OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १२, २०८१काठमाडौं
७६ पटक

१२ असाेज २०८१ शनिबार

इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।

सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।

देवकुमारले भने आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश तथन विज्ञप्ति जारी गरिरहे । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने दाबी छ । बागलुङ र पोखराका सहकारी पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।

सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।

भारतमा पक्राउ परेका देवकुमारलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ । यससँगै आफूहरुको समस्या समाधान हुनसक्ने आश जाथगेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की बताउँछन् ।

सूर्यदर्शनको अध्यक्ष नपाएपछि खोलेका थिए इमेज

अस्वभाविक आर्थिक छलाङ मारेका देवकुमार, कुनै समय सूर्य दर्शन लगायतका सहकारीको रकम अपचालनमा संलग्न गितेन्द्रबाबु (जीबी) राईको समूहमा थिए । उनी पोखरामा सूयदर्शन सहकारी खोल्नेताका जीबीसँग जोडिएका थिए ।

सूर्यदर्शन सहकारीको उपाध्यक्ष भए । संसदीय समितिको प्रतिवेदनअनुसार देवकुमार नेपालीसहित मेखबहादुर विक, विकास श्रेष्ठ र कल्पना पहारीले २०६७ मा शेयर लिए । त्यसपछि देवकुमार सूर्यदर्शन सहकारीको उपाध्यक्ष बने । उनी अध्यक्ष बन्न चाहन्थे, तर लगातार तीन वटा बैठक बस्दा नबस्दै विवाद उत्पन्न भयो ।

ज्ञानबहादुर बम्जन र जीबी राईले २० करोड रुपैयाँ हिनामिना गरेर काठमाडौं पठाइएको नेपालीको दाबी थियो । उनीहरुले सहकारी डिभिजन कार्यालयमा उजुरी समेत दिएका थिए । प्रतिवेदनअनुसार नेपालीको मुख्य उद्देश्य सूर्यदर्शन अध्यक्ष बन्नु थियो । तर जीबीले नदिएपछि देवकुमारले सूर्यदर्शनकै कर्मचारी दीपक पौडेलको साथ लिएर २०६८ सालमा पोखरामा इमेज सहकारी खोले ।

पोखरासँगै २०६९ सालमा बाग्लुङमा सहकारी खोलेका थिए । नेपालीले पोखरामा चित्रबहादुर भण्डारीलाई अध्यक्ष बनाएका थिए भने बागलुङमा आफैं अध्यक्ष र छोरा सुनीललाई सचिव बनेका थिए । सूर्यदर्शनकै शैलीमा सार्वसाधारणको बचत कुनै कागजातबिनै व्यक्तिगत स्वार्थमा लगाउने काम देवकुमारले गरे ।

पोखरा महानगरको सहकारी शाखाका अनुसार उनले पोखरामा सञ्चालक समिति नै फर्जी बनाएका थिए । पोखराको इमेजबाट ६० करोड र बागलुङबाट झण्डै २ अर्ब रुपैयाँ सार्वसाधारणको बचत अपचलन भएको अध्ययनले देखाएको छ ।

देवकुमारले सुरुमा महंगो ब्याज दिने भन्दै पोखराका बचतकर्तालाई आकर्षित गरेका थिए । नेपालीले तिब्बतीयन छेलासँग बिहे गरेपछि त्यो सम्बन्ध प्रयोग गरेर पनि पोखराको इमेज सहकारीमा धेरै रकम भित्राएका थिए ।

आर्थिक हिसाबले सबैको नजरमा सम्पन्न देखिएकाले पनि बागलुङ बजार, बुर्तिबाङमा धेरै जना जोडिए ।

‘सामान्य परिवारमा जन्मिएका देवकुमार एकाएक हेलिकप्टरमा आउन थाले । गाउँमा केही प¥यो भने पैसा बाँड्ने, युवाहरुलाई सहयोग गर्ने गर्न थाले, बुर्तिबाङ दरबार टठ्याए,’ बुर्तिबाङका स्थायीवासी डिबी भण्डारीले अनलाइनखबरसँग भने ।

स्थानीयका अनुसार बुर्तिबाका थुप्रैले लालपूर्जा धितो राखेर कृषि विकास बैंकबाट ऋण लिएका थिए । डा. बाबुराम भट्टराई सरकारले कृषि बैंकको ऋण मिहाना गरिदिएपछि देवकुमार आफैंले लगेर लालपूर्जा फिर्ता गरेका थिए ।

बागलुङ बुर्तिबाङमा सामान्य परिवारमा जन्मिएका नेपालीको अस्वभाविक धनाड्यका रुपमा उदय भयो । उनले बागलुङ बजार, बुर्तिबाङ बजार र पोखरामासमेत कर्मा भवनका नाममा अलिसान महल बनाएर त्यसैमा सहकारी चलाएका थिए । उनको बुर्तिबाङमा दरबार होटल, कर्मा भवन, चाइनिज इटाले बनाएका करिब ७ वटा घरसहित अग्ला पर्खालले घेरिएको आवासमा बस्ने गर्थे ।

२०७४ को स्थानीय निर्वाचनमा उनी माओवादीबाट मेयर लड्न चाहन्थे, तर टिकट नपाएपछि एकाएक एमाले प्रवेश गरेर चुनाव जिते । रातारात माओवादी छोडेर एमालेबाट टिकट पाएपछि उनी मनोनयन दर्ता गर्न हेलिकप्टरबाट गएका थिए । मेयर भएपछि त उनलाई विश्वास नगर्ने कोही भएन ।

हेलिकप्टरमा हिँड्ने, आफ्नै घरको छत ल्याण्ड गर्ने देखेका नागरिकले सहकारी डुब्ला भन्ने कल्पना नै नगरेको पीडित संघर्ष समिति पोखराका हरिबहादुर खत्री बताउँछन् ।

देवकुमारले २०७९ मा फेरि एमालेबाटै मेयर जिते । त्यतिबेला सहकारी समस्यामा परेको गाइँगुईँ चल्न थालिसकेको थियो । २०८० जेठमा त उनी फरार भए ।

उनलाई चिन्नेहरु भने देवकुमारको महत्वकांक्षाले नै सहकारी डुब्ने अवस्थामा पुगेको बताउँछन् । सहकारीको पैसा जुन बेला मन लाग्यो, त्यही बेला अभिलेख समेत नराखी लैजान्थे । मेयर भएपछि त प्रमुख अतिथि भएको कार्यक्रममा ४÷५ लाख रुपैयाँसमेत बाँड्नु उनका लागि सामान्य जस्तै बनेको थियो ।

देवकुमार र व्यवस्थापक दीपक पौडेल मिलेर फर्जी खाता बनाउने र त्यसैबाट कारोबार गर्ने, जुनसुकै बेला मनपरी पैसा निकाल्ने र व्यक्तिगत घरजग्गा र व्यवसायमा प्रयोग गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । साभार: अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्