

८ बैशाख २०८३, मंगलबार
कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सेवा प्रवाहलाई प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थासँग जोड्न सुझाउनुभएको छ ।
प्रतिष्ठान जुम्लाका उपकुलपति डा.पूजनकुमार रोकाय नेतृत्वको टोलीसँग आज सुर्खेत वीरेन्द्रनगरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री भण्डारीले सेवा प्रवाहलाई प्रदेशभर बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार मातहतका निकाय र जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थालाई जोडेर सेवा प्रवाह गर्नु नै यहाँका नागरिकलाई स्वास्थ्यमा सहज पहुँच गराउनु हो भन्नुभयो ।
संघीय सरकारद्वारा सञ्चालित प्रतिष्ठान र प्रदेश सरकार मातहतका निकायसँगको सम्बन्धमा देखिएको अन्तरलाई कम गर्ने विषयमा छलफल केन्द्रित गरिएको थिो । यसबाट प्रदेश सरकार र प्रतिष्ठान बीचको आपसी सम्बन्ध निर्माण गर्न तत्परता देखिएको जनाइएको छ ।
छलफलमा स्वास्थ्य अनुसन्धानका लागि सहकार्य, उपचार सेवा प्रवाह, आयुर्वेद स्वास्थ्य सेवाको खोज अनुसन्धान, जनशक्ति परिचालन र स्रोत साधनको उपलब्धतालाई बढोत्तरी गर्दै लैजाने सहमति भएको मन्त्रालयले जनाएको छ ।




