

नेत्र शाही /जुम्ला,
असार ३२ गते । जुम्लामा स्थानीय सरकारले निशुल्क रुपमा कुलोमा श्रमदान गर्ने व्यक्तिको नाममा ताम्रपत्र तयार गरिएको छ । जुम्लाको तिला गाउँपालिकाले वडा नम्बर ४ मा रहेको ६ किलोमिटर लम्बाई भएको बुहार, झारखेत सिँचाई कुलो खनेर मार्सिधान फल्ने सिँचाई गर्न सफल गर्ने योगदानकर्ता व्यक्तिलाई ताम्रपत्रमा नाम अभिलेखीकरण गरिएको छ ।
जुम्लाको तिला गाउँपालिकाले उक्त सिँचाई कुलो निर्माण गर्ने व्यक्तिको नाममा तयार पारिएको ताम्रापत्रको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले अनाबरण गर्नुभएको छ । तिला गाउँपालिका ४ सापुल्ली, रावतवाडा र नुवाकोट गाउँका मार्सीधान फल्ने भण्डारी ज्यूलो, सिमखेत, बुंगार र झारखेतका चार वटा ज्यूलोमा सिँचाई भईरहेको कुलो खनेर श्रमदान गर्ने सापुल्ली गाउँका मुल नेतृत्वकर्ता बिर बहादुर सिंह र सहायक नेतृत्वकर्ता रावतवाडाका खाम्मानाथ योगीे नेतृत्वको तत्कालिन श्रमदान गर्ने झण्डै पाँच दर्जन व्यक्तिहरुलाई ताम्रपत्रमा नाम अभिलेखीकरण गरेर सम्मान गर्न पाउदा खुशी व्यक्त गर्नुभयो ।
ताम्रपत्रमा उल्लेख भए अनुसार वि.सं १९६२ कुलो निर्माण कार्य शुरुवात गरि तिला गाउँपालिका ४ बुंगारको भिर सम्म कुलो ल्याएर छोडिएको थियो, पुन दोस्रो पटक रावतवाडा निवासी मोतिलाल नाथ योगी लगायतका व्यक्तिले केही काम गरेका थिए । तर नाभी डाडाँको भिर फुट्न नसक्दा सिँचाई हुन कठिन भयो । झण्डै एकसय बर्ष पछि तत्कालिन गाविस अध्यक्ष चक्रबहादुर शाहीको पहल, नुवाकोटका भक्तबहादुर चौलागाई सहितका व्यक्तिको समर्थनमा तिला ४ सापुल्ली गाउँका बिरबहादुर सिंहको नेतृत्वमा श्रमदानबाट निर्माण शुरु गरिएको बुंगार– नाभिडाडा हुदै झारखेत सिँचाई कुलो निर्माणमा योगदान दिनेहरुको अभिलेखीकरण गर्ने गाउँकार्यपालिकाको निर्णय भए अनुसार झण्डै चार दर्जन कुलो श्रमदानकर्ताहरुको अभिलेखीकरण गरिएको छ । योगदानकर्ताका अनुसार कुलो निशुल्क निर्माण गर्न वि.स. २०५३ देखी २०६३ दश बर्ष लागको थियो । ताम्रपत्रमा उल्लेख भए अनुसार दश बर्षमा पाँच करोड तिल लाख छ हजार रुपियाँको श्रमदान भएको उल्लेख छ ।
ताम्रपत्रको अनावरण गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले अहिलेको विकास पैसा बाहेक अगाडि बढ्दैन तर विगत हाम्रा अग्रजहरुले निशुल्ःक श्रमदान गरेर लाखौ, करोडौको काम गरेको ईतिहास दस्तावेजीकरण गर्न गाउँपालिकाले ताम्रपत्रबाट सम्मान गरेको बताउनुभयो । उहाँले खेतमा सिँचाई ल्याउन नाभिडाडाको भिर फोर्ने बहादुर श्रमदानकर्ताहरु अग्रज बिरबहादुर सिंह सहितको टिमलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले श्रमदान गरेर सिँचाई कुलोको पानी ल्याउन सफल गर्ने धेरै व्यक्तित्वहरुको निधन भईसकेको र उहाँहरुको नाम स्थानीय सरकारले सदाको लागि ताम्रपत्रमा राख्न पाउदा खुशी व्यक्त गर्नुभयो । उपाध्यक्ष वुढाले श्रमदान कर्ता र परिवारलाई नेपाली ढाँका टोपीले सम्मान समेत गर्नुभयो ।
वुंगार –नाभीडाडा–झारखेत सिँचाई कुलोका श्रमदान नेतृत्वकर्ता ७५ बर्षिय किसान बिरबहादुर सिंहले हाम्रोे दुःख सम्झेर तिला गाउँपालिकाले ताम्रपत्रमा नाम राखिदिएकोमा धन्यबाद दिनुभयो । उहाँले साधन विहिन अवस्थामा वाउसोले कुलो खनेको स्मरण गर्दैै नाभीडाडाको भिर फुटाल्दा आफ्नो छोरा धिरबहादुर सिंह कुलाबाट खसेर धन्नै नदिमा पर्नबाट जोगिएको स्मरण गर्नुभयो । उहाँले आफु् सँग श्रमदान गर्ने दर्जनौ व्यक्तिहरु स्वर्गिय भईसकेकोले भित्रै देखी सम्झेको बताउनुभयो । सिंहले कुलोको आधुनिक विकासमा स्थानीय सरकारले सहयोग गर्ने अपेक्षा गरिएको जोड दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानले हाम्रा अग्रजले आफ्नो कामका लागि कसरी निशुल्क काम गर्थे भन्ने उदाहरण यो कुलोका श्रमदाताहरुलाई लिन सकिने भएकाले अहिले विकासमा पनि श्रमदानलाई प्रथामिकता दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
पूर्व गाविस अध्यक्ष चक्रबहादुर शाहीले सानो तिना दुःखले कुलो श्रमदानबाट सफल भएको होईन । आजको यूवाले यस्ता काममा जोड दिन आवश्यक रहेको बताउनुभयो । तिला गाउँपालिका ४ का वडाध्यक्ष भद्रविर सार्कीले पुर्खाहरुले ढुंगा प्रयोग गरेर धेरै स्थानमा काम गरिरहेको ईतिहास रहेको छ । हाम्रा अग्रजले पनि सिमित स्रोत साधनले यति श्रमदान गरेकोमा धन्यवाद दिनुभयो । स्थानीयले अहिले वुंगार –नाभीडाडा–झारखेत सिँचाई कुलो निर्माण समिति निर्माण गरेर गाउँपालिकामा यो कामका लागि माग गरेको समितिका अध्यक्ष बिरबहादुर सिंहले जानकारी दिनुभयो ।