२५ जेठ २०७७, आइतबार
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
सिंहदरवार काठमाडौं नेपाल ।
सर्वप्रथम कोभिड १९ को महामारी सङ्कटको घडीमा आइसोलेशनको शय्याबाट सम्माननीय प्रधानमन्त्रीसहित नेपाल सरकारलाई हार्दिक नमस्कार ।
म एक दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी । जो कोभिड १९ बाट सङ्क्रमित भइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेडमा छु ।
अझै राज्यको योगदानका लागि मेरो आलेखले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई केही हौसला बढाउँछ कि, राज्यका निकायको रणनीति परिवर्तन हुन्छ कि, भनेर मन नलाग्दा नलाग्दै पनि कापी र कलम लिएर केरमेट गर्ने जमर्को गरेको छु ।
कोभिड १९ विश्वका विभिन्न ठाउँमा जस्तै नेपालमा पनि फैलिरहेको छ । दुर्गम जिल्ला जुम्लामा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । भारतबाट आएका जुम्ली नागरिकको स्वास्थ्य जाँच गर्ने म स्वास्थ्यकर्मी भएको कारण मलाई केटीएस (कर्णाली प्राविधिक शिक्षालय) को क्वरेण्टीनमा खटाइयो । जहाँ मैले कर्तव्यनिष्ठ भएर, गौरव महसुस गर्दै जिम्मेवारी सम्हालेर काम गरेँ । तर अव्यवस्थित क्वरेण्टीन, व्यवस्थापन कमजोरीले गर्दा आज कर्णाली प्रदेशको सम्भवतः म पहिलो सङ्क्रमित स्वास्थ्यकर्मी भएको जानकारी गराउँछु ।
तर पनि आज देश कोभिड १९ महामारी रोकथामको अभियानमा जुटिरहेको छ । हामी सरकारसँगै यही अभियानमा छौँ । यसलाई नियन्त्रण गर्न सिङ्गो राष्ट्र जुटिरहेकोमा म गर्व गरिरहेको छु ।
जब चीनको वुहानबाट कोरोना फैलिन थाल्यो, हामी त्यही बेलादेखि फितलो तयारीमा थियौँ । तर पनि सरकारले खटाएको ड्युटीमा डट्नुपर्छ भन्ने सोच हामी सबैले बनायौँ । अझै स्वास्थ्यकर्मीहरु अग्रपङ्क्तिमा जुटेका छौँ ।
सुरुका समयमा हामीलाई लाग्थ्यो, यो समस्या नेपालमा आउँदैन तर नेपालमा सङ्क्रमण सुरु भयो र बिस्तारै फैलिन थाल्यो ।
आज स्वास्थ्यकर्मी आफ्नो घर परिवारभन्दा पनि राज्य अनि पेसालाई महत्त्व दिएर दिनरात ड्युटीमा खटिरहेका छन् । कोही प्रयोगशालामा, कोही आइसोलेसनमा, कोही क्वरेण्टीनमा र गाउँगाउँमा पुगेर निरन्तर काम गरिरहेका छन् । तर अभिभावकको रुपमा रहेको राज्य बेवारिसे देखिँदा हामी स्वास्थ्यकर्मीलाई दुखित तुल्याएको छ ।
काम गर्दागर्दै कोभिड १९ को सङ्क्रमण भएको खबर मेरो लागि अप्रत्याशित भयो । तर पनि डराएको छैन । रत्तिभर म हडबडाएको छैन । मेरोपछि राज्य छ, सरकार छ !
तर मसँग जोडिएको घर, परिवार, समाज आज तरङ्गित छ । मैले मन र आत्मालाई सम्हालेर घर, परिवार र आफन्तलाई केही हँुदैन भनेर सान्त्वना दिनुबाहेक अरु मसँग के थियो र ? तर पनि आत्मबल र साहस घटाएको छैन ।
नेपालको सन्दर्भमा कोरोनाको मृत्युदर निकै कम छ । तर यो कुरा आम नागरिकले बुझेका छैनन् । समुदायमा मानिस आतङ्कित भएका छन् । कोभिड १९ बाट सङ्क्रमित भइ आइसोलेसनमा रहेका दाजुभाइ दिदीबहिनीहरुमा मेरो सल्लाह छ– धैर्य गर्नुहोस्, आत्मविश्वास बलियो बनाउनुहोस्, पोषिलो खाना, सरसफाइ र सामान्य व्यायाम गर्नुहोस्, तपाईँ हामी कोरोनाबाट अवश्य बच्नेछौँ ।
अब म सरकारसँग दुई वटा प्रश्न राख्न चाहन्छु ।
पहिलो प्रश्न : ‘कोभिड १९ को महामारीबाट देश बिरामी भएको बेला सामान्य स्वास्थ्यकर्मी जो बिना हतियार युद्धमा पठाइयो, जसको परिणाम आज हामी आइसोलेसन वार्डमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । यस्तो कमजोर व्यवस्थापनले अब स्वास्थ्यकर्मीले यो युद्ध जित्न सक्लान् त प्रधानमन्त्रीज्यू ? अनि हामी स्वाथ्यकर्मी समाज सेवामा कुन मुख लिएर जान सक्छौँ ? हामी स्वास्थ्यकर्मीको उपचार, घर, परिवारको शिक्षा स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्छ कि पर्दैन ?’
अर्को प्रश्न : ‘पीसीआर पोजेटिभ भएकालाई कति दिन, सात दिन, एक महिना, एक वर्ष या कति दिन आइसोलेसनमा राख्ने हो ? अहिले कोरोना पोजेटिभ भएकाहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ?’
यसका साथै मलाई यस घडीमा सहयोग गर्नेे, जोश र जाँगर दिने, फोन गरेर सहयोग गर्ने, फोन गरेर हौसला दिने, माया गर्ने शुभचिन्तकहरुलाई विशेष धन्यवाद छ ।
उही राष्ट्रसेवक : शुक्रराज शाही
(शाही, स्वास्थ्यचौकी बड्की जुम्लाका अहेब हुनुहुन्छ ।)