OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०८१सुर्खेत
२३२ पटक

१४ असार २०८१, शुक्रबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको कालिञ्चोकमा सम्पन्न मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा रुकुमपश्चिमलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो ।

विजेता सुर्खेतलाई मुख्यमन्त्री यामलाल कँडेलले ट्रफिसहित रु.एक लाख एक हजार नगद पुरस्कार प्रदान गर्नुभयो । उक्त कपको उपविजेता रुकुमपश्चिम भएको छ । रुकुमपश्चिमले ट्रफिसहित नगद रु.५१ हजार प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । त्यसका लागि कप्तान निश्चल रावलले सर्वाधिक ४३ रनको योगदान गर्नुभएको थियो ।

त्यस्तै रविन्द्रजंग शाहीले २९ र रोशन शाहीले २२ रन बनाएका थिए । रुकुमपश्चिमका लागि अर्जुन घर्ती र प्रतीक गिरीले दुई÷दुई तथा अरविन्द घर्ती, राजेन्द्र शाही र कप्तान ताराप्रकाश गिरी ‘विवश’ले समान एक÷एक विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रिएको रुकुमपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १७ रन मात्र बनाउन सक्षम भयो ।

रुकुमपश्चिमका अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाउँदा प्रतीक गिरीले २२, कुनाल रावलले २१ र विजय पुनले १२ रन बनाएका थिए । त्यसलाई रोक्न सुर्खेतका रविन्द्रजंग शाहीले दुई तथा विपिन प्रकाश शर्मा, आदित्यविक्रम शाह, कृष्ण ओली, प्रयास गुरुङ र विपिन रावलले समान एक÷एक विकेट लिएका थिए । यस प्रतियोगितामा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ त म्याच बन्नुभयो ।

आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए । रुकुमपश्चिम, जाजरकोट र दैलेख (ए) र सुर्खेत, जुम्ला र कालीकोट (बी) समुहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्