा कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम २ बमोजिम लिखितरुपमा अविश्वासको प्रस्ताव पेश गरिएको नेकपा कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले जानकारी दिनुभयो ।
अविश्वसा प्रस्तावमा प्रदेशसभा सदस्य मंगलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), बीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का, रनसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, बिजया बुढा र कृष्णकुमार बिसीले संयुक्त हस्ताक्षर गर्नुभएको हो ।
उनीहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् । पेश गरिएको सूचना दर्ता गरी कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १५२ को उपनियम ३ बमोजिम आवश्यक प्रक्रियाका लागि आगामी सभाको बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउने व्यवस्थाका लागि अनुरोध गरिएको नेता शाहीले बताउनुभयो ।




