Skip Add

OnlinePana

आज : २०७७ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
शुरबहादुर सिंह आश्विन २७, २०७७सुर्खेत
१०६ पटक

२२, असोज २०७७, मंगलबार

संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली हो, कालीमार्सी धान । जुन समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाईको भूमि जुम्लामा मात्र फल्ने गर्दछ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली बेला बेलामा नेपाली बजारमा चर्चामा आउने गर्दछ ।

तत्कालीन् राजा महाराजाहरुले खाने उच्चकोटीको रुपमा हेरिने कालीमार्सी त्यतिबेला मात्र होइन्, यतिबेला पनि विशेष महत्व दिएर खाने गरिन्छ । यो चामल खानेहरुको सान, मान र सम्मान अहिले पनि फरक छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा देखिदैन । समाजमा यो चामल खुवाउने र खाने दुवैको भिन्नै पहिचान हुने गर्दछ ।

तत्कालीन गौंडा प्रशासनको बेला श्री ३ महाराजालगायत नेपालका शाह वंशीय राजाहरुलाई प्रतिदिन हुलाकबाट पाँच देखि १० केजीसम्म पठाईने चामल महिनौं दिनपछि काठमाडौंमा पुगेर उनीहरुको आहारा बन्थ्यो । अहिले पनि शक्तिशाली र उच्च ओहोदामा बस्ने व्यक्तिहरुको मुख्य आहारा बन्ने गर्छ, कालीमार्सी । बजारमा सजिलै सबैले भन्ने बित्तिकै यो चामल पाउन कठिन छ ।

जुम्लामा सामान्य वर्गले उपभोग र बिक्रीवितरण गरेपनि निर्यातपश्चात् बाहिरी जिल्लामा जाँदा विशिष्ट व्यक्तिहरुको आहाराको प्रमुख परिकार बन्दछ । अर्गानिक हिमाली उत्पादनका रुपमा परिचित जुम्लीमार्सी, जुन हिँजोदेखि आजसम्म हरेकको आकर्षणको खाना बनेको छ । मूल्य पनि बजारमा पाईने विभिन्न प्रकारका चामल भन्दा असामान्य छ ।

दुई वर्ष अघि नेकपाका अध्यक्षद्वय तथा हाल बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का साथमा मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले खाएको कालीमार्सी चामलको खाना मुलुकमै सर्वाधिक चर्चाको विषय बन्यो । राजनीतिक वृतमा यसको निकै चर्चा परिचर्चा भयो । जसले कालीमासीको विशेषता, इतिहास, किफायती र महत्वसमेत बढायो ।

यसको विशेषता, गुण, महत्व र उपयोगिताका बारेमा पनि धेरैले अखबार, अनलाईनहरुमा लेखहरु लेखे भने रेडियो र टेलिभिजनमा पनि यसबारे मुख्य समाचारहरु प्रसारण भए । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णन एवं कथन पनि सामाजिक सञ्जालहरु पनि त्यत्तिकै रंगिए ।

अधिकतम गुणात्मक महत्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबालीका रुपमा ठानिदै आएको छ । अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाईमा धान फल्ने स्थानका रुपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्यूलो कालीमार्सी धान फल्ने दृष्टिकोणबाट निकै प्रख्यात छ ।

नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्याङ्क अनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्वहरुसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाईड कालीमार्सीमा धेरै मात्रमा पाईने गर्दछ । अन्य धान भन्दा जुम्ली मार्सीमा फाईबर पनि बढी पाईने भएकोले स्वास्थ्यका हिसाबले अधिकतम् उपयोगी मानिन्छ ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले सबै भन्दा बढी चिसो सहन सक्ने क्षमता भएको कालीमार्सी धानमा प्रोटिन र सुक्ष्म तत्वहरु (आईरन, फोस्फरस), पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाईने गरेको जनाउनुभयो । “जुम्ली मार्सीमा पाईने पोलिफेनोल र फ्ल्यावोन्वाईडले मानव तन्तुहरुलाई सक्रिय बनाउँछ,” उहाँले भन्नुभयो, “यसैले होला, यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ।”

कालीमार्सी धानको सामाजिक मात्र होइन, साँस्कृतिक, धार्मिक महत्व र उपयोग पनि त्यत्तिकै छ । ऐतिहासिक गाथालाई केलाउँदा गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्च कोटीको धान बालीका रुपमा चिनिन्छि, यसलाई । चन्दननाथ बाबाको तत्कालीन् तपस्या (आजको अनुसन्धान) बाट यसको प्रतिपादन भएको बताउनुहुन्छ, कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य ।

“केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको काश्मीरबाट ल्याएको भनेका छन् । यो नितान्त गलत हो,” आचार्यले भन्नुभयो, “गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।” यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन् इतिहास’ मा चन्दननाथ बाबाले वि.सं.१४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन् राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टिका लगाएको) उल्लेख गरिएको उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “संस्कृतमा ‘भारतवर्षे हिमवते खण्डे नेपाल देशे’ भनेर कालीमार्सी धान उत्पादनको वर्णन गरिएको छ । त्यस्तै, साके सम्वत् १५१५ मा हरिदास भन्ने विद्धानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ ।

किंवदन्ती अनुसार पछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको शुरुवात गरिएको र त्यो पछि साविकक कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरुमा पाईन्छ ।”

यसको उत्पत्ति करिब ५५० वर्ष पहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अति महत्व एवं गरिमाको कालीमार्सी धानको प्याटेन्ट राईट (बौद्धिक सम्पतिमाथिको अधिकार) आजसम्म पनि कायम हुन नसक्नु दुःखद् कुरा भएको प्रतिक्रिया दिनुभयो ।

मूलतः यार्सागुम्बा (जीवनवबुटी), गुच्ची च्याउ, कालीमार्सी धान हिमवत खण्डमा उत्पादन हुने वस्तु हुन् । चिसो ठाउँमा उत्पादन हुने वस्तु मानव स्वास्थ्यका हिसाबले जैविक र पौष्टिक दुवै मानिन्छन् । यिनीलगायत हिमाली जिल्लामा उत्पादन हुने अन्नबाली, जडिबुटी, काष्ठ तथा गैर काष्ठहरुको प्याटेन्ट राईट नेपालले लिएको छ, या छैन भन्ने विषयमा कुनै जानकारी नभएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

२०५७ सालमा नेपालले विश्व व्यापार संगठनको सदस्य बनेर आफ्नो वस्तु र सेवा व्यापारमा विश्वव्यापी कानून मान्यता प्राप्त गरी बौद्धिक सम्पतिमाथिको अधिकारलाई सुरक्षित गर्न खोजेपनि विसं. २०६१ बैशाख ११ (२३ अप्रिल २००४) मा यो डब्लुटिओको सदस्य बनेको छ । जडानमार्सीका रुपले समेत चिनिने जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राईट’ सुनिश्चित गर्ने हेतुले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र (नार्क) विजयनगर जुम्लाले कार्य अगाडि बढाएको छ ।

उक्त धान सूचीकृतका लागि प्रस्तावना तयार गरिएको नार्क जुम्लाका प्रमुख एवं बरिष्ठ वैज्ञानिक तीर्थराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अब भने यसलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौंले सूचीकृत गर्ने भएको छ ।

“ऐतिहासिक विराट गाथा बोकेको धान अहिलेसम्म सूचीकृत नहुनु बिडम्बना हो,” केन्द्र प्रमुख रिजालले भन्नुभयो, “सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा बौद्धिक सम्पतिमाथिको अधिकार (प्याटेन्ट राईट) कायम राख्न सकेको छैन ।” उहाँले कालीमार्सीको उत्पत्ति जुम्लामै भएको दावी गर्दै यसको ‘प्याटेन्ट राईट’ लिन नेपालले जतिसक्दो छिटो पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कोभिड–१९ का कारण प्रस्तावना पेश गर्न ढिलाई भएको बताउँदै उहाँले के–३९ र एन आर १०४८१ दुई जातका धानसमेत सिफारिस गरिएको जनाउनुभयो । त्यस्तै, केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि प्रस्ताव तयार गर्न थालिएको उहाँले बताउनुभयो । १२ जातको सिमी परीक्षण गर्दैछौं ।

केन्द्र प्रमुख रिजालले सिमीको ‘प्याटेन्ट राईट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको बताउनुभयो । उहाँका अनुसार केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भईरहेको छ । ब्लाष्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भईरहेको छ ।

कालीमार्सी शुरुवातको ऐतिहासिक भूमि तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले संरक्षणको अभावमा यो धानको उत्पादनमा कमी आउन थालेको जनाउनुभयो । निकै अडिलो, रक्तचाप, सुगरका बिरामीहरुको रोग नियन्त्रण गर्ने क्षमता भएको यो अन्नबालीसहित साविकको कर्णालीमा उत्पादन हुने सिमी, कोदो, फापर, लट्टे, उवा, चिनो, कागुनोलगायतका रैथानीबालीहरुको सम्वद्र्धन तथा प्रवद्र्धन गर्न सबै सरकार गम्भीर भएर लाग्न उहाँले आग्रह गर्नुभएको छ ।

हिजोआज यसमा भने ब्लाष्ट रोग लाग्न थालेको छ । मार्सी चामलको बजार महत्व बढेपनि ब्लाष्ट रोगका कारण उत्पादन पनि निकै घट्दै गएको छ । यसबारे अनुसन्धान भईरहेको नार्कका वैज्ञानिकहरुले बताएका छन् ।

जलवायु परिवर्तन र पछिल्लो समयमा ब्यूटाकलरलगायका विभिन्न विषादीको प्रयोगले यसको अस्तित्व संकटमा पर्न थालेको छ । संरक्षण र सम्वद्र्धनमा त्यति ध्यान दिईएको पाईदैन । मूलतः यसको संरक्षणमा र आफ्नो उत्पादनमा आफ्नो स्वामित्व ग्रहण अर्थात् कालीमार्सी धानको बौद्धिक सम्पतिमाथिको अधिकारलाई सुरक्षित गर्न नेपालले बेलैमै पहलकदमी चाल्नै पर्दछ ।

 

प्रतिकृया दिनुहोस्