OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७७काठमाडौं
३०० पटक

 

 

४ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ ।

इस्तानबुलमा आयोजित टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबले ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि उक्त अवार्ड दिएको हो । ‘कालो पोथी’ फेम्ड निर्देशक भामको आगामी चलचित्र ‘चिसो वर्ष’को सह–निर्माण टर्कीले गर्नेछ ।

पटकथाको आधारमा विश्वभरका चलचित्रमध्ये तीन वटालाई टीआरटी १२ पुन्टो अवार्ड प्रदान गरिन्छ । फिल्ममेकर्सको सहभागितामा बिशेष समारोहबीच प्रदान गरिने उक्त अवार्ड यसपाली भने कोरोनाको कारण अनलाइनबाट घोषणा गरिएको निर्देशक मीन भामले बताए । ‘टर्किस प्रोड्युसरले नै आवेदन दिएकाले मैले स्क्रिप्ट र अन्य कागजात मात्र पठाएको थिएँ’ भामले सुनाए, ‘त्यसैले यसबारे मलाई पूर्ण जानकारी चाहिँ छैन ।’

कस्तो छ कथा ?

निर्देशक भाम स्वयमले यसको पटकथा तयार गरेका छन् । थुप्रै पटक पुनर्लेखन गरिसकेका उनले अहिले भने पटकथालाई अन्तिम रुप दिइसकेको बताउँछन् ।

चिसो वर्षमा दुई पात्रको हिमाली यात्राको कथा छ । हराएका पतीको खोजीमा निस्किएकी गर्भवती महिला पेमा र दाइको खोजीमा निस्किएका वौद्ध भिक्षुबीच संयोगले भेट हुन्छ । उनीहरु एकसाथ आफन्तका खोजीमा निस्किन्छन् । त्यस क्रममा उनीहरुको जीवनमा आउने उतार–चढाव एवं परिवर्तन नै यसको मूल मर्म हो ।

आर्थिक अनुदान एवं पुरस्कार

‘चिसो वर्ष’ले यसअघि पनि विभिन्न आर्थिक अनुदान एवं पुरस्कार प्राप्त गरिसकेको छ । सन् २०१७ मा ‘चिसो वर्ष’ले एसियन प्रोजेक्ट मार्केट बुसान (कोरिया)को सरफन्ड पिचिङ अवार्ड जित्यो । सन् २०१८ मा स्वीटजरल्यान्डको लोकार्ने फिल्म फेस्टिभलमा ६ हजार युरो जितेको थियो ।

सन् २०१९ मा यसको स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड)बाट ६० हजार डलर ग्रान्ट सहयोग जितेको थियो । एसियन सिनेमा फन्ड अन्तर्गत १० हजार अमेरिकी डलर लगायत सिनेमाज डु मोन्डे प्रोडक्सन फन्ड प्राप्त गरिसकेको छ ।

कहिले बन्छ फिल्म ?

पटकथा लेखनमै चार वर्ष बढी समय बितिसकेको छ । र, निर्माण हुनुअघि नै ‘चिसो वर्ष’ले चर्चा पाइसकेको छ । अब यो चलचित्र कहिलेबाट छायांकन सुरु हुन्छ ? ‘अहिले निश्चित गर्न सकिरहेको छैन’ निर्देशक भाम भन्छन्, ‘कोरोनाको कारण यसको छायांकनको मितिलाई सार्नुपर्ने अवस्था आइलागेको छ ।’

उनी थप्छन्, ‘आगमी बैशाख, जेठमा छायांकन गर्ने तयारी भएपनि अहिले यसबारे ठोस निर्क्यौल भइसकेको छैन ।’

नजिकबाट मीनबहादुर भाम

–मीनबहादुर भाम २०४२ मा मुगुमा जन्मिएका हुन् ।

–१५ वर्षको उमेरमा उनी एसएलसी सकाएर काठमाडौं आए, काठमाडौं आए लगत्तै राष्ट्रिय नाचघरमा अभिनय सिक्न थाले ।

–निकै चर्चित भएको नाटक ‘कर्णाली दख्खिन बग्दो छ’ मा मीन कलाकारको रुपमा सहभागी थिए ।

–‘कालो पोथी’ चलचित्रबाट उनले आफुलाई अब्बल दर्जाको निर्देशकमा चिनाए । उक्त चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड हासिल ग¥यो ।

–‘कालो पोथी’को कथा उनले आफ्नै जन्मथलो मुगुको पृष्टभूमीमा तयार गरेका थिए ।

–कालोपोथी बनाउनुअघि उनले कर्णालीको कथामा ‘बाँसुल्ली’ नामको सर्ट फिल्म बनाएका थिए, जुन सन् २०१२ को भेनिस फिल्म महोत्सवमा समेत छनौट भएको थियो ।

 

अनलाइनखबर

प्रतिकृया दिनुहोस्