

२२ जेठ २०८२, बिहीबार
सुर्खेतः उमेरका हिसाबले सुस्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भएपनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवा भन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका ४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले श्री सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।
अलि चञ्चले र खुला स्वभावकी सुस्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले निकै कमजोर छ । आमाले मात्र प्रौढ शिक्षा अध्ययन गर्नुभएको छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुस्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उहाँलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुदैन ।
मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुस्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढ भन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले आयतित अन्नमै निर्भर हुनुपर्ने बाध्यता छ, उहाँको परिवालाई । बुबा मजुदुरीका लागि कालापहाड (भारत) र आमा सुस्मालगायत उहाँका एक भाई बहिनीको स्याहार गर्दै आउनुभएको छ । खड्गबहादुर कालापहाड गएको करिब वर्षदिन पुग्न थाल्यो तथापि अहिलेसम्म घर फर्कनु भएको छैन ।
निम्न वर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुस्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कपी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उहाँ फरक धारणा र प्रस्ताव प्रस्तुत गर्नुहुन्छ । अलि खरो स्वभावी भएकी सुस्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आउनुभएको छ । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७–२९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो ।
उक्त सम्मेलनमा उहाँले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गर्नुभयो । कुनै तयारी विना नै पहिलो पटक मञ्चमा उक्लेकी उहाँले एकल नाटकबाट दर्शकहरुलाई क्षणभरमै प्रभावित बनाउनुभयो । जहाँ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल, मन्त्री, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मञ्चमा पुगेर खस भाषामै उहाँले भन्नुभयो, “आईगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरुका कुडा सुन्दिने आखिर को थिए र ? हाम्रा कुडा सुन्दिने कोइनाई, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई । यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो ।” तथापि सम्मेलनका सहभागीहरुलाई उहाँले सके उड, उड्न सक्दैनौ दौड, दौड्न सक्दैनौं हिड, हिड्न सक्दैनौ घस्रिअ, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौं भन्ने उर्जा पनि दिनुभयो ।
मञ्चमा सुस्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, संघीय संरचना अनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरुको भूमिका र सिंगो नेपालको राजनीतिक प्रणालीमाथि व्यंग्य गर्नुभयो । न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरुको न्याय सम्पादन कमजोर रहेको र कति त आफै अन्यायमा परेको सवाल समेत उहाँले उठान गर्नुभयो ।
सुस्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरुको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरुको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिंगो नागरिकले दुःख पाउँदै आएका छन् । गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्य चकित पारेको थियो ।
मञ्चमा उभिएकी सुस्माले निर्धक्कका साथ भन्दै हुनुहुन्थ्यो, “भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ । जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन । कुर्चीमा बस्नेहरुले नै नागरिकहरुलाई अपमान गर्दै आएका छन् । उनीहरुको झुटको खेती एकातिर छ भने विकास गर्ने भन्दा खाने संस्कृति त्यत्तिकै मौलाउँदै गएको छ । कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखेपनि कार्यान्वयन प्रभावकारी छैन ।”
उहाँको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरु भन्दा कम थिएन । सुस्माको कलात्मक प्रस्तुतिले कुनैपनि क्षमता र प्रतिभावान् व्यक्तिहरुको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सृजनशील र सकरात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो ।
दलहरुका घोषणा, संकल्प, प्रतिबद्धता जप्ने मन्त्र जस्तै भएकोले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । सुस्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ । स्वर नभएपनि भविश्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उहाँले गरिब, निमुखाहरुको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरितीविरुद्ध बोलिरहने बताउनुभएको छ ।
सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थी भन्दा फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुस्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन् । समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ । गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ । यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने संभावना छ ।”
सुस्माले आर्थिकरुपले परिवारिक अवस्था कमजोर भएकोले आफूले चाहे जस्तो गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबा धेरै जसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ । हामीलाई खाना, लत्ता कपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पुरा गर्न आर्थिक अभाव धेरै छ । गरिबी सफलताको बाधकका रुपमा तेर्सिएपनि यसलाई चिरेर अगाडि बढ्ने व्यक्तिले दुःख र संघर्ष गर्नुपर्दोरहेछ । त्यही दुःख एवं संघर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविश्य निर्माण गर्ने यात्रामा लाग्नेछु ।”