OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
प्रचण्ड खत्रीफागुन १, २०७७ रुकुमपश्चिम
७२१ पटक

१ फागुन २०७७, शनिबार

‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित मौराखारा गुरिल्ला म्याराथनको पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन बस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम हुनुभएको छ । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको म्याराथनमा विभिन्न जिल्लाका ६५ जना धावकहरुलाई उछिन्दै जिल्लाको सानीभेरी गाउँपालिकाका बस्नेत पुरुषतर्फ प्रथम हुनुभएको हो ।

उहाँले निर्धारित ४६ किलोमिटरको दूरी ४ घण्टा ३० मिनेटमा पुरा गर्नुभयो । त्यस्तै पुरुषतर्फ निर्धारित दुरी ४ घण्टा ५१ मिनेटमा पुरा गर्दै सोलुखोम्बुका सुमन कुलङ दोस्रो हुँदा रुकुमपश्चिम सानीभेरी गाउँपालिका–३, का रत्नवहादुर ओली तेस्रो र सानीभेरी ३ कै भुवन ओली सान्त्वना स्थान हाँसिल गर्न सफल हुनुभएको छ । तेस्रो हुने रत्नबहादुरले ४ घण्टा ५६ मिनेट र सान्त्वना हुने भुवनले ४ घण्टा ५९ मिनेटमा दौड पुरा गर्नुभएको थियो ।

त्यस्तै आफ्ना ३३ जना प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै महिला तर्फ प्रथम हुने प्युठानकी हुमीले निर्धारित ३४ किलोमिटरको दुरी ३ घण्टा १४ मिनेटमा पुरा गर्नुभयो । बर्दियाकी कल्पना थारु दोस्रो र रुकुमपश्चिम सानीभेरी गाउँपालिका–३, कि रुपा नकाल तेस्रो हुँदा महिलातर्फ सानीभेरी गाउँपालिका ९ की मुवा भण्डारी सान्त्वना हुनुभएको थियो ।

त्यस्तै, दोस्रो हुने कल्पनाले निर्धारित दुरी ३ घण्टा १७ मिनेट, तेस्रो हुने रुपाले ३ घण्टा २० मिनेट र सान्त्वना हुने मुवाले ३ घण्टा ४० मिनेटमा दुरी पुरा गर्नुभएको थियो । म्याराथन दौड प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले आज बिहान साढे १० बजे रिबन काटेर गर्नुभएको थियो ।

म्याराथनमा महिलातर्फ ३४ र ६६ जनाले भाग लिएका थिए । म्याराथनको संयोजन गरिरहेको मौराखारा युवा क्लबले रुकुमपश्चिम र पूर्वसहित देशका विभिन्न जिल्लाबाट सहभागिता जनाउन धावकहरुले भाग लिएको जनाएको छ । पुरुष धावकहरु ४६ किलोमिटरको रुटमा दौडिएका थिए भने महिला धावकहरुले ३४ किलोमिटर दुरी पुरा गरेका थिए ।

पुरुषतर्फ प्रथम हुने खेलाडीलाई नगद रु.८० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुनेलालई ५५, तेस्रो हुनेलालई ३५ हजार र सान्त्वना हुने खेलाडीलाई नगद १० हजारका साथमा प्रमाण पत्रले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिलातर्फ प्रथम हुनेले नगद ५५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेले १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगिता जनयुद्ध दिवसका अवसरमा विगत ४ वर्षदेखि गाउँपालिकाले राष्ट्रियस्तरको गुरिल्ला म्याराथनको नाम दिएर सञ्चालन गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्