बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग भेट भयो, उनको बाटो मोडियो । कुनै समय आफैं बेवारिसे भएर हिँडेकी १९ वर्षीया सपनाले आज नयाँ बाटो फेला पारिन् – बेवारिसे शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने ।
बेवारिसे शवलाई दाहसंस्कार गर्दागर्दै आफ्नो जीवनको मूल्य र खुशी पनि सपनाले त्यहीँ भेटिन् । बेवारिसे हरेक शव उनलाई आफन्तकै जस्ता लाग्न थाले । अझ कतिपय त आफ्नै जस्ता । कति शवहरुलाई उनले आँशु पुछ्दै दागबत्ती दिइन् ।
सपनाको जीवनमा सोच्दै नसोचेको खुशी एक्कासी थपिएको छ । बि्रटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले संसारका एक सय जना प्रभावशाली महिलाको सुचीमा सपनालाई पनि राखेको छ । यो उनलाई निकै मूल्यवान र मिठो सपनाजस्तो लागेको छ ।
बीबीसीले हरेक वर्ष अनुकरणीय र प्रेरणादायी, प्रभावशाली १०० महिलाहरुको नाम सार्वजनिक गर्दै आएको छ । यो वर्षको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायतको नाम छ । यी महिलाको बीबीसी वर्ल्डले डकुमेन्ट्री तथा फिचरलाई प्राथमिकताका साथ प्रसारण, प्रकाशन गर्नेछ ।
‘म निद्रामै थिएँ । दाइहरुले फोन गरेर बधाई दिनुभयो’, म्याग्दीको जन्मघर बरंजाबाट सपनाले भनिन्, ‘यो खबर सुन्दा शुरुमा अचम्ममा परेँ । फेसबुक खोलेर हेरेको, सबैले बधाई दिइराख्नुभएको रहेछ । मलाई त विश्वास लागेन कि यी सबैले मलाई नै बधाई दिएका होलान् त ?’
यही खुशीले उनी जुरक्क उठिन् र आमा (तुलमाया)लाई गएर भनिन् – मामु फेसबुक खोलेर हेर्नु त !
त्यसपछि परिवारमा हर्षउल्लास छायो ।
बिहानको खाना खाने बेला सपनाकी आमाको गाँस हातमै रोकियो । आमाले भनिन्, ‘मलाई यति धेरै खुशी लागेको छ कि खानै रुचेन ।
आमा-बाबासँगै सपनाका पनि गह भरिए ।
सपनाको वर्तमान जति सुखद छ, त्योभन्दा कैयौँ गुणा बढी दुःखद छ उनले बिताएको विगत । उनी भन्छिन्, ‘मसँग सम्झनलायक विगत छैनन् ।’ तर, बिर्सनलायक विगत नै सही, जसले उनलाई यो स्थानसम्म पुर्यायो ।
****
म्याग्दीको गाउँ बरङ्जाको उकालो-ओरोलोमा रमाइरहेकी सपना जब उच्च शिक्षाका लागि सदरमुकाम बेनी बजार झरिन्, तब उनमा बद्लाव आयो । मंगला गाउँपालिका ४ बुकीनीबाट सुन्दर भविश्यको खोजी गर्न सदरमुकाम छिरेकी सपनाले रमाइलोमा आफ्नो भविश्य नै बिर्सिइन् । घरकी कान्छी छोरी भएकाले लहडमा हुर्किएकी सपनालाई नपुग्दो केही थिएन । उनले चाहे बाबा (जीतबहादुर) र आमा (तुलमाया) गाँस काटेर पनि उनको इच्छा पूरा गर्न अघि सर्थे ।
बेनी बजार आएसँगै गाँसिएको तीनमहिने पिरतीले सपनालाई बुटवलसम्म पुर्यायो । उनी भन्छिन्, ‘मैले त्यतिबेला होस गुमाएकी थिएँ । सही र गलत छुट्याउन सक्ने अवस्थामा थिइनँ ।’
त्यसैले त उनी भागी बिहे गरेर बुटवल पुगेकी थिइन् । त्यो पनि १२ कक्षाको पढाइ पूरा नगरी । बिहे आफंैमा गलत नहुन सक्छ । सपनाले त्यसलाई बिहेको संज्ञा दिन्नन् ।
उनको पिरतीको संसार दिगो बन्न सकेन । बरु उनको पिरती खरानीको पहाडजस्तो पो भयो । कुनै सानो चीजले धक्का दिँदा पनि गल्र्याम गुर्लुम ढल्ने । ‘मेरो आफ्नै गलत निर्णयका कारण सबैतिरका बाटाहरु बन्द भए । गाउँ जाऔँ, बाबा-आमालाई कसरी मुख देखाउँ । घर जाने बाटो नै बन्द भएपछि अरु कहाँ जाने ?’
त्यसपछि उनको निर्विकल्प विकल्प बन्यो सडक ।
भोको पेटको सडकबास उनका लागि निकै कष्टप्रद थियो । घरबाट झोलामा घ्यु र मिठा परिकार बोकेर बजार छिरेकी सपना एक गाँस तातो भातका लागि भिख माग्दै हिँड्नुपरेको थियो । उनी भन्छिन्, ‘त्यतिबेला सडकका वालवालिका नै मेरा साथी थिए । तर, प्रायः एक्लै बस्थेँ । भोकभोकै थुप्रै रातहरु कटाएँ ।’
कुनै दिन चिटिक्क परेर हिँड्ने सपना शहरको तुच्छ मानवमा परिणत भइन् । सपनाका कपालले लामो समय काइँयो देखेनन्, फोहोरले उनका हात र शरीर कट्कटिएका थिए । ‘म सबैलाई सहयोग गर्ने र कोमल मनको थिएँ’, सपनाले भनिन्, ‘धेरैले त्यसैको फाइदा उठाएर मलाई सडकमा पुर्याए ।’
जब उनी भोको हुन्थिन्, घरको यादले खुब पिरल्थ्यो । यो सबको दोष उनले आफ्नो कर्म र भाग्यलाई दिइन् । कति मानिसहरु उनको अस्मिता लुट्नका लागि पछि पर्दैनथे । उनले आत्मविश्वासका साथ प्रतिरक्षा गर्थिन् । ‘यस्तो जिन्दगी पनि के बाँच्नु भनेर मर्नका लागि पनि धेरै प्रयास गरेँ’, उनले भनिन् ।
के यी कथा मानिसले अकस्मात निद्रामा देख्ने सपनाजस्तै छैन त ?
सडकमा बस्न निकै गाह्रो भएपछि एक दिन आँट लिएर कसैलाई मोवाइल मागिन् र बेनीमा भएका भिनाजुलाई फोन गरिन् । ‘शुरुमा त म एकदमै रोएँ । अनि आफ्नो अवस्थाबारे बताएँ’, सपनाले भनिन्, ‘उहाँले र्फकन भन्नुभयो । त्यतिबेला मसँग एकसय रुपैयाँ थियो ।’
त्यतिबेलासम्म सपनाले बुटवलका सडकमा तीन महिना बिताइसकेकी थिइन् । यो २०७४ को कुरा हो ।
सपना भिनाजुसँग त पुगिन्, अझै घर पुग्न उनलाई निकै डर लागेको थियो । लाग्दै थियो कि अब घर होइन, बाघको मुखमा जाँदैछु ।
उता उनका बाबा-आमा छिमेकमा बेइज्जतीका पात्र बनिसकेका थिए । सबैले भन्थे, ‘तेरी छोरी बिगि्रई, खत्तम भई । नाक काटी ।’ आफ्नो गाँस काटेर हुर्काएकी छोरीबारे यस्तो सुन्दा बाबा-आमाको मनमा कति ठेस पुग्ला ? यसको वर्णन सम्भव छैन ।
तर, सपना आफ्ना बाबा-आमाका काखमा पुगिछाडिन् । बाबा-आमालाई देखेपछि मनको डर अन्त्य भयो । ‘बाबा आमालाई देख्नेवित्तिकै निक्कै रोएँ । अनि यस्तो गल्ती कहिल्यै गर्ने छैन भन्दै माफी मागेँ’, सपना फोनमै भावुक सुनिन्छिन् ।
समाजले जतिसुकै तिरस्कार गरोस्, उनका बाबा-आमाले माया मिसाएर गाली गरे । यस्तो व्यवहारले झन् सपनालाई जीवनमा निकै ठूलो गल्ती गरेको महसुस गरायो ।
तर, समाज । त्यहाँ उनलाई बसिसक्नु भएन । सपना भन्छिन्, ‘समाजमा यति धेरै तिरस्कृत थिएँ कि जहाँ गए पनि मेराबारे नराम्रो मात्रै कुरा सुन्थेँ ।’ उनका अघि त राम्रै कुरा गर्थे, पछिबाट धारे हात लगाउँथे ।
अब उनीसामु समाजमा आफूलाई असल मान्छे सावित गर्ने चुनौति थपियो । उनी गाउँकै रत्न उच्च माध्यामिक विद्यालयमा भर्ना भइन् । छ महिनापछि आमा बाबाकै सल्लाहमा पोखरा आइपुगिन् । ‘म पोखरामै बसेँर ग्यालेक्सी इन्टरनेस्नल कलेजमा ट्युसन पढ्थेँ अनि परीक्षा दिन मात्र गाउँ पुग्थेँ’, सपनाले भनिन् ।
उनले १२ कक्षा पास पनि गरिन् ।
अब सपनाको जीवनले लय समात्न थाल्यो । पोखरामा पढ्दै गर्दा जापानिज भाषा सिकेर देश छाड्ने तयारी पनि गर्दै थिइन् । त्यतिबेला उनको भेट सलिना बस्नेतसँग भयो ।
उनीहरु हितैसी बने । सलिनाका बाबा थिए, विनयजंग बस्नेत । सपनाले पनि विनयलाई बुवा भन्न थालिन् ।
सलिना जापान पुगेर, अहिले अस्ट्रेलिया पुगिसकिन् । सपना भने आफ्नो बाँकी पढाई पूरा एक वर्षअघि काठमाडौं हान्निइन् ।
काठमाडौं आएको दुई महिनापछि पुनः सपनाको भेट विनयजंगसँग भयो । विनयले सपनालाई महालक्ष्मी नगरपकालिकास्थित चांगाथलीको आफ्नै घरमा राख्न थाले । छोरीकै व्यवहार गर्न थाले । त्यहीँ बस्दा सपनाले विनयजंगको कामबारे थाहा पाइन् ।
एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयले विगत छ वर्षदेखि काठमाडौंका बेवारिसे शवको दाहासंस्कार गर्दै आएका रहेछन् । यो कामले सपनालाई पनि तान्यो ।
तर, कलिला हातले बेवारिसे शव जलाउन दिने मुडमा थिएनन् विनय । र, पनि सपनाको जिद्दीसामु विनयले हार खाए । सपना भन्छिन्, ‘म पनि घर नफर्किएर त्यसैगरी सडकमा मृत्यु भएको भए मेरो शव कसले दाहसंस्कार गथ्र्यो होला ? आज बाँचेर आएँ, त्यसैले बुवासँगै काम गर्नुपर्छ भन्ने लाग्यो ।’
****
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवदाह गृहमा यत्रतत्र शवहरु छरिएका छन् । सासै रोकिन्छ कि जस्तो गरेर दुर्घन्ध आइरहन्छ । कुनै शवका अंगहरु नै गायव छन् । तर, सपना शव सनाखत गर्ने समयसम्म गृहबाट बाहिर निस्किन्नन् ।
‘त्यो अँध्यारो शवगृहको लावारिस शव देख्दा शुरुमा निकै डर लाग्यो’, सपनाले सुनाइन्, ‘तर, पशुपति आर्यघाटमा पुगेर लावारिस शवको परिवारको सदस्यजस्तै गरी बाबाले दाहसंस्कार गरेको देख्दा आनन्द आयो ।’
त्यतिबेला तीनवटा बेवारिसे शवको दाहसंस्कार गरिएको थियो । त्यसपछि उनले प्रण गरिन् – बुवासँगै यो काम गरेरै छाड्छु ।
सपनाले सोचेजस्तै, त्यो दिन पनि आयो, जुन दिन आफूजस्तै र आफ्नै उमेरकी बेवारिसे युवतीको शवलाई सपनाले दागबत्ती दिनुपर्यो ।
पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्न तम्तयार १७ वटा शवमध्ये एउटा अञ्दाजी १८ वषर्ीय युवतीको शव पनि थियो । हिजो सडकबाटै आएकी सपनालाई आफ्नै शव जस्तो लाग्यो । को, कहाँ, कसरी, किन यसरी ? ती अञ्जान युवतीबारे उनका मनमा अनेक प्रश्नहरु जेलिए । उनी आफ्नो विगतमा हराइन् ।
‘त्यो दिन म खुब रोएकी थिएँ । कतै म पनि …….’, सपना बोल्दाबोल्दै रोकिइन् ।
कोभिडको भयावहमा पनि सपना र विनयले निडरताका साथ बेवारिसे शवलाई थप सड्न दिएका छैनन् । अहिलेसम्म आफ्नै हातले १०० भन्दा बढी शव दहन गरिसकेको बताउँछिन् सपना ।
तर, दसैँदेखि उनी पशुपति आर्यघाटमा देखिएकी छैनन् । आफ्नो घर पुगेकी सपना काठमाडौं फर्किएकी छैनन् । ‘हाम्रो शाखा चितवनमा छ । दसैँ र तिहारका बीचमा त्यही गएकी थिएँ’, उनले भनिन्, ‘अव छिट्टै काठमाडौं फर्किन्छु ।’
हिजो तिरस्कार गर्ने उनको गाउँलेहरु आज छोरी र नातिनीको साइनो लाउँदै उनीसँग नजिकिन खोज्छन् । गाउँलेले उनलाई फूलमाला र टीकाले सम्मान पनि गरिसकेका छन् । यहीबीच उनले आफ्नो जन्मदिन पनि मनाइन् ।
तर, जन्मदिनका लागि उनका शुभेच्छुकले पठाएको ५० हजार रुपैयाँ उनले गाउँको निम्नवर्गीय परिवारलाई राहत दिइन् । उनी भन्छिन्, ‘गलत गर्यो भने आफ्नैले पनि चिन्दैनन् । तर, राम्रो काम गर्यो भने पराई पनि आफ्नो बन्न आउँदारहेछन् ।’
आज आएर पाएको सफलताले विगतमा लिन लागेको आत्महत्याको निर्णयप्रति ग्लानी बनाएको छ सपनालाई । ‘मान्छेले गल्ती गर्न सक्छ । तर, मर्नु ठूलो कुरा होइन रहेछ । ठूलो कुरा त हिम्मत नहार्नु पो रहेछ ।’
सपनाले आफूमाथि थप जिम्मेवारी आएको र आफूले पाएको हौसलालाई कहिल्यै पनि डग्मगाउन नदिने बताईन।