OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

उद्योग, पर्यटनका योजनालाई प्राथमिकतामा राख्छौंः पर्यटनमन्त्री लामा

लिमी भ्याली त्रिदेशीय पर्यटकीय गन्तव्य बन्न सक्छ

कोरपाटी संवाददाताबैशाख २१, २०७९सुर्खेत
७१८ पटक

२१ बैशाख २०७९, बुधबार

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताउनुभएको छ ।

कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्री लामाले जानकारी दिनुभयो । पर्यटन अर्थतन्त्र निर्माणको एक मुख्य खम्बा भएकोले मन्त्रालयले काक्रेबिहार, सुर्खेत चौघान पार्क, प्रदेशभरको पर्यटकीयस्थलको महत्वपूर्ण सूचना दिन सुर्खेत एयरपोर्टमा डिजिटल बोर्ड राख्ने उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकहरुको आकर्षणका लागि मुगु राराताल–डोल्पा से–फोक्सुण्ड ताल जोड्ने पैदलमार्ग निर्माण गर्ने योजना बनाएको छ,” मन्त्री लामाले भन्नुभयो, “सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पुताल, खारा जनयुद्ध संग्राहलय, कालीकोटको पचाल झरना, त्रिवेणी, पिली जनयुद्ध संग्राहलय निर्माण तथा विकासमा पनि जोड दिइनेछ ।”

राराताल वरिपरिको पर्यटकीय सर्किट निर्माणलाई निरन्तरता दिइने उहाँले जनाउनुभयो । त्यस्तै, बाह्य पर्यटकहरुको आगमनको लागि कर्णाली करिडर निर्वाध सञ्चालन र सहज आवागमनका लागि पहल गर्ने, भेरी करिडरअन्तरगत डोल्पासम्मको आवागमन खतरामुक्त बनाउने खालका योजनालाई बढोत्तरी दिने उहाँको भनाई थियो ।

लिमी भ्याली त्रिदेशीय पर्यटकीय गन्तव्य बन्न सक्छ

पर्यटनमन्त्री लामाले कैलाश मानसरोवरको बेसक्याम्पका रुपमा रहेको हुम्लाको लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने योजना निर्माणमा जोड दिइएको बताउनुभयो । “मानसरोवर कैलाश दर्शन गर्न भारतीय धार्मिक पर्यटकहरु पुग्छन्,” उहाँले भन्नुभयो, “अब नेपालसँगै चीनका पर्यटकहरुसमेत त्यहाँ ल्याउन सकिन्छ । उहाँका अनुसार लिमी भ्यालीको सातौ शताब्दीदेखिका गुम्बाको इतिहास, त्यहाँको महत्वपूर्ण कला, संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी पर्यटकहरुको आकर्षण थलो बनाउन सकिए यहाँको अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।”

विशेषगरी बाह्य पर्यटकहरुलाई सिमकोट, दोजाम, कोरोन भ्याली, लिमी भ्याली, रानीसैना सैपाल हिमाल घुमाएर पुनः सिमकोट पुग्ने २१ देखि २७ दिनको ‘कस्तुरी–नाहुर–वनचौंरी’ सर्किट निर्माण गर्ने योजना रहेको मन्त्री लामाले बताउनुभयो ।

प्राथमिकतामा उद्योग विकास

कर्णाली उद्योगमा विकास नभएको अवस्था औंल्याउँदै मन्त्रालयले अल्लो उत्पादन, जडिबुटी, काठ सिज्निङ् (सुकाउने), सल्ली पिरल प्रशोधन उद्योग निर्माणको योजनालाई प्राथमिकता दिएको छ ।

सल्ली पिरल प्रशोधन उद्योगको दिर्घकालीन प्रभाव पर्ने र यसले मानव जीवनमा सकरात्मक प्रभाव पार्ने पर्यटनमन्त्री लामाले बताउनुभयो । त्यस्तै, प्रदेशका खानीहरु आफ्ना मातहतमा राख्ने गरी प्रदेश सरकारले कानून बनाउने तयारी गरेको उहाँको भनाई छ ।

उद्योग मन्त्रालयले फोहोर व्यवस्थापनका लागि इन्सिनेटर उद्योग निर्माण, प्लाष्टिक झोला निरुत्साहित गरी स्थानीय उत्पादनमा जोड दिने भएको छ । जलवायु अनुकुलनका लागि पानीका मूल तथा वन संरक्षण कार्यक्रम र सबै प्रकारका वनहरुको उचित व्यवस्थापन गर्ने कार्यक्रमलाई अगाडि बढाउने गरी लागिएको मन्त्री लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्