OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहफागुन १२, २०८०सुर्खेत
३४५ पटक

१२ फागुन २०८०, शनिबार

परम्परागत सिकाई प्रणालीले आजको शिक्षाको आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने भन्दै सुर्खेत वीरेन्द्रनगरस्थित सिद्धपाईला ईङ्लिस सेकेण्डरी स्कुलले शनिबार आफ्नो वार्षिकोत्सवमा शैक्षिक मेला सम्पन्न गरेको छ ।

स्थापनाको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उक्त स्कुलले एक साता लामो ‘क्रियाकलापमा आधारित सिकाई’ (एबीएल)सम्बन्धी शैक्षिक मेलाको सञ्चालन गरेको थियो । स्कुलले परम्परागत सामग्रीहरुको आधुनिक प्रयोग, नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुको सिकाई क्रियाकलापको अभ्यास, खेल्दै रमाउँदै सिक्ने विधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक प्रयोग देखाइएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्मको प्रत्यक्ष स्टलमा बालबालिका, उनीहरुले प्रयोग गर्ने शैक्षिक सामग्री र सम्बन्धित अभिभावहरुलाई राखेर ‘क्रियाकलापमा आधारित सिकाई’को अवलोकन सरोकारवालाहरुलाई गर्न लगाइएको थियो । अवलोकनको क्रममा लोक सेवा आयोग कर्णाली प्रदेशका अध्यक्ष रामप्रसाद उपाध्यायले ‘क्रियाकलापमा आधारित सिकाई’ शैक्षिक सुधारको प्रभावकारी माध्यम भएको बताउनुभयो ।

“यसको अभ्यासले बालबालिका, शिक्षक र अभिभावक सबैलाई उत्प्रेरित गराएको पाईएको छ,” उहाँले भन्नुभयो, “सिद्धपाईलाको थालेको यो अभियानबाट अब सुर्खेतलाई सकेसम्म ‘क्रियाकलापमा आधारित सिकाई’(एबीएल)को केन्द्र बनाउनतर्फ लागौं ।” पूर्व क्षेत्रीय शिक्षा निर्देशकसमेत रहनुभएका उहाँले सर्वोत्कृष्टता हाँसिल गरेर मानव जीवन सफल नहुने जिकिर गर्नुभयो । प्रविधि, सीप र कलाको उच्चतम प्रयोगबाट प्राप्त शिक्षाले योग्य नागरिक उत्पादन हुने अध्यक्ष उपाध्यायको भनाई थियो ।

नीजि तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन) केन्द्रीय कार्य समितिका सल्लाहकार सागर भुसालले वार्षिकोत्सवमा विद्यालयले सफल कार्यको रहस्योद्घाटन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चा कस्तो हुने अपेक्षाको मूल स्रोत हामी अभिभावक नै हो । मानव जीवनमा यो गर्भ संस्कारबाट सुरुआत हुन्छ । यो संस्कृतिलाई हामीले कदापि बिर्सन हुँदैन ।”

शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले क्रियाकलापमा आधारित सिकाईबाट शिक्षा र सिकाई सहजीकरणका क्षेत्रमा एउटा नवीन कार्य भएको प्रतिक्रिया दिनुभयो । “अहिले विद्यालयमा पढाईन्छ तर सिकाईदैन । त्यसैले होला घोकाइन्छ भन्ने आरोप विद्यालय प्रशासनलाई लागिरहन्छ,” प्रमुख देवकोटाले भन्नुभयो, “तसर्थ ठूलो होइन, असल मान्छे बनाउने शिक्षण सिकाईमा जोड दिनुपर्दछ ।”

अभिभावकको प्रतिबिम्ब बालबालिका

क्रियाकलापमा आधारित सिकाईका सहजकर्ता तथा शैक्षिक अभियान्ता अर्जुन भट्टले बालबालिका अभिभावकको प्रतिबिम्ब भएको बताउनुभयो । सिद्धपाईला ईङ्लिस सेकेण्डरी स्कुल सुर्खेतमा एक हप्तासम्म सिकाईको व्यवहारिक र उच्चतम् प्रयोगबारे सहजीकरण गर्नुभएका उहाँले अपेक्षित प्रतिफल प्राप्तिका लागि सत्कर्म मूल कुरा भएको जनाउनुभयो ।

उहाँले नेपाली भूमिका प्रयोग भएको एउटा मात्र विधि भनेकै क्रियाकलापमा आधारित सिकाई भएको दावी गर्दै नवीन सिकाईका लागि सिद्धपाईला स्कुल कर्णालीको पहिलो भएको प्रतिक्रिया दिनुभयो । उहाँले कोठाभित्रको अध्ययन अध्यापन भन्दा खुला वातावरणको सिकाई क्रियाकलाप बढी प्रभावकारी हुने तर्क गर्नुभयो ।

शैक्षिक अभियान्ता भट्टले भन्नुभयो, “विद्यालयबाट सिकेको शिक्षा हाम्रो जीवनमा १५ प्रतिशत मात्र आर्जन हुन्छ भन्ने कुरा अनुसन्धानले प्रमाणित गरेको छ । स्कुल भन्दा घर र वातावारणले बालबालिकाको जीवनमा अँझ बढी प्रभाव पार्छ । तसर्थ, घरलाई स्कुल र स्कुललाई घर बनाऔं अनि शिक्षक अभिभावक र अभिभावक शिक्षक हुन सकौं । तब मात्र हामीले अपेक्षा गरेको परिणाम देख्न पाउँछौं ।”

सिक्ने सिकाउने कुराको तादम्यता मिल्न नसकेका कारण सिकाई उपलब्धि आशातीत हुन नसकेको भन्दै उहाँले क्रियाकलापमा आधारित सिकाई अनुशासित, संस्कारयुक्त र योग्य नागरिक उत्पादनको अचुक औषधि भएको जिकिर गर्नुभयो । कहरले नभई रहरले पढ्ने वातावरणले मात्र स्कुल खेल्दै, रमाउँदै सिक्ने मुनाहरुको उद्यान बन्न सक्ने उहाँको भनाई थियो ।

सिद्धपाईला अंग्रेजी माध्यमिक विद्यालय सुर्खेतका प्राचार्य नैनसिंह खत्रीले क्रियाकलापमा आधारित सिकाई शैक्षिक विकास र प्रभावकारी शिक्षण विधिको मूल आधार भएको बताउनुभयो । यो विधिले शिक्षक आफैलाई उर्जाशील र जिज्ञासु बन्न उत्प्रेरित गरेको बताउँदै प्राचार्य खत्रीले शिक्षकको मुख्य काम विद्यार्थीलाई संस्कार र सत्कर्म दिने हो भन्नुभयो । उहाँका अनुसार उक्त विद्यालयमा एक हजार एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद तिवारीले क्रियाकलापमा आधारित सिकाईले विद्यालयको शिक्षण शैलीमा नै परिवर्तन आएको बताउनुभयो । उहाँका अनुसार यो तालिमबाट विद्यालयमा धेरै कुराको सकरात्मक प्रभाव परेको छ । यद्यपि यसलाई निरन्तर बनाएर लैजान सबैको साझा भूमिका आवश्यक रहेको अध्यक्ष तिवारीको भनाई थियो ।

कार्यक्रममा उक्त विद्यालयबाट कर्णालीमा कानूनतर्फ उत्कृष्टता हासिल गर्ने विद्यार्थी, उत्कृष्ट शिक्षक, अभिभावक र विद्यालकाे शैक्षिक विकासमा महत्वपूर्ण याेगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरिएकाे थियाे । मेलामा क्रियाकलापमा आधारित सिकाई सामग्रीहरु, कर्णालीमा पाइने माैलिक वस्तुहरुकाे प्रदर्शन तथा छात्र छात्राहरुकाे सास्कृतिक नृत्यहरु प्रस्तुत गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्