OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७६ सुर्खेत
४५१ पटक

सुर्खेत, २७ साउन ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मेहनत गर्ने संस्कृति विस्थापित हुँदा परनिर्भरता बढेको बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘२० औं अन्तर्राष्ट्रिय युवा दिवस २०७६’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले समाजमा मेहनत गर्ने संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “अहिल जताततै छलकपटबाट पैसा मनसायले योजना माग्ने संस्कृति मौलाएको छ” मुख्यमन्त्री शाहीले भन्नुभयो, “अब यो माग्ने संस्कृतिको अन्त्य गर्नुपर्छ ।”
उहाँले अगाडि भन्नुभयो, “कर्णाली पैसा नभएर पछि परेको होइन, मुख्यतः सोचकै कमि हो । बिगतदेखि कर्णालीमा अरबौ डलर भित्रिएपनि त्यसको पारदर्शी कार्यान्वयन नहुँदा अपेक्षित विकास हुन सकेन ।” कर्णाली सरकार युवाको साथमा भएको जनाउँदै मुख्यमन्त्री शाहीले युवाहरुसँग ब्याक गेयर हुन नहुने र भएमा हटाएर समस्याको विकल्प खोज्न सक्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
हरेक युवाका लागि बीउ उपलब्ध गराउने योजना बनाएको सरकारले चालु आवमा युवाका निम्ति रु.एक अर्ब बजेट विनियोजन गरेको उहाँको भनाई थियो । “युवा जोश, शक्ति र मर्मका साथ अघि बढे श्रमशील युवाहरुलाई राज्यले जग्गा व्यवस्था गर्छ, सबैले खेती गर्नुस्,” उहाँले भन्नुभयो, “आफैलाई खान पुग्दा पराईको भर गर्नु पर्दैन ।”
सूचना र प्रविधिको युगमा पनि कर्णालीबासीले पिठ्यूमा भारी बोकिरहेको बताउँदै उहाँले आत्मनिर्भरताका लागि उद्यमशीलतासँग जोडिनु अहिलेको प्रमुख आवश्यकता हो भन्नुभयो ।
दिवसमा प्रदेशसभा सदस्य दानसिं परियारले युवाहरुलाई रोजगार, उद्यमशीलता र व्यवसायमा जोडेका देशहरु विकासमा अग्रणी स्थापनमा पुग्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । “नेपालको सबै भन्दा ठूलो समस्या बेरोजगारी हो र त्यो कर्णालीमा अँझ बढी छ,” सदस्य परियारले भन्नुभयो, “राष्टिय युवा नीति, २०७२ का साथै कर्णाली प्रदेश युवा नीति निर्माणबाट यहाँको बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।”
सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विकेले कर्णालीको बेरोजगारी, यहाँ सञ्चालित साना तथा ठूलो उद्योग, कलकारखाना, रोजगार प्राप्त तथा वैदेशिक रोजगारमा बाहिरिएका युवाहरुको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । कर्णालीले अहिलेसम्म मात्र करिब चार सय युवालाई रोजागर दिएको र अँझै ११ हजार युवा बेरोजगार रहेको उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा युवा प्रतिनिधि ठगेन्द्र सुनारले परिवर्तनका लागि लडेका युवाहरु रोजगारीका लागि खाडी मुलुकमा भौतारिनुपर्ने अवस्थामा सरकारको ध्यान नगएको आरोप लगाउनुभयो । उहाँले अब सरकारले बजारमा झुण्ड्याईएको कोरियन, जापानीज, चाईनीज भाषा अंकित होडिङ् बोर्ड विस्थापित हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, युवा नेता टेकेन्द्र बस्नेत, उद्यमी रचना बाँठालगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्