१२ मंसिर २०८१, बुधबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पारितोन्मुख दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यो दस्ताबेज कर्णालीको नीति, कार्यक्रम र बजेटको प्रतिबिम्ब हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सरकार वा सत्ता साझेदार पार्टी बदलिएपनि पारित हुने तयारी अवस्थामा रहेको दोस्रो पञ्चवर्षीय योजनाको निरन्तरता हुनुपर्दछ । सरकारी संरचनाले यो ग्रहण गर्नुपर्दछ ।”
दश जिल्ला भएको कर्णाली प्रदेशका आठ जिल्लाका क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, विकास साझेदार, नागरिक अगुवालगायतका सबै सरोकारवालाहरुसँग भेटी सकरात्मक अनुभव लिएर फर्केको बताउँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “स्थानीय भन्दा अन्यत्रबाट आएका निर्माण व्यवसायीले तोकिएको समयमै काम नगर्दा प्रदेश सरकारलाई समस्या मात्र भएको छैन । त्यसबाट गलत सन्देश गएको छ । तसर्थ अब पहिलो काम प्रदेश सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्नेछ ।”
दोस्रो प्रदेश सरकारको खर्च गर्ने अयोग्यता घटाएर त्यसमा सुधार ल्याउनेगरी अर्को वर्षको नीति तथा कार्यक्रम, बजेट र योजना निर्माण कार्यलाई प्राथमिकता दिने उहाँको भनाई थियो । थप छलफल पछि पारित हुने दोस्रो पञ्चवर्षीय योजनालाई प्रदेश सरकारको मार्गदर्शनको दस्ताबेजका रुपमा ग्रहण गरिने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले प्रदेश सरकारको अशय राम्रो हुँदा पनि बारम्बार उठ्ने प्रश्नले समस्या जस्तो देखाएको र त्यसको सम्बोधनमा सरकार लागि परेको जिकिर गर्नुभयो । “आशय र उद्देश्यको तादम्यता मिलेको छैन । यसको सघन अध्ययन हुनुपर्दछ,” उहाँले भन्नुभयो, “आउने अवरोधलाई हटाउँदै सहकार्यको पाटोलाई बलियो बनाएर मन भित्रैदेखि बनाउने साझा सोच राखे हामीले चाहेको विकासको दूरी धेरै टाढा छैन ।”
कर्णाली प्रदेशको आन्तरिक आम्दानी अहिले पनि रु.५४ करोड मात्रै भएको जनाउँदै मन्त्री शाहले हामीले निर्माण गरेका पूर्वाधार स्वरोजगारमुखी हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले राजश्वमा वृद्धि ल्याउने उद्देश्यले एक महिना अघि राजश्व शाखा खोलिएको उहाँले बताउनुभयो ।
अन्तरक्रियामा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारुप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषयहरु, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रमलगायत विषयहरु प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरुले कर्णालीको माटो र हावापानी सुहाउँदो पञ्चवर्षीय योजना निर्माण हुनुपर्ने सुझाव दिएका थिए ।