OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०८०सुर्खेत
१४६ पटक

 

 १८ असार २०८०, सोमबार

असारको दोस्रो सातासम्म कर्णालीमा ४५.०६ प्रतिशत रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाई भएपनि पहाडी तथा भित्री मधेशका जिल्लामा अपेक्षाकृत रोपाईं हुन सकेको छैन ।

हिमाली जिल्लाहरुमा डोल्पामा सबैभन्दा बढी रोपाई भएको छ । छिटो तथा सिचाई कुलोबाट गरिने भएकोले डोल्पामा शतप्रतिशत रोपाई भएको छ । कुल नौ हजार तीन सय हेक्टर खेती योग्य जमीनमा धान रोपाई हुने दुई सय ७६ हेक्टरमा शतप्रतिशत रोपाई भएको कृषि विकास निर्देशनालयका सुर्खेतका निर्देशक एवं अर्थविद् चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म दुई हजार छ सय ५५ (९० प्रतिशत) हेक्टर जमीनमा रोपाईं भएको निर्देशक रोकायले बताउनुभयो । जुम्लामा कुल खेतीयोग्य जमीन ३९ हजार चार सय ८६ हेक्टर रहेको छ । हुम्लाको कुल १२ हजार छ सय ५४ हेक्टर खेती योग्य जमीनमा एक हजार दुई सय ८४ हेक्टरमा रोपाईं हुँदै आएकोमा अहिलेसम्म आठ सय ३४ हेक्टर (६५ प्रतिशत) जमीनमा रोपाईं भएको जनाइएको छ ।

मुगुको कुल १६ हजार १३५ हेक्टर जमीनमा नौ सय हेक्टर जमीनमा रोपाई हुनुपर्नेमा यो असार १५ गतेसम्म चार सय ७९ (५२ प्रतिशत) हेक्टर जमीनमा रोपाई भएको छ । कालीकोटको कुल खेती योग्य ३९ हजार नौ सय २१ हेक्टर जमीन छ । तीन हजार १९ हेक्टर जमीनमा रोपाई हुँदै आएकोमा यो वर्षका असार १७ गतेसम्म एक हजार आठ सय ११ (३६ प्रतिशत) हेक्टर जमीनमा रोपाईं भएको छ ।

त्यसैगरी जाजरकोटको कुल खेतीयोग्य २५ हजार तीन सय ८४ मध्ये धान रोपाई हुने तीन हजार ६५ हेक्टर जमीनमा एक हजार सात सय १६ (५६ प्रतिशत) हेक्टर जमीनमा रोपाईं भएको छ । सल्यानमा कुल खेती योग्य जमीन ७९ हजार ५७ हेक्टर छ । जसमा सात हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा असार १७ गतेसम्म तीन हजार आठ सय ८९ (५५ प्रतिशत) रोपाई भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुमपश्चिमको कुल खेतीयोग्य जमीन २३ हजार १७२ मा धान रोपाई हुने तीन हजार ४८ हेक्टर क्षेत्रफल जमीन छ । त्यसमा हिजोसम्म एक हजार तीन सय ११ (४३ प्रतिशत) हेक्टर जमीनमा रोपाईं भएको छ । सुर्खेतको १५ हजार दुई ४० हेक्टर धान रोपाई हुने जमीनमा पाँच हजार तीन सय ३४ (३५ प्रतिशत) हेक्टर जमीनमा धान रोपाई भएको उहाँले बताउनुभयो । सुर्खेतको कुल खेतीयोग्य जमीन ५५ हजार दुई सय हेक्टर रहेको छ ।

कर्णाली प्रदेशको सबैभन्दा कम रोपाईं दैलेखमा भएको निर्देशनालयले जनाएको छ । दैलेखमा असार १७ गतेसम्म मात्र २५ प्रतिशत रोपाईं भएको छ । कुल खेतीयोग्य ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल भएको दैलेखमा आठ हजार पाँच सय हेक्टर जमीनमा धान खेती हुन्छ । जहाँ आइतबारसम्म दुई हजार एक सय २८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको जनाइएको छ ।

निर्देशक रोकायका अनुसार डोल्पामा थोरै खेतीयोग्य जमीन त्यसमा धान रोपाई हुने क्षेत्रफल नै कमी भएकोले शतप्रतिशत रोपाई भएको तर दैलेखका कतिपय ठाउँमा मूल फुटेपछि मात्र रोपाई हुने भएकोले कम प्रतिशत देखिएको हो । असार मसान्तसम्म संभवतः कर्णालीमा ६० प्रतिशत रोपाईं हुने अनुमान गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस्