
२९ मंसिर २०८२, मंगलबार
सुर्खेतः कर्णालीमा सबैका लागि यौन तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतन अधिकारसम्बन्धी अभिमुखीकरण दिइएको छ ।
वियोण्ड बेजिङ कमिटिद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीहरुका लागि सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रममा यहाँका पत्रकार तथा सञ्चारकर्मीहरुलाई अभिमखिीकरण गरिएको हो । उक्त कार्यक्रममा वियोण्ड बेजिङ कमिटिका अध्यक्ष कृष्णाकुमारी वाईवाले क्लाईडोस्कोप यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतनको अधिकारसँग सम्बन्धि विश्वव्यापी परियोजना भएको बताउनुभयो ।
उहाँले यो परियोजना कर्णाली र लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको बताउनुभयो । नेपालमा ३० वर्षदेखि कार्यक्रम गर्न थालेको यो कमिटिले देशका ६७ जिल्लामा महिलाहरुले नेतृत्व गरेर काम भईरहेको जनाउनुभयो । कर्णाली र लुम्बिनीमा मातृ तथा शिशु मृत्यदर घटाउने उद्देश्यका साथ परियोजना सुचारु गरिएको उहाँले जनाउनुभयो ।
कमिटिका कार्यक्रम व्यवस्थापक मता विष्टले कलाईडोस्कोप विश्वव्यापी पहले भएको बताउँदै कर्णालीका १८ र लुम्बिनीका छ गरी जम्मा २४ पालिकाका कार्यक्रम सञ्चालन भएको जनाउनुभयो । उहाँका अनुसार मधेश प्रदेशमा पनि २४ पालिकामा कार्यक्रम सञ्चालन भएको छ ।
कमिटिका उपाध्यक्ष डा.लक्ष्मी तामाङले नेपालमा ५० प्रतिशत बाहिर र ५० प्रतिशत गर्भवतीहरु अस्पतालमा सुत्केरी हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीको विकास, समृद्धि र सबल अर्थतन्त्र निर्माणका लागि शिक्षा, स्वास्थ्य र सडकको विकास हुनुपर्नेमा जोड दिनुभयो । कर्णालीमा अनावश्यकरुपमा गर्भवती महिलाको शल्यक्रिया गर्ने वातावरणले मानव स्वास्थ्य ठूलो खतरा आईलाग्ने उपाध्यक्ष डा.तामाङको भनाई थियो ।







