OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति

अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरको राष्ट्रपतिका रूपमा बाइडेन सबैभन्दा बढी मतसहित विजय

कोरपाटी संवाददाताकार्तिक २३, २०७७काठमाडौं
५५० पटक

 

काठमाडौं
२०७७ कार्तिक २३ आइतबार

बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ रोबिनेट बाइडेन जुनियर (जो बाइडेन) अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी भएका हुन् । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टनले जित दर्ज गरेका थिए ।

राष्ट्रपति निर्वाचित हुन कुल दुई सय ७० इलेक्टोरल भोट चाहिनेमा बाइडेनले कम्तीमा दुई सय ७९ भोट सुरक्षित गरेको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार पेन्सिलभेनिया र नेभाडा राज्यमा निर्वाचित भएसँगै बाइडेनले ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् । ७८ वर्षे बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा निर्वाचित हुने व्यक्तिसमेत हुन् । उनले अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेका छन् । अहिलेसम्म उनले सात करोड ४८ लाख मत प्राप्त गरेका छन् ।

एसोसिएटेड प्रेस र युएसए टुडेलगायत मिडियाले बाइडेनको पक्षमा दुई सय ९० इलेक्टोरल भोट जुटिसकेको दाबी गरेका छन् । एरिजोना राज्यमा समेत बाइडेनको जित हुने उनीहरूको दाबी छ । उनीहरूका अनुसार जोर्जिया, नर्थ क्यारोलाइना र अलास्का राज्यको मत परिणाम टुंगिन बाँकी छ । तीमध्ये जोर्जियामा बाइडेनले अग्रता लिइरहेका छन् भने बाँकी दुईमा ट्रम्प अगाडि छन् । ट्रम्पले हालसम्म दुई सय १४ इलेक्टोरल भोट जुटाएका छन् । अहिले जसले अग्रता लिइरहेको छ, उसैले ती राज्यमा जितेको अवस्थामा बाइडेनले तीन सय ६ इलेक्टोरल भोट पु¥याउनेछन् भने ट्रम्पको भोट दुई सय ३२ मात्रै पुग्नेछ । यसपटक चुनावअघिका अधिकांश मत सर्वेक्षणले डेमोक्र्याटका उम्मेदवार बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, तीव्र प्रतिस्पर्धाका बीच बाइडेनले जित निकालेका छन् ।

त्यस्तै, कमला ह्यारिस अमेरिकाको इतिहासकै पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् । त्यति मात्रै होइन, उनी अमेरिकाको इतिहासमा पहिलो अश्वेत आप्रवासी उपराष्ट्रपतिसमेत बन्न सफल भइन् । ह्यारिस जमैकन बाबु र भारतीय आमाकी पुत्री हुन् ।

बाइडेनले अमेरिकाको इतिहासमा हालसम्मकै सबैभन्दा बढी लोकप्रिय मतसमेत ल्याएका छन् । उनले हालसम्म सात करोड ४८ लाख ५८ हजार मत प्राप्त गरेका छन् । यसअघि सन् २००८ मा बाराक ओबामा ६ करोड ९५ लाख लोकप्रिय मतसहित निर्वाचित भएका थिए । यसपटक पराजित उम्मेदवार ट्रप्पले पनि ओबामाको रेकर्ड तोड्दै सात करोड पाँच लाख ९८ हजार मत ल्याइसकेका छन् ।

राष्ट्रपतिमा जित सुनिश्चित भएपछि बाइडेनले आफ्नो विजयले अमेरिकी जनताको हृदयमा गहिरोसँग प्रजातान्त्रिक संस्कार बसेको प्रमाणित भएको बताए । ‘म मेरोविरुद्ध मतदान गर्ने अमेरिकी जनताका लागि पनि त्यत्तिकै काम गर्नेछु, जति मेरो पक्षमा मतदान गर्नेका लागि गर्नेछु,’ बाइडेनले सम्बोधनका क्रममा भने, ‘यो अमेरिका एकीकृत हुने समय हो, संसारमा यस्तो कुनै काम छैन, जो हामी गर्न नसकौँ । तर, त्यसका लागि हामी एकीकृत हुनुपर्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गरेका छैनन् । निर्वाचन परिणामलाई अस्वीकार गर्दै उनले पटकपटक ट्विट गर्ने गरेका छन् । शनिवार साँझ (अमेरिकामा बिहान) बाइडेनको जित सुनिश्चित भएको खबर आएपछि पनि उनले ट्वीट गरेका छन्, ‘यो निर्वाचन मैले फराकिलो अन्तरले जितेको छु ।’ शनिवार नै उनी भर्जिनियास्थित आफ्नै गोल्फ क्लबमा गोल्फ खेल्न पुगेका थिए । उनले त्यहीँबाट निर्वाचनमा षड्यन्त्र गरी आफूलाई हराउन खोजेको आरोप पुनः लगाउँदै वक्तव्य जारी गरेका छन् । ‘यो निर्वाचन सकिएको छैन, कुनै पनि राज्यमा जो बाइडेन निर्वाचित भएको प्रमाणित भएको छैन,’ उनले भनेका छन्, अत्यन्तै प्रतिस्पर्धा भएका कुनै पनि राज्य जो अनिवार्य पुनः गणनामा जाँदै छन्, वा कुनै पनि राज्य जहाँ हाम्रो निर्वाचन अभियानले मुद्दा हालेको छ, तिनलाई छुट्याउँदा बाइडेनको जित भएको छैन ।’ डेमोक्रेटिक पार्टी मात्रै होइन, सरकारी अधिकारीहरू र मिडियासमेत षड्यन्त्रपूर्वक आपूmलाई पराजित गर्न लागेको आरोप उनले लगाएका छन् ।

दोस्रो कार्यकालका लागि पराजित हुने ट्रम्प पहिलो राष्ट्रपतिचाहिँ होइनन् । अमेरिकाको सय वर्षको इतिहासमा पदमा रहँदाको बखत पराजित हुने उनी पाँचौँ राष्ट्रिपति बनेका छन् । यसअघि सन् १९९२ मा रिपब्लिकन पार्टीकै राष्ट्रपति जर्ज बुस सिनियर डेमोक्र्याटिक उम्मेदवार बिल क्लिन्टनसँग पराजित हुन पुगेका थिए । त्यस्तै, सन् १९८० मा भएको निर्वाचनमा डेमोक्र्याट राष्ट्रपति जिम्मी कार्टर रिपब्लिकन रोनाल्ड रेगनसँग पराजित भएका थिए । त्यस्तै, सन् १९७६ मा कार्टर पनि बहालवाला राष्ट्रपति जेराल्ड फोर्डलाई हराएर ह्वाइटहाउस प्रवेश गरेका थिए । त्यसअघि सन् १९३२ मा भएको निर्वाचनमा रिपब्लिकन राष्ट्रपति हर्बर्ट हुवर डेमोक्र्याट फ्र्यांकलिन रुजवेल्टसँग पराजित भएका थिए । रुजवेल्टले राष्ट्रपतिका रूपमा तीन कार्यकाल पूरा काम गरे र चौथो कार्यकालका क्रममा सन् १९४५ मा उनको निधन भयो । उनी नै अमेरिकाको इतिहासमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने एक मात्र व्यक्तिि हुन् । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्