

जुम्ला, जेठ २२ गते ।
यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिपोट नतिजामा दैलेखका थप १०५ जनामा पोजेटिभ देखिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार आजको प्रतिवेदनमा दैलेखमा १०५ जनामा संक्रमण देखिनुका साथै मुगुमा पनि एक जनाको पोजेटिभ देखिएको छ । यस अघि विभिन्न समयमा कर्णाली प्रतिष्ठानबाटै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्ला सहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी आज एकाएक १०६ जनाको पोजेटिभ भएपछि प्रतिष्ठानले सार्वजनिक गरेको तथ्यांकमा २१३ जना पोजेटिभ देखिएका छन् । यसैगरी एकै दिन यति धेरै पोजेटिभ देखिएपछि यहाँ त्रास बढेको छ ।
पोजेटिभ हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन् । जसमा ५ जना महिला छन् । यसैगरी देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगनीका ५ जना, बासकोटका १ जना रहेका छन् । यसैगरी मुगु खत्याडका १ जना पुरुषमा पोजेटिभ नतिजा देखिएको छ ।